दमक/ झापाको दमक नगरपालिकामा निस्सा वितरण शुरु भएको ७ महिनापछि भूमिहीन सुकुम्बासी, दलित भूमिहीन र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको स्वामित्व दिँदै धनीपुर्जा वितरण गर्न थालिएको छ । नगरपालिकाको विशेष सक्रियतामा बिहीबारदेखि जग्गाको धनीपुर्जा वितरण गर्न थालिएको हो । बिहीबार दमक–१० को वडा कार्यालयमा नगरपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमका बीच २७ जना भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाको धनी पूर्जा वितरण गरियो । धनीपुर्जा प्राप्त गर्नेहरुमा सो वडामा पर्ने मावा खोलाको पश्चिमपटि पर्ने नलबारीका २७ घरपरिवार रहेका छन् । उनीहरुले त्यहाँ २०२८ सालदेखि बसोबास गरी जग्गा जोतभोग गर्दै आएको र सोही समयदेखि जग्गाको लालपुर्जाका पाउने आशामा बसेपनि यस्तो पुर्जा पाएका थिएनन् ।
सो वडाका ती भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई सो कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशब निरौला, कार्यक्रमको अध्यक्षता गरेका दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, विशेष अतिथि राष्ट्रिय भूमि आयोगका झापा जिल्ला अध्यक्ष तिलकसिं पाण्डे र दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले रुद्राक्षको माला र अविर टिका लगाउँदै जग्गाको धनीपुर्जा प्रदान गरे । दमक–१० का ५ सय ५० जनालाई गत साउनमा जग्गाको निस्सा प्रदान गरिएकोमा अहिले भूमि आयोग जिल्ला कार्यालयबाट ३५ जनाको धनीपुर्जा पास भएको तर ८ जनाले राजस्व बुझाउन बाँकी रहेकाले २७ जनालाई मात्र पुर्जा वितरण गरिएको दमक नगरपालिकाका सामाजिक विकास अधिकृत डम्बरराज बरालले जानकारी गराए । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलाले आफ्नो शुभकामना राख्दै दमकका नगर प्रमुख थापा र उप–प्रमुख भट्टराईले जिल्लामा आयोग गठन भएदेखिनै विशेष चासो र सक्रियताका देखाएको र सोको परिणाम स्वरुप चाँडै धनीपुर्जा वितरणको कार्य शुरु गर्न सफल भएको बताए । उनले त्यसका लागि दमक नगरपालिकाको नेतृत्व र कर्मचारी वर्गलाई धन्यवाद साथै धनीपुर्जा प्राप्त गर्ने वडाबासीलाई बधाई समेत दिए ।
अध्यक्ष निरौलाले देशभरिको स्थिति हेर्दा झापामा भूमि आयोगको काम रफ्तारमा अघि बढेको र यतिका काम भएकोमा आफूलाई समेत खुशी लागेको बताए । भूमि आयोग झापाका अध्यक्ष पाण्डेले संघीय सरकार र स्थानीय तहको समन्वय र सहकार्यबाट जिल्लामा धनीपुर्जा वितरणको कार्य भइरहेपनि यसअघि भएका निर्वाचन र त्यसक्रममा लागेको आचारसंहिता तथा वर्षाको समयका कारण अपेक्षाकृत रुपमा काम गर्न ढिलाइ भएको समेत बताए । उनले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई पहिलो चरणमा निस्सा वितरण गर्दा उनीहरुले धनीपुर्जा पाउँछन् भनेर कमैले पत्याएको तर अहिले आएर सो कार्य विश्वासमा परिणत भएको विचार व्यक्त गरे । देशमा भएको सरकार परिवर्तनका कारण भूमि आयोगका पदाधिकारी र सदस्यहरुको कार्यावधि कहिलेसम्म हुन्छ भनेर यकिन नभएकाले अहिले धरमरको अवस्था भएको बताउँदै उनले ३ वर्षको पूरा समय काम गर्न पाएर आफूहरुले हजारौं भूमिहीनहरुलाई भूमिपति बनाउन सक्ने अवस्था रहेको जानकारी गराए ।
दमक नगर प्रमुख थापाले दमकको वडा नम्वर ३ बाहेक सबै वडाका करिव ८ हजार भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गरिसकिएको र आगामी हप्ताभित्रै सो वडामा पनि निस्सा वितरण गरिने बताए । उनले आपूmहरुले स्थानीय तहको निर्वाचन जितेर जिल्ला अदालत झापामा शपथ ग्रहण गरेकै दिन भूमि आयोग झापामा गएर भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको धनीपुर्जा दिलाउन कुराकानी गरी त्यसको साता दिनमा नगरपालिकामा सम्पर्क कार्यालय खोली काम थालेकोमा अहिले सफलता प्राप्त हुन थालेकोमा अत्यन्तै खुशी लागेको बताए । नगर प्रमुख थापा र उप–प्रमुख भट्टराईले आफ्नो मन्तव्यमा आफूहरुले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्न सफल हुँदै गएको र यसबाट आफूहरुलाई जनताको थप विश्वास आर्जन हुँदै जाने धारणा राखे । उनीहरुले धनीपुर्जा वितरणको कार्यलाई आगामी दिनमा पनि सकेसम्म छिटो पाउने गरी द्रुत गतिमा काम गर्ने र त्यसका लागि आवश्यक पर्ने अमिन तथा प्राविधिक कर्मचारीको पनि व्यवस्थापन गर्दै जाने योजना सुनाए । कार्यक्रममा भूमि आयोग झापाका सदस्य तारा प्रसाद उपाध्याय र राजनीतिक दलहरुका तर्फबाट नेपाली काँग्रेसका शेरबहादुर भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य दमक–१० का वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारीले राखेको कार्यक्रमको संचालन दमक नगरपालिकाका सामाजिक विकास अधिकृत डम्बरराज बरालले गरेका थिए ।
लालपुर्जा पाउँदा असीमित खुशी
जग्गाको धनीपुर्जा पाउँदा आफूहरुको खुशीको सिमानै नरहेको भूमिहीनबाट भूमिपति भएकाहले बताएका छन् । दमक–१० को मावा खोला पश्चिमको नलबारीमा आफूहरु लामोसमयदेखि बसेपनि जग्गाको पुर्जा नपाउँदा निराश थियौं, तर अहिले आएर पुर्जा पाएकोमा असीमिति खुशी भएको ६५ वर्षीय कालिनन्द दासले बताए । उनका बुवा २००९ सालदेखि नलबारीमा बसेको तर जोतभोग गरेको १० धुर जग्गाको धनीपुर्जा नपाएकोमा अहिले आएर आफूहरुले पुर्जा पाएकोमा नगरपालिका र भूमि आयोगप्रति विशेष आभार प्रकट गरे । त्यस्तै ६ वर्षदेखि सोही ठाउँमा बसोबास गर्दै आएकी मनकुमारी लिम्बू नेम्वाङले २ कठ्ठा ७ धुर, उदय लिम्बूले २ कठ्ठा र अव्यवस्थित बसोबासी अर्जुन लिम्बूले १ विगाह साढे ३ कठ्ठा जग्गाको धनीपुर्जा पाएका छन् । उनीहरुले अब भने आफूहरुलाई ढुक्कले निन्द्रा लाग्ने बताए । ‘धनीपुर्जा पाउँदा आफूहरुमा हर्षको सीमानै छैन, यसका लागि नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरु साथै भूमि आयोगलाई विशेष धन्यवाद दिन्छु ।’ धनीपुर्जा ग्रहण गरेपछि अर्जुन लिम्बूले पूर्वसन्देशसंग भने ।