ओमप्रकाश गौतम-
आखिर पटकपटक किन द्वन्द्व बढिरहेको छ बिश्वमा ? के कारणले हो अनि स्थायी समाधान किन हुँदैन ? किन शान्तितिर लाग्दैनन् मानिसहरु ? किन द्वन्द्व भड्किदासम्म बोल्दैनन शक्ति राष्ट्रका प्रमुख ब्यक्तित्वहरु ? “ तै चुप मै चुप’ किन गुमनाम भए साना राष्ट्रका व्यक्तित्वहरु ? जो होचो उसैको मुखमा घोचो भनेझैँ हिजोदेखि आजसम्म विश्वमा भइरहेको द्वन्दको सार र रुप हेर्दा हामीलाई लाग्छ कि मान्छे मान्छे होइन रहेछन् यी त बनमान्छेहरु रहेछन् । बहुरुपी रहेछन् यिनमा मानवीय भावना भने एकरक्ती रहेनछ भन्ने प्रतित हुन थाल्या छ हिजोआज । एउटा मानिस जो चेतनशील प्राणी हो उसले मात्र सही गलत छुट्ट्याउन सक्छ तर यहाँ त आजको आधुनिक मानव मानव हुन सकेन दानवमा रुपान्तरित भएको छ । उसले मानवको गरिमा बुझेन क्रूर मानव बन्यो । मानव एक विवेकशील प्राणी हो भन्ने जान्दाजान्दै उसले मानवको मजबुन बुझेन । अहिले यो आधुनिकतासम्म आइपुग्दा उसले काम, क्रोध, लोभ, मोह र अहङ्कारलाई समातेर अहिले पनि अघि बढिरहेको छ । मानवहरु साँचो अर्थमा भन्नुपर्दा भगवान हुन्, किनकि कसैले गर्न नसकेको काम उसैले मात्र गर्न सकेको छ । आणविक हातहतियार , क्षेप्यास्त्र विभिन्न यान्त्रिक उपकरणहरुको आविष्कार उसैले मात्र गर्न सकेको छ । आज उसैले आविष्कार गरेका उपकरणले मानवमाथि नै सन्त्रास फैलाउन उद्दत छ । वास्तवमा मानवीय चेतना हुँदाहुँदै आज किन यो संसारमा डरलाग्दो घटना बढाइरहेको छ ? यो स्तम्भकारको वस्तुतथ्य घटनाबृत्त तपाईं पाठकवर्ग सामु प्रेषित गर्न चाहन्छु । जो केही दिन अघिमात्र संसारलाई चकित हुने घटना अहिले भएको छ । घटना त भयो, तर कसरी किन भयो ? लक्षित कुन वर्ग र समूहबीच भएको त्यो समेत पुस्ट्याइ भइसकेको अवस्था छ । इजरायल र प्यालेस्टाइनबीच ७५ बर्षदेखि जारी तनाव फेरि अर्को युद्धको घोष भएर विस्फोट हुँदा नेपाली नागरिकसमेत घानमा परेका छन् । कहीँ नखाएको बिष आज उनीहरूलाई लागेको छ । विशेषत ः गाजामा रहेको प्यालेस्टाइनी कट्टरपन्थी समूह ‘हमास’ले इजरायलको दक्षिणी क्षेत्रमा गोलाबारी गर्दा अहिलेसम्म धेरै नेपाली विधार्थीले ज्यान गुमाएका छन् भने केही घाइते भएको समाचार हिजोआज बग्रेल्ती आएका छन् । त्यो क्रुर आतंकको पुनरावृत्ति हेर्नुपर्दा हामीलाई लाग्छ मान्छे मानव होइन, नरपिचास रक्तपिपासु हो भन्ने प्रष्ट हुन्छ । यो दानवीय आक्रमण हेर्दा प्यालेस्टाइन इजरायल युद्धको यो नयाँ प्रकरण कहाँनेर पुगेर टुङ्गिएला त्यो त हामीले दिनप्रतिदिनका नयाँ नयाँ आक्रमणका घटनाहरु हेरिरहेका छौं । युद्धबाट हुने धनजनको क्षतिको आङ्कलन अहिले गर्न सक्ने अवस्थै छैन । यदि युद्ध लम्बियो भने हजारौं मानिसको मृत्यु हुने निश्चित प्रायः छ । तर युद्धरत पक्षले भविष्यको कहालीलाग्दो सम्भावित क्षतिको ख्याल नगरी आआफ्नै अडान हिजोपनि अहिलेपनि सारिरहेकै छन् । संभवत युद्ध सुरु भएको अवस्थामा बाह्य स्वार्थ र हतियारको बिक्रीको विषयले पनि स्थान लिने गरेको छ । यसलाई हामीले पछिल्लो उदाहरणको रूपमा रसिया र युक्रेनको युद्धलाई लिन सकिन्छ । उक्त युद्ध वर्ष दिन बित्दासम्म रोकिएको छैन । सायद यही भएर होला अहिले डरलाग्दो ध्रुवीकरणको संघारमा विश्व चकित भयो । हमासले गत शनिबार बिहान इजरायलविरुद्ध अहिलेसम्मकै ठूलो आक्रमण गरेको घटना हो । उसले इजरायली कब्जा अनियंत्रित “ अपरेसन अल -अक्सा फ्लड’ सुरु भएको जनाएको थियो हिजै । यति हुदाहुँदै पनि गत शनिबार विहान अचानक एकसाथ करिब पाँच हजार रकेट प्रहार गर्नुका साथै दक्षिणी इजरायलभित्र प्रवेश गरेर आफ्ना सैनिक