दमक/ दमक नगरपालिका कार्यालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा अनुमानित आन्तरिक आयमा ७४.६४ प्रतिशत उपलब्धि हाँसिल गरेको छ ।
नगरपालिकाको शुक्रबार १५ नगरसभाको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेट पारित गर्दै चालु आर्थिक वर्षको समीक्षात्मक प्रतिवेदनका क्रममा सो जानकारी गराइएको हो । लेखा समिति संयोजक गोपालकृष्ण संग्रौलाले चालु आर्थिक वर्षका लागि २० करोड ९४ लाख ९२ हजार आन्तरिक आयको लक्ष्य राखिएकोमा १५ करोड ६३ लाख मात्र आम्दानी भई ७४.६४ प्रतिशत उपलब्धि हाँसिल गरेको जानकारी गराए । चालु आर्थिक वर्षमा ७ करोड ३५ लाख ३२ हजार र हालसम्म कुल बेरुजु ३० करोड ७८ लाख ५३ हजार रहेको पनि जनाए । समितिले हिमालय महालक्ष्मी चिया बगानको बुझाउन बाँकी सम्पत्ति कर उठाउने तागेता गर्न, इ रिक्साको व्यवस्थापन, कार्यविधि बनाएर मात्रै इन्धन वितरण गर्ने, खरिद आदेश र दाखिला प्रतिवेदन व्यवस्थित गर्ने, डोर हाजिरी स्पष्ट राख्ने जस्ता सुझाव समेत प्रस्तुत गरेको छ ।
कार्यक्रममा राजस्व परामर्श समिति संयोजक एवं नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले ४ वर्षे राजस्व सुधार आयोजना तय गरिएको उल्लेख गर्दै ‘करलाई रहरमा बदल्न’ करदाता शिक्षा सहितको शिविर सञ्चालन गरिने योजना सुनाइन् । उनले हाल ५० प्रतिशत भन्दा मालपोत असुली भएको जनाउँदै नियमित मालपोत तिर्ने कुरामा स्थानीयलाई प्रोत्साहित गर्नु आवश्यक रहेको जनाइन् । उनले समग्रमा आन्तरिक राजस्वमा भनें १७ प्रतिशतले बृद्धि भएको जानकारी गराइन् । १३ करोड ४९ लाखको लक्ष्यमा १६ करोड १५ लाख आन्तरिक राजस्व संकलन भएको उल्लेख गरिन् । उनले अनुगमन् समितिको समेत प्रतिवेदन प्रस्तुत गर्दै नगरभरीका कुल ३१५ योजनामध्ये ३१३ वटा सम्भौता भएका, १९४ वटा हालसम्म फरफराक भएका र ११९ वटा सञ्चालनमै रहेको जानकारी दिइन् । उनले न्यायिक समितिको समेत प्रतिवेदन प्रस्तुत गरिन् । उनले तेस्रो पक्षबाट निर्माणको परीक्षण गर्नुपर्ने र संघ र प्रदेशका योजना संयुक्त संयन्त्रबाट अनुगमन्को व्यवस्था गर्न आवश्यक रहेको सुझाव पनि प्रस्तुत गरिन् ।
नगर प्रमुख राम कुमार थापाको अध्यक्षताको बैठकमा सामाजिक विकास समिति संयोजक सारदा भट्टराई, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक टेकबहादुर थापा, पूर्वाधार समिति संयोजक भीमप्रसाद पौडेल, सुशासन समितिका संयोजक नवीन बराल, आर्थिक विकास समिति संयोजक इन्द्रबहादुर गुरुङ, विधायन समिति संयोजक लोकबहादुर धिमाल, यातायात व्यवस्थापन समिति संयोजक प्रजापति सापकोटा सहितले आआफ्नो समितिको विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की सहित कार्यपालिका सदस्य, विषयगत शाखाका कर्मचारीसहितको सहभागिता रहेको थियो ।
असार ९ गतेको १५ औं नगरसभाको पहिलो बैठकमा आर्थिक वर्ष २०८१÷ ०८२ का लागि एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेस भएको थियो । सो बजेट अंक चालू आर्थिक बर्ष २०८०÷ ०८१ को तुलनामा ८.७२ प्रतिशतले बढी हो ।