देश–समाज राष्ट्रिय समाचार स्थानीय

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ८० प्रतिशत काम सकियो

दमक । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु. सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कुल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६–७७ देखि सुरु भएको हो । हालसम्ममा सडकतर्फ सात वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएको र औसत ८० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए । विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा रु १० अर्ब १३ करोड बराबरको ठेक्का लागेको थियो । जसमा ७८ प्रतिशत वित्तीय प्रगति भएको उनले बताए ।
झापादेखि धरानसम्मको पूर्वी खण्डले झापा, इलाम, मोरङ र सुनसरी जिल्लालाई समेटेको छ । जसमध्ये ४१ दशमलव ६८ किमी सडक कालोपत्र भइसकेको छ । झापामा १ दशमलव ९२ किमी, मोरङमा २० दशमलव ६५ किमी, इलाममा दुई दशमलव तीन किमी र सुनसरीमा पाँच दशमलव ८१ किमी सडक कालोपत्र भएको हो ।
सडकतर्फ सात वटा ठेक्का व्यवस्थापन भएकामा एउटा ठेक्काको सडक निर्माण सम्पन्न भइसकेको छ भने छ वटा सडक काम अन्तिम चरणमा पुगेको जनाइएको छ । विगतका वर्षमा ३१ दशमलव ६८ किमी सडक कालोपत्र भएको थियो भने चालु आवमा १० किमी सडक कालोपत्र भइसकेको छ ।
मदन भण्डारी राजमार्गको निर्माणका लागि सङ्घीय सरकारले चालु आवमा रु ९१ करोड बजेट विनियोजन भएकामा रु. ३५ करोड ९६ लाख खर्च भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । चालु आवमा १५ किमी थप सडक निर्माण गर्ने लक्ष्य रहेकामा १० दशमलव ६७ किमी सडक निर्माण भइसकेको कार्यालयका सूचना अधिकारी दत्तले जानकारी दिए । उनका अनुसार चालु आवमा सडक निर्माणमा ६७ प्रतिशत लक्ष्य हासिल भइसकेको छ ।
पूर्वको झापादेखि पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कुल लम्बाई एक हजार दुई सय किलोमिटर छ । धरानदेखि हेटौँडासम्मको तीन सय किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा पनि हाल काम भइरहेको छ ।
“वन क्षेत्रसँग सम्बिन्धत समस्याबाहेक यो खण्डमा निर्माण तीव्र गतिमा भइरहेको छ”, सूचना अधिकारी दत्तले भने , “वन क्षेत्रमा परेको सडकमा भोगाधिकारका लागि मन्त्रिपरिषदबाट निर्णय भइसकेको हुँदा अब रुख कटानलगायतका काम छिटै सम्पन्न हुनेछन् ।”

Author

You may also like