मुख्य स्वास्थ्य

झापामा आठ लाख बढीले गरे सेवन

दमक, ०१ जेष्ठ। झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गरेका छन् ।

वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधी सेवन अभियानअन्तर्गत जिल्लाका १५ पालिकामै सो अभियान सञ्चालन गरिएको थियो । कार्यालयले नौ लाख ६२ हजार आठ सय ६१ जनालाई औषधी सेवन गराउने लक्ष्य लिएको थियो । ८० प्रतिशत भन्दा कम स्थानीयले औषधी सेवन गरेका दमक सहितका सात पालिकामा पुनः १० दिनको अवधि थप गरिएको छ ।

१५ दिने अभियानअन्तर्गत आठ पालिकामा लक्ष्यअनुरुप औषधी खुवाइएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले बताए । बिर्तामोडमा सबैभन्दा धेरै एक लाख २० हजार चार सय ४८ जनाले औषधी सेवन गरेको जनाए । सबैभन्दा न्यून भद्रपुर नगरपालिकामा ३२ हजार पाँच सय ४८ जनाले औषधी सेवन गरेका उनले जानकारी दिए ।

हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन ८० प्रतिशतभन्दा बढी औषधी सेवन दर आवश्यक रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले उल्लेख गरे । उनका अनुसार बिर्तामोडमा एक सय प्रतिशत, मेचीनगरमा ८१ दशमलव १२, बुद्धशान्तिमा ९१, कनकाईमा ८५ दशमलव १३, शिवसताक्षीमा ८८ दशमलव २६, गौरीगञ्जमा ८६ दशमलव ५९, बाह्रदशीमा ८६ दशमलव ६२ तथा कचनकवलमा ८६ दशमलव ६३ प्रतिशतले औषधी सेवन गरेका छन् ।

यस्तै, अर्जुनधारामा ७४ दशमलव ४४ प्रतिशत, कमलमा ७१ दशमलव ३९, दमकमा ७२ दशमलव ९३ , गौरादहमा ६६ दशमलव ९२, झापा गाउँपालिकामा ७६ दशमलव ६८, हल्दिबारीमा ७१ दशमलव ९७ र भद्रपुरमा ४५ दशमलव ७४ ले औषधी सेवन गरे ।

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन दर ८० प्रतिशत भन्दा कम रहेको स्थानमा १० दिन थप गरिएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए । ‘एक पटक खाऔँ, यो वर्ष अन्तिम बनाऔँ’ भन्ने नाराका साथ झापामा पनि वैशाख १६ गतेदेखि ३० गतेसम्म १३ औँ चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान सञ्चालन भएको थियो ।

दमकमा हात्तीपाइले विरुद्धको औषधी सेवन गर्ने लक्षित जनसंख्या १ लाख ६ हजार रहेकोमध्ये दमकमा ७२ दशमलव ९३ ले औषधी सेवन गरेको र बाँकी १० दिनमा ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले जनाए । नगरभित्र रहेका ४४ जना महिला स्वास्थ्य स्वयमसेविकामा तत्कालका लागि ८ जना थप गरी ५२ जना बनाइएको र अन्य स्वास्थ्यकर्मी सहित कुल १०६ जनाले वडा वडामा घर घरमा गएर औषधी सेवन गराउने काम गरेका थिए ।

लक्ष्यप्राप्त गर्न छुटेकाहरुका लागि स्वास्थ्य केन्द्रमा १० दिन औषधी खुवाउने कार्यक्रम सोमबारबाट पुनः थप गरेको भट्टराईले बताए । उनले छुटेको थाहा भएमा घर घरमा समेत गएर औषधी खुवाइने पनि जनाए । दमकमा ९ नम्बर वडाका एकै परिवारमा ५ जना सहित हालसम्म हात्तीपाइले रोगका ८ जना नयाँ विरामी फेला परेको उल्लेख गरे ।

जिल्लामा औषधी सेवनका लागि ६ सय ६ स्वास्थ्य स्वयम्सेविका र सात सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।

कोशी प्रदेशका १४ वटा जिल्लामध्ये १३ वटा जिल्ला हात्तीपाइलेको संक्रमणबाट मुक्त भइसकेका छन् । तर, झापा भने विगत १३ वर्षदेखि हात्तीपाइले रोगसंग लड्दै आएको छ । अधिकांशले औषधी सेवन नगरेका कारण झापामा सन् २०१२ देखि सुरु हात्तीपाईले रोगबिरुद्धको आम औषधी खुवाउने अभियान अझै जारी छ । सरकारले झापा सहित धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले विरुद्धको १५ दिने आम औषधी सेवन अभियान सञ्चालन गरिएको छ ।

हात्तीपाइले रोग रगतमा बस्ने बिचेरिया ब्रानकोफ्टी नामक परजीवीबाट लाग्ने गर्छ भने लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।

You may also like