दमक/ कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ २००६ सालमा कांग्रेस परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव बनेका थिए । त्यसअघि भारतको बनारसमा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय सचिव थिए । तर उनले त्यसपछि कम्युनिष्टप्रतिको धर्म छोडेनन जीवनभर कम्युनिष्ट नै भए पनि एकिकृत कम्युनिष्ट पार्टीको मूल नेता हुने अवसरबाट भने बञ्चित रहे ।
नेकपाको पहिलो दोस्रो र तेस्रो महाधिवेशनले क्रमशः मनमोहन अधिकारी, डा. केशरजंग रायमाझी र तुलसीलाल अमात्यलाई महासचिव बनायो । त्यसपछि उक्त पार्टी टुक्रा टुक्रामा परिणत भयो । घटकै पिच्छे अध्यक्ष र महासचिव हुनेहरुको ताँती लाग्यो । नेकपा निर्माणमा महत्वपूर्ण भूमिका र उल्लेखनीय योगदान गरेका, उच्च तहको साङ्गठनिक नेतृत्व तथा राजकीय पदको अवसर पाएका कतिपय नेताहरुले विचार, सिद्धान्त र निष्ठानै परित्याग समेत गरेका थिए । दोसो महाधिवेशनका महासचिव डा. केशरजङ्ग रायमाझीले भने कम्युनिष्ट विचार नै परित्याग गरेका थिए । त्यसो त चर्चित लेखक, कवि तथा साहित्यकारहरू भूपि शेरचन, मदनमणि दीक्षित, धनुषचन्द्र गौतम जीवनको प्रारम्भकालमा कम्युनिष्ट नेता थिए, जो पछि रहेनन् । यो पंक्तिका नेताहरु खोज्ने हो भने अझै धेरै छन् । त्यही पंक्तिमा उभिने पछिल्लो घटनाका रुपमा भिम रावलको सन्दर्भलदाई लिन सकिन्छ । पार्टीले कारवाही गरेपछि उनले कम्युनिष्ट नै छोड्लान भनेर कसैले सोचेका थिएनन् तर भईदियो त्यस्तै । रावलले स्थापना गरेको नयाँ दल कम्युनिष्ट विचारधाराको होइन । गैरकम्युनिष्ट पार्टीले उनले खोलिसकेका छन् । उनले आफु अब कम्युनिष्ट नरेको उद्घोष नै गरेर पार्टी खोलेका हुन । जुन कम्युनिष्ट आन्दोलनका निम्ति ठुलो धक्का रुपमा लिइएको छ । त्यसो त यिनै कम्युनिष्ट भित्रै कतिपय नेताहरु ढुलमुले नेता पनि देखिन्छ । राष्ट्रियसभाका सदस्य समेत रहेका वामदेव गौतम नेकपा एमाले बाहिर बसेको ३ वर्षपछि फेरी सोमबार ओलीले बोलाएमा एमालेमै जाने निर्णय भएको बताउँदै हिंडेका छन । सम्भवतः मंगलबार आज उनी एमालेमै समाहित हुनेछन ।
हुन त नेपालका कम्युनिष्ट पार्टीहरुमा गठन र विघटनको घटनालाई सामान्यनै मान्नुपर्छ । त्यस्तै नेता कार्यकर्ताहरुले पार्टी छोड्ने र अर्को पार्टीमा प्रवेश गर्ने अनि कतिपय अवस्थामा पुरानै पार्टीमा फर्किने चलन पनि नयाँ विल्कुलै होइन । यो क्रम कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि अहिलेसम्म पनि चालू छ । तर अहिले उत्कर्षमा रहेको नेकपा एमालेमा यही इतिहासलाई निरन्तरता दिँदै पार्टी छाड्नेहरुको लर्कोनै लाग्न थालेको छ । एकीकृत समाजवादी छाडेर कतिपय भित्रीए भनेर प्रचार भइरहेका बेला डा. भीम रावलसँगै सुदूर पश्चिम र अर्कै वहानामा पूर्वको विराटनगरमा कतिपयले सामूहिक राजीनामा दिएपछि एमालेमा पनि पहिरोनै जान थालेको छ । यसबाट आएकाहरुले छोडेकाहरुको ठाउँ पुरताल मात्र गर्ने देखिएको छ भने एमालेमा पनि सत्तामा हुँदा समेत पार्टी छाड्नेहरु देखापर्न थालेपछि हलचलनै पैदा भएको छ ।
एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै ५ दर्जन नेता, कार्यकर्ताले पार्टी छाडेका हुन् । उनीहरुले रावललाई पार्टीबाट निकालिएकोप्रति चर्को विरोध गरेका छन् ।
सत्तारुढ…जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा. भीम रावललाई अध्यक्ष केपी ओलीको निर्देशनमा २०८१ साल पुस १० गते सचिवालयको बैठकबाट पार्टी सदस्यता नरहने गरी निष्कासन गरिएको स्वेच्छाचारी निरंकुश र तानाशाही निर्णयको हामी विरोध र भत्र्सना समेत गरेका छन् । एमाले छाड्नेमा केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चक्र रावललगायत छन् । उनीहरु सबै सुदूरपश्चिमका हुन् ।
यता पूर्वी नेता मोरङको विराटनगरको हालत पनि त्यस्तै देखिएको छ । सामान्य विषयमा कुरा नमिल्दा ठूलो संख्यामा नेता, कार्यकर्ताले एमालेबाट राजीनामा दिएका छन् । विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट सुरु भएको विवाद उत्कर्षमा पुग्दा एमालेबाट राजीनामा दिने लहर सुरु भएको छ । एमाले विराटनगरको ३ नम्बर वडा समितिका १८ जनाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनीहरुले गत पुस २५ गते बसेको महानगर कमिटिको पदाधिकारी बैठकबाट भएको निर्णयप्रति असहमति जनाएका हुन् ।
यसरी राजीनामा दिनेहरुमा वडा अधिवेशन आयोजक समितिको उपसंयोजक हिरा बस्नेत रिजाल, उपसचिव कुशुला काफ्ले निरौला, अनोज गौतम (अनुज), सदस्यहरु गौरी शंकर रेग्मी, दिलिप श्रेष्ठ, सीता कट्टेल, नारायण सुवेदी, तुलसी सुवेदी, चुँडामणी तिम्सिना, पुष्प आचार्य, लक्ष्मण थापा, दलमान तामाङ, भगवती पोखरेल, होम निरौला, अन्नपूर्ण पोखरेल, अर्जुन कटुवाल, विराज अधिकारी, उपाा सिवाकोटी रहेका छन् ।
‘पार्टी नेतृत्वले सामूहिक छलफलको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा कसैसँग परामर्श तथा छलफल नगरी विना जानकारी ३ नं. वडा अधिवेशन आयोजक कमिटीको नामावलीमा संगठित सदस्यता समेत नरहेका, अन्य पार्टीमा रहेका व्यक्तिहरु समेत राखिएको पाईयो जुन अत्यन्तै दुःखद हो,’ सामूहिक राजीनामा पत्रमा उल्लेख छ, ‘सामुहिक प्रयासबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक प्रकृयालाई बेवास्ता गरी माथिल्लो कमिटीबाट गठन गरी जानकारी भएको नेतृत्वमा रही पार्टीको जिम्मेवारी बहन गर्न असमर्थ रहेको ब्यहोरा अवगत गराउँदै सामुहिक रुपमा राजीनामा पेश गरेको जनाएका छन् । यसअघि एमाले विराटनगर कमिटीको बैठकले महानगर कमिटी सदस्यमा मनोनित गरेपछि वडा नम्बर ३ का उपाध्यक्ष प्रकाश सापकोटाले पनि राजीनामा दिएका थिए । सापकोटाले बिहीबार जारी गरेको राजीनामा पत्रमा वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई गरेको कारबाही फिर्ता नगरेसम्म पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने बताएका थिए । नेकपा एमाले मोरङ जिल्ला कमिटीले तत्कालिन महानगरकमिटी अध्यक्ष सागर थापा, सहचिव नवराज नेपाल टुप्पीसहित वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई खानेपानी आयोजनाको निर्वाचनको विषयलाई लिएर कारबाही गरेको थियो ।