४ जेठ, दमक । विद्यालयमा दिवा खाजाको निर्देशन पालना गर्न सरकारले भनेपनि दिइएको मेनुअनुसारको खाजा खुवाउन संभव नहुने देखिएको छ । विगत ४/५ वर्षदेखि देशभरका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरिँदै आएको छ । तर प्रति विद्यार्थी १५ रुपैयाँ मात्र बजेट निकासा भइ आउने गरेकाले सो रकममा अहिलेको अवस्थामा सरकारले जारी गरेको मेनुअनुसारको खाजा खुवाउन नसकिने सरोकारवालाहरुले बताएका छन् । यस्तो अवस्थामा रैथाने पौष्टिक आहरासहितको खाजाको मेनु काम नलाग्ने देखिएको छ । तर जंक फूडको सट्टामा प्राकृतिक खाजा खुवाउने कार्य भने संभव भएसम्म भइरहेको दावी कतिपय विद्यालयहरुले गरेका छन् ।
यस्तो छ सरकारको मेनु : सरकारले देशभरि जारी गरेको मेनुमा ६ प्रकारको आइटम दिइएको छ । जसमा कोदो/फापरको रोटी, उसिनेको अण्डा, पनिर चिउरा, मकैको खीर, क्वाँटी, गेडागुडी प्रयोग गरिएको सातु, दही चिउरा, गहुँको पिठोको पुरी, भक्का, उसिनेको मकै, आलु, जरा तथा कन्दमूल सखरखण्ड, पानी रोटी, भुटेको भात र तरकारी रहेका छन् । यी प्रकारका प्रायः सबैजसो खाजाका साथमा सिजनअनुसारको फलफूल पनि खुवाउनुपर्ने भनेर विद्यायय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिकामा भनिएको छ । यि र यस्ता रैथाने परिकारका खाजा खाँदा विद्यार्थी बालबालिकाहरुको स्वास्थ्यमा आवश्यक पौष्टिक पदार्थको आवश्यकता परिपूर्ति हुने खाद्य विशेषज्ञहरुको भनाइ रहेको छ ।
तर न्यून चेतना र आधुनिकताको नाममा विद्यालयहरुमा मात्र होइन, अन्यत्र पनि चाउमिन, मःमः, चाउचाउ, चटपटे, मैदाबाट बनेका अधिकांश खाजाको परिकारहरु विद्यार्थी बालबालिकाहरुलाई खुवाउने गरिएको पनि पाइन्छ । विद्यालयमा मात्र होइन, घरमा अभिभावकहरुले पनि आधुनिकताको नाममा मात्र होइन, बनाउन र खान सजिलो भन्दै जंक फूडहरुनै आफ्ना छोरा छोरीहरुलाई खुवाउने गरेको विद्यमान अवस्था छ । बजारमा बनेका परिकारहरुमा रसायनको प्रयोग तथा अखाद्य वस्तुहरुको मिसावट भेटाइएको हुँदा त्यसबाट स्वास्थ्यमा प्रतिकूल र दुरगामी असर पर्ने भएकाले सरकारले विद्यालयहरुका लागि नयाँ मेनु बनाएको हो । यो नयाँ मेनुका बारेमा अहिले देशभरिनै सकारात्मक प्रतिकृयाका साथै चर्चा परिचर्चाहरु भइरहेका छन् ।
१५ रुपैयाँले कस्तो खाजा ? : सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीको संख्याका आधारमा प्रति विद्यार्थी १५ रुपैयाँ दिने गर्दछ, दिवा खाजाका लागि । तर यो रकम अत्यन्त न्यून र अपुग भएको विद्यालयहरुको गुनासो छ । ‘ दिवा खाजाको रकमलाई कम्तीमा पनि प्रति विद्यार्थी ५० रुपैयाँ पु¥याउनु पर्छ । अनि यो कार्यक्रम निरन्तर गर्ने हो भने कुकको व्यवस्था गर्नुपर्छ । यसो भएमा मात्र अहिले भनिएको मेनुअनुसारको खाजा खुवाउन सहज होला । नत्र गाहो छ ।’ झापाको दमक–९ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक सिताराम ढकालले भने – भारतमा विद्यालयहरुमा कुकको पनि व्यवस्था गरिदिएको छ । हामीकहाँ पनि यो व्यवस्था गर्न सकिएला । हामीले हाम्रो विद्यालयमा तैपनि जंक फूड भने दिने गरेका छैनौं । क्यान्टिनमा भनेर सकेसम्म दही चिउरा लगायतका खाजानै खुवाइरहेका छौं । तर बजेट कम हुँदा पनि यसको व्यवस्थापनमा समस्या भइरहेको छ ।’
संस्थागत भनिएका निजी विद्यालयमा भने अभिभावकहरुले पनि चाउचाउ, चाउमिन, मःमः लगायतका मैदाजन्य खाजाहरु बनाएर ल्याउने गरेको हुँदा त्यसलाई रोक्न उनीहरुमा पनि सचेतना जगाउन आवश्यक देखिन्छ । ‘हामीले विद्यालयको क्यान्टिनमा त सरकारले भनेको मेनुमा दिवा खाजाको व्यवस्थापन गर्न नसकिने होइन, तर यसका लागि नगरपालिकाले पनि छलफल र विद्यालयहरुसँग बैठक गर्न जरुरी छ । त्यसो भएमा मात्र सबैतिर सरकारको अभियान सफल पार्न मद्दत मिल्छ ।’, दमक–६ स्थित ग्लोबल एजुेकेशनल एकेडेमीका प्रिन्सिपल गुणराज अधिकारीले भने –तर अहिलेसम्म नगरपालिकाले सरकारी मेनु लागु गर्नेबारेमा हामीलाई निर्देशन र समन्वय गरेको छैन । ग¥यो भने सकारात्मक कुरा हो, आवश्यक व्यवस्थापन गर्न सकिन्छ ।’ तोकिएको कक्षा बाहेकका सामुदायिक विद्यालयका विद्यार्थी र निजी विद्यालयका विद्यार्थीहरुले भने आफ्नै खर्चमा दिवा खाजा खाने गरेका छन् ।
दमक न.पा. को चासो : दिवा खाजाका बारेमा दमक नगरपालिकाले पनि चासो राखेको छ । केन्द्र सरकारबाट आएको मेनुलाई सामुदायिक र संस्थागत दुवै विद्यालयमा पठाइसकिएको छ । तर यो मेनु लागु गर्नैपर्छ भनेर निर्देशन भने दिएको छैन । ‘तर हामी अब सामुदायिक र संस्थागत निजी दुवै खालका विद्यालयहरुमा दिवा खाजाको मेनु लागु गर्न छलफल र बैठक राख्छौं । त्यसबाट निस्किने निष्कर्षका आधारमा प्राप्त राय सुझावलाई समेटेर विद्यालयमा सकेसम्म जंक फूडको प्रयोग र उपभोग हटाउने प्रयत्न गर्नेछौं ।’ दमक नगरपालिका बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण शाखा प्रमुख तथा खाद्य अधिकृत लक्ष्मी न्यौपानेले भनिन् – स्वास्थ्यको सवाल भएकाले सबैले साथ दिनुनै हुनेछ भन्ने विश्वास छ । अभिभावकहरुमा पनि जनचेतना जगाइने छ । अर्काे कुरा, केन्द्रबाटै खाजाको रकम तोकिएकाले सामुदायिकमा पैसा बढाउन भने माथिबाटनै आवश्यक व्यवस्था हुनुपर्छ ।’