सम्पादकीय

तरकारीमा आत्मरिर्भरताको खाँचो

नेपाल प्याजमा पूर्णरुपमा भारतीय उत्पादनमा निर्भर छ । प्याज व्यवसायीहरूका अनुसार कृषि प्रधान देश नेपालमा वार्षिक रुपमा खपत हुने प्याजको ९५ प्रतिशतभन्दा धेरै भारतबाट आउँछ ।

नेपालमा प्याजको उत्पादन नगन्य रुपमा भइरहेकाले अरु देशबाट नआई यसले बजार धान्न सक्ने कुरै भएन । दैनिक उपभोग्य तरकारी र मसलामा पनि आत्मनिर्भर हुन नसक्दा छिमेकी मुलुक भारतको भर पर्नु परेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयबाट यस अघिदेखि नै बढेको प्याजको मूल्य अझै घट्न सकेको छैन ।

पूर्वको मेची भन्सार नाका भएर झापाको दमक भित्र्याइएको प्याज दैनिक १४ हजार केजी खपत हुने गरेको छ । मेची भन्सार भएर दमकमा मात्रै हप्तामा सय टन बढी प्याज आउने गरेको छ । दमक आइपुगेको प्याज झापाका पश्चिमी बजारहरु दमकसहित गौरादह, गौरीगञ्ज, हुँदै मोरङको उर्लाबारीमा बिक्री हुने गरेको उनले बताए । उनका अनुसार दमकमा अहिले ३७ रुपैयाँ ३५ पैसा प्रतिकेजी होलसेल मूल्यमा र ५५ रुपैयाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ ।

अहिलेपनि उपभोक्तालाई आलु र प्याजमा राजश्व तिर्नुपर्छ अर्थात कर लाग्छ भन्नेकुरा खास थाहा छैन । तर त्यसरी महंगो रुपमा लाग्ने करको भार उपभोक्तामा परेको छ । अर्थात आलु र प्याजको मूल्य त्यसले बढाएको छ । अर्कातर्फ, कोरोना कालपछि भएको बैंकिङ तरलताले ४० प्रतिशत व्यापार घटेको अवस्थाले यसका व्यापारीलाई पनि आफ्नै चिन्ता छ ।

भारतको एकाधिकार र नेपाल सरकारको फितलोपनाले नेपाली बजारमा प्याज र मसला तथा तरकारीजन्य बस्तुको मूल्य वृद्धि भएकाले उपभोक्ता मारमा परेको व्यापारीको विश्लेषण छ । सरकारको पछिल्लो कदमबाट नेपालमा प्याज मूल्य कम्तीमा पनि ४० प्रतिशतले नै बढेको उनीहरुको टिप्पणी छ ।

मेची भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९÷८० मा भारतबाट ६ अर्ब ८६ करोड रुपैयाँको प्याज आयात भएको थियो । भारतबाट ताजा, सुकाइएको र बिउ गरी तीन प्रकारमा प्याज आयात हुने गरेको तथ्यांक छ । जसमा ताजा प्याजका रुपमा ६ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, सुकेको प्याज ११ करोड रुपैयाँको आयात भएको छ भने २३ लाख रुपैयाँ बराबरको बीउ आयात भएको मेची भन्सार कार्यालयका प्रमुख अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । नेपालको माग धान्न भारतबाट वार्षिक २० करोड किलोग्राम आसपास प्याज आयात हुने गरेको छ । नेपाल र भारतबीच १८ किलोमिटरभन्दा लामो खुला सिमाना छ । सोहीकारण, भारतीय बजारबाट खुला सिमानाको दुरुपयोग गर्दै लुकिछिपी पनि नेपालमा प्याज तथा तरकारी भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ ।

कृषि प्रधान देशमा दैनिक उपभोग्य वस्तुमा पर्ने खाद्यान्न, तरकारी जस्ता बस्तुमा आत्मनिर्भरतातर्फ कहिले लाग्ने ? सरकारले कर सहितका कुरामा सहजता प्रदान गर्दै कृषि क्षेत्रमा प्रोत्साहनका कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउनु आवश्यक छ । नत्र दैनिक महंगोमा परनिर्भर भएर आलु, प्याज सहितका सामग्री खरिद गरेर रकम बाहिरिने क्रम बढेको बढ्यै गर्ने अवस्था छ ।

You may also like