दमक/ दमक १ स्थित पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानले विविध कार्यक्रम गर्दै पाँचौं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा मंगलवार प्रतिष्ठान परिषरमा आयोजित एक कार्यक्रममा बक्ताहरुले प्रतिष्पर्धाको युगमा शिक्षालयलाई गुणस्तिरीय बनाउँन जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका प्रमुख रामकुमार थापाले प्रतिष्ठान र शिक्षालयहरु नगरका गहना भएकाले प्रतिष्ठानलाई नगरको तर्फबाट आवश्यक सहयोग गर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश समितिका कोषाध्यक्ष गगन पुरी, नेपाली काँग्रेस जिल्ला उपसभापति शेरवहादुर भट्टराई, सीटीईभीटीका प्रतिनिधी ठाकुरप्रसाद भट्टराई लगायतले प्रतिष्ठानको सफलताको शुभकामना ब्यक्त गर्दै आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा साहित्यकार धनकुटे कान्छा, शिक्षासेवी विदुर खतिवडा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं, जेसिज दमकका महासचिव रामचन्द्र अधिकारी, रेडक्रस दमकका अध्यक्ष प्रकाश बुढाथोकी, सहिद वेपत्ता परिवारका प्रतिनीधि लालसुन्दर राई लगायत राजनीतिक दलका प्रतिनिधीहरु, विद्यालयका अभिभावक र विद्यार्थीहरुको उपश्थिति रहेको थियो ।
पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतको सभापतित्वमा भएको कार्यक्रमको स्वागत मन्तब्य प्रतिष्ठानका उपाध्यक्ष देवीप्रसाद गौतमले गरेका थिए भने कार्यक्रममा सोही विद्यालय र दमकस्थित सप्तश्री एकेडेमीका विद्यार्थीहरुले गीत र नृत्य प्रश्तुत गरेका थिए ।
पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान तत्कालीन नेकपा (माओवादी)द्वारा सन्चालित दसवर्षे जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका झापा दमकका सहोदर दाजुभाइ पुष्पराज बस्नेत र धिरेन्द्र बस्नेतको नाममा स्थापित संस्था हो ।
दमक–१ निवासी पुष्पराज बस्नेत वि.सं. २०६० साल मंसिर १९ गते काठमाण्डौंस्थित कालीमाटीबाट र धिरेन्द्र बस्नेतलाई वि.सं. २०६० साल मंसिर २८ गते कलंकी बजारबाट पक्राउ गरी भैरवनाथ गणबाटै तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएको थियो । उनीहरु दुवै जना स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका माहिला र कान्छा छोरा हुन् । उनकै नामबाट झापाको दमकमा ०७७ सालवाट पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान सञ्चालन हुँदै आएको छ ।