Banner कला साहित्य मनोरञ्जन

एलपी जोशीको योगदानको इतिहास समेटौं

केपी घिमिरे

विशिष्ट लोकगायक एवम् अग्रज कलाकार आदरणीय एलपी जोशीज्यूसँग उहाँकै निवास दमकस्थित जोशी चोकमा भेट गर्ने अवसर मिल्यो । निकैबेर उहाँकै जीवन र उहाँले नेपाली भाषा, साहित्य, कला, लोक गीत र लोक संस्कृतिका क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदान र विशिस्ट भूमिकाका सन्दर्भमा गहिरो कुराकानी गरेँ ।
यस क्षेत्रको योगदानमा समर्पित भएकै कारण जोशीका निम्ति विभिन्न संघ संस्थाले गरेको सम्मान, पुरस्कार र अभिनन्दनसहित उहाँलाई विभिन्न समयमा सम्पन्न कार्यक्रममा प्रदान गरिएका अमूल्य चिनो र उपहारका खात अवलोकन गर्ने सुअवसर प्राप्त गरेँ ।
नझरेका फूलहरू पलेँटी साँझ, सुन्दरहरैँचा कला साहित्य विकास समिति लगायत संस्थामार्फत हामीले पनि विराटचोक मोरङमा विभिन्न समयमा उच्च समारोहकाबीच उहाँलाई गरिसकेका छौँ ।
आफ्नो घरमा अत्यन्तै प्रेमले स्वागत सत्कार गर्ने, केही मिठोमसिनो, तातो चिसो खाऔँ भन्ने,आफ्नो शयनागारसम्म लगेर कला र गीतसङ्गीतका कुरा गर्न रुचाउने र मलाई पनि अत्यन्तै विस्वाशिलो ठान्ने जोशीज्यूका बारेमा यहाँ प्रशस्तै लेख्दा पनि कतिपय कुरा छुट्छ ।
भविस्यमा उहाँको योगदानका खातिर उहाँले प्राप्त गरेका यति अमूल्य प्रशंसापत्र, कदरपत्र, सम्मानपत्रलगायत मायाका चिनोहरू, उहाँले चित्रकला अन्तर्गत बनाउनुभएका उत्कृष्ट चित्रहरू, हरेक दिन सिर्जना गर्नुभएका लोक भाका भङ्गी र नेपाली चलचित्रमा गर्नुभएको अभिनयको त्यो परिचय सदैव बचाएर राखिदिने, सम्हालेर राखिदिने, संरक्षण र संवर्ध्दन गर्ने अभिभाराका निमित्त मलाईसमेत गर्नुभएको आग्रहप्रति म सधैं उहाँलाई शिर निहुराएर नमन गर्न चाहन्छु ।
भर्खरै लक्ष्मीपूजाका दिन ८७ पूरा भएर ८८ वर्षमा प्रवेश गर्नुभएका स्रष्टा एलपी जोशीज्यूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु ।

You may also like