भूपेन्द्रराज तिम्सिना
दमक, २२ पुस। ‘स्वर किन्नरी’को उपमा पाएकी अरुणा लामासँग इलामकी कल्पना बानु राईको गीतसंगीतको बाहेक अन्य कुनै सम्बन्ध छैन । अरुणालाई आदर्श मान्ने कल्पना आफुले गाउने कार्यक्रममा पुग्दा सवभन्दा पहिले अरुणालाई नै सम्झिन्छिन्, नमन् गर्छिन र आफ्नो गीत सुरु गर्छिन् । मिलेसम्मत पहिले अरुणाकै गीत गाएर उनीप्रति अगाध सम्मान दर्शाएपछि मात्रै आफ्नो गीत प्रस्तुत गर्छिन् । सयमै भएन नै भनें पनि गीतको ‘स्थायी’ मात्र गाएर भएपनि अरुणाप्रति जनाउने सम्मानको धोको पुरा गरिछोड्छिन् ।
अहिले नश्वर शरीर त्यागिसकेकी अरुणाको जादुमयी स्वरले नेपाली गीतसंगीत क्षेत्रको उचाई निकै बढाएको विषयले मात्र होइन, उनको स्वर र गायनशैली औधी मन परेकाले कल्पनाले उनलाई आदर्श मान्छिन् । उनको स्वरको बनावट कता कता अरुणाकै जस्तो लाग्छ । कतिपयले त उनको स्वर अरुणाको जस्तो भनेर तारिफ गर्ने पनि गरेका छन् । अरुणाकै जस्तै भावुकता र सादा जीवनशैली छ कल्पनाको पनि । आफ्नो आदर्शपात्र अरुणासँग भेट्ने ठूलो इच्छा रहेको अवस्थामा संयोगले भेट्न पनि पाइन् । ‘सानैदेखि उहाँकै गीत सुनेर गायनमा आकर्षित भएको थिएँ । उहाँको स्वर, गायनकला र सादा जीवनबाट ज्यादै प्रभावित थिएँ । उहाँलाई भेट्न पाउँदा औधि खुसी लाग्यो । उहाँले राम्रो छ तिम्रो, राम्रो गर भनेर आशिर्वाद दिनुभयो ।’– खुसी छचल्काउँदै उनले भनिन् । अरुणाले गाउने ‘उडि जाँउ भनें म पंक्षी होइन’, ‘पोहोर साख खुसी फाट्यो’ जस्ता कालजयी गीत उनले स्टेजमा गाउने र त्यही भावुकतामा आफुलाई पनि हराउने गर्छिन ।
अरुणाले गाएजस्तै खाले भावुक प्रकारका गीत गाउन रुचाउने कल्पना पाँचथरेको साविक लिम्बा, हाल मिक्लाजुङ गाउँपालिका ७ मा जन्मिएर गीतसंगीत क्षेत्रमा लागिपरिन् । कल्पनाको सानै–देखिको गायनको अन्तरनिहीत प्रतिभाले मोरङको उर्लाबारी झरेपछि फक्रिने वातावरण पायो । नाताले उनका दाई स्थापित लोकगायक विशाल राईको छत्रछायाँमा गीत संगीतका कार्यक्रममा सहभागिता अघि बढ्यो । ०५१ सालमा उर्लाबारीबाट एसएलसी दिएपछि उनले आफ्नो रुचिको क्षेत्रका विचरण गर्ने वातावरण वन्दै गयो । उनै विशालको अगुवाईमा ०५३ सालमा उर्लाबारीमा खुलेको विहानी कलाकेन्द्र पूर्वीमोरङ र पश्चिम झापाको गीतसंगीतको पाठशाला बन्यो । जसमा गायन सिक्दै र नवयुवा पुस्तालाई प्रोत्साहित गर्दै कल्पनाले आफ्नो यात्रालाई यस्तरी मजबुत बनाइन् कि ०५५ को रेडियो नेपालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम भइन् । विशालको शब्द संकलनको ‘लोहोरी बारुला’ले उनी सहितको सामूहिक गायनमा रेडियो नेपालको क श्रेणीकी गायिकामा स्थापित गर्यो । ०५६ मा रेयुकाइले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा पुनः उनै विशालको शव्द संगीतको ‘रोक न रोक’ मा पनि प्रथम भएपछि उनको पूर्वमा मात्र होइन राष्ट्रिय रुपमै चर्चा बढ्यो । त्यसबेला त्यति धेरै स्टेज कार्यक्रम हुने नगरेको भएपनि धेरथोर हुने कार्यक्रममा उनको सहभागिता जम्यो । भारतको सिक्किम, दार्जीलिङ, देहरादुन सम्मका कार्यक्रमको निम्तोमा सरिक भइन् । ०६९ मा ७ वटा लोकाधुनिक गीत समेटेर ‘कल्पना’ एल्बम बाहिर ल्याइन् । चर्चित लोकदोहोरी गायिका सिन्धु मल्ल सहितका गायक गायिकासँग गाएको गरी ५० वटाको संख्यामा उनका गीत रेकर्ड भएका छन् । पूर्वका जिल्लाहरुमा उनको प्रतिभालाई विभिन्न संघ संस्थाले सम्मानित गरेर उनको गायकीको उचाईमा साथ दिए । पछिल्लो समय घर व्यवहारमा व्यस्त बन्नु परेको अवस्थाले त्यति बाक्लै कार्यक्रममा सहभागिता जनाउन पाएकी छैनन् । हङकङमा बस्दै आएका लोकगायक गणेश पराजुली र यशोदा पराजुलीको अगुवाईको इलाम समाजको आयोजनामा पछिल्लो पटक हङकङमा ‘इलाम साँझ’को २ स्थानका कार्यक्रममा सहभागी भएर आफ्नो वजनदार प्रतिभामार्फत सवैलाई मुग्ध पारिन् ।
विहानी कलाकेन्द्रमै गीत संगीतका उस्तै अभिलासी सरल मिजासका धर्मेन्द्र राईसँग भेट हुँदैजाँदा उनीहरु ०५९ विवाह वन्धनमा बाँधिए । त्यसपछि उनको बसाई इलामको माङ्सेबुङ ६ चिसोपानी पञ्चमीमा छ । खेती किसानीमा समय दिनु परेको छ । त्यहाँ बसेर पनि गीतसंगीतमा कोशिष भएपनि व्यवसायिक हिसावले लाग्न भनें सहजता छैन । बुबाआमा दुवै संगीत क्षेत्रको भएपछि छोरा निहाङ पनि गाउने र वाद्यवादन बजाउने गर्छन् । १७ वर्षका उनी वीएससी पढ्दैछन् । कल्पनाको गायनले उकालो उक्लिएको समयमा गायन त्यति व्यवसायिक थिएन । अर्थात गाएरै घर व्यवहार धान्नसक्ने अवस्था त्यो बेला थिएन । रहरले मात्र जीवन नचल्ने भएपछि खेतीपाती र घर व्यवहार गर्न पहाडै उक्लिनु परेको परिस्थिती उनले सुनाइन् । ‘अव छोराको पढाई सकेर घर व्यवहारको मेसो मिलाउँदै गीतसंगीत क्षेत्रमै समर्पित भएर लागिरहने धोको पुरा गर्नुछ ।’– उनले भावुक शैलीमा भनिन् ‘गीतसंगीतले नै जीवनमा बढी आनन्द दिन्छ । यसैसँग बाँँच्न र यसैसँग मर्न मन छ ।’