मुख्य

कोशीको दुर्घटनामा मासिक ३३ जनाको मृत्यु

दमक, २१ चैत। कोशी प्रदेशमा सडक दुर्घटनामा परी मासिक ३३ जनाको हाराहारीमा मृत्यु हुने गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले कोशी प्रदेशमा सडक दुर्घटनामा परेर दैनिक एक जनाभन्दा बढिको ज्यान गइरहेको देखाएको छ । चालू आर्थिक वर्ष २०८०÷८१ को फागुन मसान्तसम्म आठ महिनाको तथ्यांकअनुसार पुरुष २०६, महिला ४० र बालबालिका १६ सहित दुई सय ६२ जनाको ज्यान गइसकेको छ । यो तथ्यांकलाई विश्लेषण गर्दा सरदर मासिक ३३ जना अर्थात दिनमा एक जना भन्दा बढीको मृत्यु भएको देखिएको छ ।

चालू आवको फागुनसम्ममा जम्मा दुई हजार एक सय ४२ वटा अर्थात दैनिक सरदर नौ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । ती दुर्घटनामा पाँच सय ५८ जना सख्त घाइते र तीन हजार ३५ जना साधारण घाइते भएका थिए । अघिल्ला आवहरुको अवस्था पनि उस्तै छ । अघिल्लो आव २०७९÷८० मा प्रदेशभर तीन हजार पाँच सय १० वटा अर्थात दैनिक १० वटाको हाराहारीमा दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर एक सय १९ पुरुष, ६८ महिला र २५ बालबालिका गरी जम्मा चार सय १४ जनाले ज्यान गुमाएका थिए भने सख्त घाइते आठ सय १० र साधारण घाइते हुनेको संख्या चार हजार सात सय ९७ थियो ।

सडकमा यातायातका साधन दुर्घटनाका विविध कारणमध्ये प्रमुख कारण मानवीय लापरबाही नै रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अध्ययन अनुसार कोशी प्रदेशमा भएका दुर्घटनामध्ये ५३ प्रतिशत तीव्र गतिका कारण भएको देखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले जनाए । चालकको लापरबाहीले १६ प्रतिशत, सडक प्रयोगकर्ताको असावधानीले १२ प्रतिशत, मादकपदार्थ सेवनका कारण १० प्रतिशत, लाइसेन्स बिनाका चालकले चलाएका सात प्रतिशत रहेको पाइएको उनले उल्लेख गरे ।

पौडेलले पहाडी क्षेत्रमा लगातार भइरहेका दुर्घटनाको अध्ययन गर्दा गाउँपालिकाहरुले जथाभावी सडक खन्ने प्रवृत्ति पनि जिम्मेवार देखिएको बताए ।

You may also like