दमक, २२ असोज-
दमकमा सम्पन्न पहिलो कोशी प्रदेशस्तरीय अन्तर हस्पिटल फुटसल प्रतियोगिताको उपाधि दमकको निम्स नेशनल हस्पिटलले हात पारेको छ ।
दमकस्थित सीटिसि फिजियोथेरापी, विकास एडभरटाइजिङ एजेन्सी र रोपाना वेल्नेस सेन्टरको संयुक्त आयोजनामा विस्ट फुटसल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा विर्तासिटी हस्पिटल विर्तामोडलाई हराउँदै निम्स नेशनल हस्पिटलले उपाधि आफ्नो बनाएको हो । उपाधिसँगै निम्सले नगद ३० हजार रुपैयाँ, शिल्ड र ट्रफी हात पारेको छ भने उपविजेता विर्तासिटीले नगद २० हजार रुपैयाँमा प्राप्त गरेको छ ।
त्यस्तै उत्कृष्ट खेलाडीको उपाधि विर्तासिटीका पिताम्बर निरौला, सर्वाधिक गोलकर्ताको उपाधि निम्सका निरज बोहोरा र उत्कृष्ट गोलरक्षकको उपाधि विर्तासिटीका असिम भट्टराईले हात पारेका छन् ।
प्रतियोगिताको फाइनल खेलमा दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भिमराज चौंलागाईंको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी चम्लागाईं, आयोजक मध्येको विस्ट फैक्ट्रीका सञ्चालक विपिन सुवेदीले पुरस्कार वितरण गरेका छन् ।
सो प्रतियोगिताको फाइनल खेल हुनुअघि पत्रकार र आयोजक टिमबीच मैत्रीपूणर् खेल भएको थियो । सो खेलमा आयोजकले पत्रकार टिममाथी जित हासिल गरेको थियो ।
आयोजक समितिका अध्यक्ष विनोद भट्टराईले हस्पिटललमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँगै अस्पतालहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्न यो प्रतियोगिताले सघाउ पुरयाएको बताए ।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मचारी तथा अस्पताल व्यवस्थापन र सञ्चालकहरु समेत प्रतियोगितामा खेलाडीका रुपमा सहभागी भएका थिए । प्रतियोगितामा कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाबाट एक दर्जन टिमले भाग लिएका थिए । प्रथम पुरस्कार जीके प्रिन्ट दमकले र द्वितीय पुरस्कार सौर्य दमक अस्पतालले सौजन्य गरेको थियो ।