अर्थ मुख्य

चाडपर्व नजिकिएसंगै सुरक्षा सतर्कताको चासो

दमक, १६ असोज-
नेपालीहरुको महान चाड वडादशैं र तिहार नजिकिँदै जाँदा शहर बजार र गाउँ बस्तीमा हुने आपराधिक घटनाहरुलाई न्यूनीकरण गर्न आवश्यक सुरक्षा सक्रियता बढाउने कुरामा सरोकारवालाहरुले चासो देखाएका छन् । झापाको दमकमा सोमबार दमक उद्योग वाणिज्य संघले आयोजना गरेको चाड पर्व लक्षित सुरक्षा योजना बारेको छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो चासो देखाएका हुन् । कार्यक्रममा दमक नगरपालिकाका उप-प्रमुख रेगिना भट्टराई प्रसाईले चाडपर्वमा हुने आपराधिक क्रियाकलाप कम गर्न सडकमा सिसी क्यामेरा राख्ने, सडक बत्तीको व्यवस्थापन गर्ने, रात्रीकालिन गस्ती गर्ने, शान्ति सुरक्षालाई चुस्त दुरुस्त पार्ने, उपभोक्ताहरु ठगिने कार्य हटाउन बजार अनुगमन गर्ने, होटल व्यवसायलाई व्यवस्थित गर्ने, खाद्यवस्तु लगायतमा हुने मिसावट हटाउन पहल गर्ने, कालोबजारी नियन्त्रण गर्ने लगायतका कामहरु भइरहेको जानकारी गराइन् ।

उप-प्रमुख भट्टराईले दैनिक उपभोग्य सामग्रीहरुको कृत्रिम अभाव सिर्जना गर्ने कार्य हटाउन सम्बन्धितलाई दण्ड जरिवाना गर्ने कार्यमा पनि पछि नहटने प्रष्ट पारिन् । उनले सभ्य, समृद्ध र रुपान्तरित दमक बनाउन टोल विकास संस्थाहरुलाई परिचालन गरी सचेतनाका कार्यक्रमहरु पनि संचालन गर्ने बताइन् । तर यी कार्यहरु चाडपर्वमा मात्र नभइ अन्य समयमा पनि गर्नुपने आवश्यकता छलफलमा सहभागी सरोकारवालाहरुले औंल्याए । इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेशराज तिम्सिनाले अपराध न्यूनीकरणका लागि वार्षिक कार्यतालिका बनाएर काम गरे त्यसको प्रभावकारिता बढी हुने बताए । लागुऔषध दुव्र्यसनविरुद्ध विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गरे अपराध न्यून गर्न मद्दत मिल्ने धारणा राखे । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोज कुमार लामाले नागरिकहरु पनि विना बर्दीका प्रहरी भएकाले समाजमा हुने अवाञ्छित क्रियाकलाप रोक्न उनीहरुको सहयोग अपरिहार्य भएको बताए । डिएसपी लामाले सर्वसाधारणलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन आफूहरुले सीमित स्रोत साधन र जनशक्तिको परिचालन गरी काम गरिरहेको प्रष्ट पारे । उनले चाड पर्वमा हुने चोरी, लुटपाट र डकैती साथै दुव्र्यसनको समस्या हटाउन आफूहरुले सबै सरोकारवालाहरुको सहयोगमा काम गरिरहेको पनि बताए । बजार क्षेत्रमा माग्ने मानिसहरुको विगविगी बढेकाले त्यसलाई हटाउन व्यापारी व्यवसायीहरुले असयोगको नीति अपनाउनु पर्ने कतिपय सहभागीहरुको भनाई थियो ।

कार्यक्रममा दमक नगरपालिका वडा नं. १ का वडाध्यक्ष हरि प्रसाद न्यौपाने, ७ का भिम प्रसाद पौडेल र ८ का धर्मप्रसाद (दिपेश) दाहालले आपराधिक गतिविधि बढ्न नदिन आफूहरुले के कस्तो सहयोग गर्नुपर्छ, कस्तो सहकार्य गर्नुपर्छ त्यसका लागि तयार रहेको बताएका थिए । होटल व्यवसायी संघ दमकका महासचिव भूपेन्द्र न्यौपानेले होटल व्यवसायलाई सुव्यवस्थित र प्रभावकारी बनाउन सुरक्षा निकायले पनि लचिलो हुनुपर्ने बताए । दमक उवासंघका अध्यक्ष गोपाल गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा दमक उवासंघका प्रथम उपाध्यक्ष राजकुमार योङ्या, व्यवसायी ज्ञाननाथ पौडेल (ज्ञानु), दमक उवासंघका लेखा संयोजक नेत्र प्रसाद चम्लागाई, तरकारी तथा फलफूल व्यवसायी संघका तर्फबाट रविन्द्र दाहाल, संचारकर्मीहरु विष्ण सुब्बा, विष्ण पौडेल लगायतले आफ्ना सुझाव सहितका भनाइहरु राखेका थिए भने स्वागत मन्तव्य दमक उवासंघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले राखेका थिए ।

Author

You may also like