तथा नागरिकलाई बन्धक बनाएपछि इजरायलले “ युद्धको अवस्था’ घोषणा गरिसकेको छ । जवाफी हमलामा उत्रिएको इजरायलले यो युद्ध लामो र कठिन हुने भन्दै प्यालेस्टाइनले अहिलेसम्म अनुमानसमेत नगरेको मूल्य चुकाउनुपर्ने चेतावनी दिइसकेको छ । इजरायलले यो युद्ध लामो र कठिन हुने भन्दै प्यालेस्टाइनले अहिलेसम्म अनुमानसमेत नगरेको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । इजरायलले प्यालेस्टाइनी सहर गाजालक्षित आक्रमण तीव्र बनाइरहेको छ अहिलेपनि । दुबैतिर हताहती हुनेको सङ्ख्या धेरैभन्दा धेरै नाघिसकेको देखाइरहेको छ तर अनलाइन खबरहरुले अहिलेसम्म कति हो भन्ने यकिन जानकारी दिन सकेको छैनन् । सबै अन्दाजी यतिउति मात्रै भनेको छ । अहिले दुवै पक्षको आक्रोश हेर्दा यो सङ्ख्या कैयौं गुणा बढने अवस्था छ । अर्को अर्थमा भन्नुपर्दा यो घटनाले विश्वलाई फेरि धुर्वीकृत गर्ने, साधन र स्रोत युद्धमा खर्च हुने र अमूल्य मानवजीवन पनि होमिने अवस्था देखिएको छ । यो परिदृश्य कल्पना गर्दापनि अत्यासलाग्दो प्रकृतिको छ । हिजो देखिएको परिदृश्य मानवीय सन्त्रासले पनि हामी सम्पूणर् शान्तिकामी मानवहरुलाई दुखित तुल्याइ दियो । यस्ता घटनाहरु अतितमा भएका विश्व घटना हेर्दा आङ्गै शिरिङ्ग हुन्छ ।
हामीले विगतको पछिल्लो उदाहरणलाई हेर्नुपर्दा रसिया र युक्रेनको युद्धलाई हेर्न सकिन्छ । त्यो बेला गरिएका मानवमाथिको आक्रमण कस्ता नराम्रो प्रकृतिका छन । उक्त युद्ध वर्ष दिन बितिसक्दापनि रोकिएको छैन भने अहिलेपनि रोकिने लक्षण देखिन्न । तर युद्धमा हजारौं मानिसको मृत्यु भइसकेको छ । लाखौं मानिस अङ्गभङ्ग र विस्थापित भए । हजारौं हजारले अभिभावक गुमाए । टुहुरा बालबालिकाको बिचल्ली भएको छ । मुलुकको भौतिक संरचना ध्वस्त भयो उतिबेला । सिरियाको अवस्था पनि अहिले यस्तै छ कुनै परिवर्तनै छैन । बाह्य मुलुकको स्वार्थले सिरिया र युक्रेन ध्वस्त भएको छ भने आज युक्रेनको राजधानी किभ र खारकिब खरानी बन्न पुग्यो । यद्यपि युद्ध रोकिने पहल अहिलेसम्म कहिँ कतैबाट भएको छैन । कमसेकम हमास र इजरायलले युक्रेन र सिरियाबाट शिक्षा लिनुपथ्र्यो, तर लिन सकेन । आफ्ना नागरिकलाई युद्धभूमिमा होम्नु कुनै पनि मुलुकको बहादुरीपन होइन । यो कुरा जेलेन्स्की र पुटिनले त बुझ्लान्नै । हमास र इजरायलका नेताहरूले बुझ्न सकेको भने देखिन्न । उनीहरूले त कुरा बुझेनन् । तर विश्व समुदायले पहलकदमी चाल्नुपथ्र्यो, त्यो भने अहिलेसम्म हुन सकेकै छैन । यसले पनि के कुरा स्पष्टबोध गरेको छ कि, यतिबेला विश्वलाई फेरि पनि ध्रुवीकृत गर्ने ? साधन र श्रोत युद्धमा खर्च हुने र अमूल्य मानवजीवन पनि होमिने स्थिति छ । यो परिदृश्य हेर्दा अत्यासलाग्दो छ । आज उनीहरूको मानवीय सन्त्रास फिजाउने यो घिनलाग्दो युद्धको पीडाले आज गरिवीहरुको पीडामा आज बाछिटा परेको छ । पढ्न भनेर गएका सयौं नेपालीहरुमध्ये उनीहरूको आततायी घटनाबाट धेरैजना विद्यार्थीहरु हताहत भए । सोच्दै नसोचेको बज्रपात फेरि नेपाली युवाहरूमाथि पर्यो । अहिले नेपाल सरकारले इजरायलमा जोखिममा रहेका धेरै नेपाली विद्यार्थीहरुलाइ उद्दारका लागि नेपाली विमानमा नेपाल ल्याउने प्रक्रिया समेत सुरु गरेको छ । इजरायलमा रहेका नेपालीको उद्दार र शव ल्याउने प्रक्रिया तुरुन्त हुन सकोस् । मृतक विद्यार्थीका परिवारजनहरुलाई पीडामाथि पीडा थप्ने काम कहिँ कतैबाट नहोस् । उनीहरूको परिवारजनलाई त्यहाँबाट प्राप्त हुने क्षतिपूर्ति तथा राहत सहयोग नेपाल सरकारकै पहलमा हुन सकोस् । यस्तो मानवीय हृदयविधारक घटना नेपालीहरुले सुन्न नपरोस् ।