देश–समाज मुख्य समाचार स्थानीय

दमक बालमैत्री नगर घोषणाको तयारीमा

दमक/ दमक नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार प्रदेश सरकार अन्तरगतको मुख्यमन्त्री कार्यालयका अधिकृतसहितको टोलीले दमक नगरपालिकाको स्थानीय शासन अभियान अन्तरगतका मापदण्डहरुको सूची अध्यायन र अनुगमन गरेसँगै अब दमक नगरपालिका बालमैत्री बन्न योग्य रहेको निष्कर्ष निकालेको हो ।
टोलीले दमक नगरपालिकाका सरोकारवाला विज्ञ र कर्मचारी तथा जनप्रतिनिधिहसँग छलफल गरेको छ । छलफलपछि दमक नगरपालिका प्रमुख रामकुमार थापाले अब नगरलाई चाँडै बालमैत्री नगर घोषणा गर्ने योजना रहेको बताए । उनले भने– ‘हामी घोषणाको तयारीमा जुटेका छौं, प्रदेशले गर्ने अनुगमन सकिएसँगै घोषणाको मिति तय हुनेछ ।’
बालमैत्री घोषणमा ५१ सुचक पूरा गर्नुपर्ने हुन्छ, यो सबै मापदण्ड दमक नगरपालिकाले पूरा गरिसकेको प्रमुख थापाले बताएका छन् ।
दमक नगरपालिकाभित्रका १० वटै वडाहरुको यसअघि नै जिल्ला विकास समितिले मापदण्ड र सूचकको मापन गरी बालमैत्री वडा घोषणा गर्न योग्य ठहराईसकेको छ ।
यसअघि झापाको भद्रपुर नगरपालिका कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका घोषित भइसकेको छ भने कनकाई नगरपालिका प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको थियो । कोशी प्रदेशमा झापाको दमक नगरपालिका लगायत मोरङ, सुनसरी र पहाडी जिल्लाका नगरपालिकाले विभिन्न वडालाई क्रमिक रूपमा बालमैत्री घोषणा गर्दै सिंगो नगर घोषणा गर्ने लक्ष्य राखेका छन् ।

Author

You may also like