कुनै पनि कुरा केवल मनमा कल्पेर त्यसले मुर्तरुप लिदैन । सपना मात्र देखेर उद्धेश्यको समाधान हुदैन । तर एउटा निशर्त अभिमत यो छ कि – ‘सपना देख्नेले नै एकदिन सफलताको सिँढी चढ्छ ।’ अनि अर्को पनि कथन छ – ‘एकपटक पनि सपना नदेख्ने व्यक्तिले सफलताको पगरी गुत्थैन रे ।’

दृढ तपस्या, अटल विश्वास, सुझबुझ सहितको अध्ययन, समय र अनुभवको चेत, अनेक असफलताबाट पनि नआतिने धैर्यता, अवसर र शिक्षाको निरन्तर खोज यस्ता बँुदाहरु हुन् जस्ले व्यक्तिलाई हमेशा सफलता उन्मुख धकेली दिन्छन् । संसारलाई एउटा सानो मोबाइलको डिभाइसमा कैद भएको यो समयमा हजारौं यस्ता क्षेत्रहरु छन्, जहाँ मानिसले आफ्नो उद्धेश्यको पाइला चाल्न सक्छ । असंख्य यस्ता विषय र क्षेत्र छन्, जहाँ मानिसले आफ्नो लक्ष्य चुन्न सक्छ । एउटा मोबाइल पसलमा काम गर्ने सानो केटो पछि त्यही मोबाइल स्टोरको मालिक बनेको कथा, एउटी सोपिङ म्याटकी टिन एजर युवती अर्को म्याट खोलेर सफल व्यवसायी बनेको कुरा, एउटा गाडी मर्मत गर्ने युवाले पछि गाडी शोरुम नै खोलेको प्रेरणादायी उदाहरणहरु हाम्रै समाजमा भेटिन्छन् । कुनै कार्यालय सहयोगीका छोरा प्रमुख जिल्ला अधिकारी हुनु, कुनै दलित आदिवासीकी छोरी अतिरिक्त सहायक महानिरीक्षक बन्नु भनेको कडा मिहिनेतले गर्दा नै सम्भब भएको हो ।

सफल बन्ने कुनै औषधी हुँदैन । न कुनै शुत्र या फर्मुला हुन्छ । तर मानिसमा लगन र व्यवहारिक अनुभव छ र साथसाथ अध्ययन पनि भयो भने हार गायब हुने कुरामा शंका छैन । गरिबिको दलदलबाट उठ्दै जब व्यक्ति केही गर्न महत्वकांक्षामा कोइला जस्तो तातिन्छ, तब जित या सफलताले उस्को कदममा नझुकी धरै पाँउदैन । एकपल्ट शाखा अधिकृत फेल भएकी युवतीले सात ठाउँमा नाम निकाल्नु, गाउँको केटा शहरको विश्व विद्यालयमा गोल्ड मेडलिस्ट हुनु चानचुने कुरा पक्कै होइन । रोइलो गरेर मात्र हुँदैन । मानिसमा खाँचो छ ताकतको, अठोटको, धैर्यको, तपस्याको । तब सफल कसरी बन्ने भनेर खोतल्नै पर्दैन । प्रकृतीले श्रृंगारेको हाम्रो प्यारो देश सस्तो भइसकेको पक्कै छैन ।

माटोलाइ माया नगर्ने जमात बढ्दै जानू, युवा खाडी, युरोप, अमेरिका, कोरिया जान तम्सनु । सोचौं त यो कस्तो बिडम्बना ? प्लस टु गर्ने बितिक्कै छोराछोरी घर छोड्ने भए भनेर हरेक बा आमाले आत्तिनु पर्ने जमाना पनि आयो कठै ? अनौठो लाग्छ, मलाइ हामी कता जादैछौ ? हामीले छोराछोरीलाई पढाउँदा विदेश पठाउने परिकल्पना गरेका थियौ र ? के पैसा मात्र सर्वस्व हो ? के देशमा गर्न लायक कुनै काम नै छैन र ? हामी किन ससानो खुशीमा रमाउन छोडी सक्यौ ? देखासिकिको नक्कलले हामी कहाँ पुग्दैछौ ?

एउटा कुरा हामी देशका बारेमा भ्रम छर्न छोडांै । यहाँ केही हुदैन, अवसर नै छैन भन्ने कुरामा अडिग नहोऔं । यहीँ एउटा पारीबाट आएको मान्छेले थोत्रे फलाम, थोत्रे किताब किनेर दिनमा हजार कमाउँछ । हामी घरबारी बाँझो पारेर विदेश उड्छौं । गाउँघरमा ससानो काम गर्न लजाउछौं । बाहिर अरु देशमा पुग्ने बितिक्कै सुन फल्ने त होइन । राम्रो बुझ्यौं भने त्यहाँ पनि त्यो देशको बेरोजगारी समस्या छ । अत हामी आमा, बुबा, माटो र आफूलाइ चिनौं । सफलताका सुत्रहरु फेला पर्दै जान्छन् । धैर्य गरौं । गाउँमै आफ्नो सीप र लगनलाई सदुपयोग गरौं । अहिले यति । जय माटो, जय हाम्रो देश ।

दमक बजार ,झापा ,नेपाल ।

Author

You may also like