Banner फिल्मी खबर मनोरञ्जन

‘दिमाग खराब’ को प्रदर्शन नरोकिने

दमक, २ मंसिर

आम्दानीको बाँडफाँड र शो प्राप्तिको विषयमा विवाद मिलेपछि नेपाली कथानक चलचित्र ‘दिमाग खराब’को प्रदर्शन नरोकिने भएको छ ।
बिहीबार फिल्म निर्माण कम्पनी सिनेमा आर्ट्स र प्रदर्शन संस्था चलचित्र संघबीचको छलफलले सो निणर्य गरेको हो ।
संघको कार्यालय विशाल नगरमा भएको छलफलमा ‘दिमाग खराब’ ले पाएको सो र हिन्दी फिल्म ‘टाइगर ३’ले पाएको शो को विषयमा पनि छलफल भएको थियो । छलफलमा ‘दिमाग खराब’ को सो बढाउँदै जाने सहमति समेत भएको छ । यसक्रममा दमकस्थित पाथीभरा हल सहितका देशका विभिन्न हलमा प्रदर्शित सो चलचित्र निरन्तर प्रदर्शन भएको छ ।
चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले ‘दिमाग खराब’ को सुरुको प्रदर्शनका समयमा अपेक्षा अनुसार व्यवसाय हुन नसकेको अवस्थामा अर्को चलचित्र ‘टाइगर ३’ आएको र उसलाई पनि शो दिइएको बताए । पछिल्लो समयमा ‘दिमाग खराब’ राम्रो व्यवसायिकता हाँसिल गरेपछि शो बढाउने निणर्ण स्वतः आफुहरुले गरेको र ‘टाइगर ३’ निक्लिसकेको पनि उनले जानकारी गराए । ‘त्यसप्रकारको अवस्थाका बारेमा कुरा बुझाबुझ नभएर केहि असहमति भएको मात्र हो ।’ – उनले प्रष्ट्याए ।
हुन त ‘दिमाग खराब’ युनिटले सो को मात्र होइन, निर्माता र प्रदर्शनबीच शेयर बाँडफाँडको विषयमा समेत असहमति जनाएको छ । यस विषयमा दुबैपक्षबीच केही छलफल भए पनि सहमति जुट्न भने सकेन । यस विषयमा दुबै पक्ष मङ्गलवार पुनः अर्को चरणको बैठक गर्ने र सहमति खोज्ने छलफल भएको समेत महासचिव महर्जनले जानकारी दिए । पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०%-५०% प्रतिशत हुने तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% शेयर बाँडिने कुरा अन्यायपूणर् भएको भन्दै निर्माण पक्षले विरोध जनाएर विज्ञप्ति निकालेको थियो ।
‘दिमाग खराब’ तिहारको सन्दर्भमा कार्तिक २४ गते शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । चलचित्रले सुरुको समय राम्रो सो पाए पनि हिन्दी फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आएपछि सो कटौती भएको थियो । सोही विषय र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ निर्माण कम्पनी सिनेमा आर्ट्सले एक विज्ञप्ति जारी गर्दै सो नमिलाए शुक्रवारबाट प्रदर्शन रोक्ने चेतावनी दिएको थियो ।

You may also like