मुख्य स्थानीय

पूर्वसन्देशकर्मी तिम्सिना सम्मानित

पथरी, २० असार/ मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पूर्वसन्देश दैनिकका समाचार सम्पादक भूपेन्द्रराज तिम्सिनालाई अग्रज पत्रकार / सञ्चारकर्मी सम्मान २०८१ प्रदान गरेको छ ।
नगरपालिका कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा विगत ३० वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका सो नगरका तिम्सिनालाई नगद २५ हजार, सम्मानपत्र, उनको मुहारचित्र र दोसल्लाद्वारा सम्मानित गरिएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, नगर प्रवक्ता नविन कार्की, १ नम्बर वडाध्यक्ष भीमकुमार राई सहितले उनलाई सम्मानित गरेका हुन् । नगरको सवैभन्दा पुराना पत्रकार तिम्सिनाले यस अघि नगरपालिका कार्यालयमा ५ वर्ष ( २०७४-०७९) ‘सूचना सम्पादक’को रुपमा काम गर्दा नगरको मिडिया प्रवद्र्धनका लागि सूचना तथा सञ्चार कार्यविधि निर्माण गर्ने काममा महत्वपूणर् भूमिका निर्वाह गरेका थिए । ०५२ सालदेखि पत्रकारिता थालेका उनले साहित्य र कलाकारिता क्षेत्रबाट समेत मेचीदेखि महाकालीसम्म, भारतको सिक्किम, उत्तरप्रदेश, युनाइटेड अरब इमिरेट्स अन्तर्गतको दुबईसम्मबाट गरी १ सयको हाराहारीमा सम्मान र पुरस्कार प्राप्त गरेका छन् । उनले यसबीचमा कान्तिपुर पब्लिकेशनको नेपाल साप्ताहिक, कामना मासिक र युवामञ्च मासिकमा कला साहित्य बिटमा स्ट्रिंजर भएर काम गरिसकेका छन् । उनले नेपाल समाचारपत्र दैनिक, ब्लाष्ट टाइम्स दैनिक, सप्तकोशी एफएम, कञ्चनजंघा एफएम, मकालु टेलिभिजन सहितका सञ्चारमाध्यममा मोरङ र झापा संवाददाताका रुपमा पनि काम गरिसकेको अनुभव छ । रेडियो सुनाखरी, राष्ट्रिय समाचारपत्र दैनिक, पिपुल्स टाइम्स दैनिकमा सम्पादनको भूमिका निर्वाह गरिसकेका उनी हाल पूर्वसन्देश दैनिकमा समाचार सम्पादकका रुपमा कार्यरत छन् ।

उनले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै आफुले धेरैवटा सम्मान पाएको भएपनि नगरपालिकाले गरेको यो सम्मानले कैयौं गुणा बढी महत्व राखेको महसुस गरेको बताउँदै पत्रकार सधैं वाचडग हुँदै विकास पत्रकारिताको अवधारणामा समेत समाचार सम्प्रेषणको महत्व उल्लेख गरे । कार्यक्रममा उनीसँगै क्रियाशील पत्रकारिता पुरस्कारबाट हिमशिखर टेलिभिजनका संवाददाता भूमिप्रसाद पाठकलाई १५ हजार र उत्कृष्ठ सञ्चारमाध्यम पुरस्कारबाट पहिलो अनलाइनलाई २५ हजार नगद सहित पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा नगरका १२ जना पत्रकारलाई जनही १० हजारका दरले लेखनवृत्ति समेत प्रदान गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख तुम्वापो र प्रवक्ता नविन कार्कीले नगरको विकासमा पत्रकारिताको महत्वपूणर् भूमिका रहेको उल्लेख गर्दै सञ्चार प्रवद्र्धन नगरपालिका प्रतिवद्ध रहेको जनाए । पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई, लेखनवृत्ति मूल्यांकन समितिका संयोजक अर्जुन जम्नेली राईले पनि मिडिया प्रवद्र्धनको क्षेत्रमा थप व्यवस्थित काम गर्दै जान नगरपालिकालाई सुझाव दिए । २०७५ सालबाट नगरले ‘स्थानीय मिडिया प्रवद्र्धन’ शिर्षकमा वर्षेनी बजेट विनियोजन गरी सम्मान, पुरस्कार र लेखनवृत्तिको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

You may also like