-भूमिप्रसाद पाठक-

पथरी १२ असार/
मोरङ जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पूर्व- पश्चिम राजमार्गसंग जोडिएर दक्षिण १३ किलोमिटरसम्मको क्षेत्रफल ओगटेको पथरी शनिश्चरे नगरपालिका विकासको गतिमा अघि बढ्दै गएको नगरपालिकामा पर्दछ ।
साविक पथरी र शनिश्चरे गाविसलाई मिलाएर वि. सं. २०७१ सालमा पथरीशनिश्चरे नगरपालिका गठन भएको थियो । नेपाल सरकारबाट स्थानीय तहको पुनः संरचना गर्ने क्रममा साविक हसन्दह गाविसलाई समेत मिलाएर २०७३ फागुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो । यस नगरपालिकाको कूल जनसंख्या ७२ हजार ४ सय ५१ रहेको छ । यो नगरपालिकाको भौगोलिक अवस्थिति अनुसार अक्षांश दक्षिणमा २६ डिग्री ३६’ र उत्तरमा २७ डिग्री ३९’ छ भने देशान्तर अनुसार पश्चिममा ८७ डिग्री ३३’ देखि पूर्वमा ८७ डिग्री ९६’ रहेको छ ।
यस नगरपालिकाको पूर्वमा उर्लाबारी र रतुवामाई नगरपालिका छन् भने पश्चिममा कानेपोखरी गाँउ पालिका छ। यसै गरी, उत्तरमा लेटाङ नगरपालिका र दक्षिणमा सुनवर्षी नगरपालिका रहेका छन् । कूल १० वटा वडाहरु रहेको यस नगरपालिकाको जम्मा क्षेत्रफल ७९ दशमलव ८१ वरग किलोमिटरमा फैलिएको छ । यो नगरपालिका पूर्व पश्चिम लोकमार्गको ४ किलोमिटर भित्र रहेको छ। यस नगरपालिकाको पूर्वी सीमाना सुन्जोरा खोला र बक्राहा खोला तथा पश्चिममा डाँस मोरङ्गी खोलाले छुट्याएको छ । यो नगरका नागरिकको मुख्य पेसा कृर्षि हो भने अन्यमा व्यापार व्यवसाय, सेवा – रोजगारी आदि रहेको छ । यस नगरपालिकाभित्र बग्ने पथरी खोला मुख्य सिंचाई स्रोत हो भने जालपा भूल्केदेवी मन्दिर क्षेत्रको आसपासमा प्रशस्तै सिमसार क्षेत्र रहेको छ । जो पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूणर् मानिन्छन् । यो नगरपालिकामा सरकारी स्तरबाट ३ वटा स्वास्थ्य चौकीहरु तथा प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र समेत सञ्चालनमा छन् ।
पथरी नगर अस्पताल अहिले विहान ७ बजेबाट नै छिटो छरितो सेवा उपलव्ध गराउँदै आइरहेको छ । स्थानीय निर्वाचन सम्पन्न भएयता नगरको समग्र विकासले फड्को मारेको देखिन्छ । त्यसमा पनि प्रथम निर्वाचित जनप्रतिनिधिहरूले ऐन कानून बनाएर स्थानीय तहमा जनताको अधिकारलाई सुनिश्चित गर्ने कामको सुरुवात गरे । खास गरी, जनप्रतिनिधिहरू आएपछि सिंह दरबारको अधिकारलाई प्रत्याभूति दिलाएको पाइन्छ । यस अघि नगरपालिकामा चाङ लागेर बसेका उजुरी तथा समस्याहरू क्रमशः जन चाहनाहरू र आकांक्षाहरू सुनेर विकास निर्माणमा लागेको नगरपालिकाको कार्यायले जनाएको छ । त्यसमा पनि भौतिक पूर्वाधार विकासमा महत्वपूणर् कामहरू भएको पाइन्छ।यस नगरपालिकाले नगरका सबै टोलीसँग सडक संजालले जोडिएकाले यातायातको सुविधा पुगेको छ ।


१० वटा वडा रहेको पथरी शनिश्चरे नगरपालिकामा स्थानीय तहका लागि निर्वाचन भएको दुई वर्ष यता जनप्रतिनिधिहरू आएपछि वडा वडामा विकासका कार्यले निकै गति लिएको देखिन्छ । यलम्बर चोकमा यलम्बर मूर्ति स्थापना, पञ्चायत मावि पूर्व तर्फ वाल निर्माण, शहिद रत्न बोटानिक पार्क संरक्षाणार्थ घेराबारा, मन्दिर लाईनदेखि बुद्धचोकसम्मको सडक खण्डमा कालोपत्रे, कृषि बजार तथा पूर्वाधार निर्माण, प्रशासनिक भवन र अस्पताल मर्मत, नगर अस्पताल भवन निमाणर् तथा सडक निर्माण, हरियाली पार्क निर्माण, शहिद रत्न मार्ग कृषि डाँस सडक, डाँस खोला पूर्व ड्रेन निर्माण, रजतजयन्ती सडक कालोपत्रे, कुशल बजार प्रहरी चौकी, दोहोलु शुक्रबारे मार्ग कालोपत्रे, बुद्धमार्ग कालोपत्रे, वडा नम्बर ८ र ९ को सीमाना बाटो निर्माण, पुलचोकबाट दक्षिण शिरीषे डाँडा हुँदै भातेगौंडा जाने बाटो निर्माण, पथरी खोला मुसरघट्टा पुल निर्माण, आदि भएका हुन् । यसैगरी, तल्लो पिप्ले खोला पुल निर्माण, मंगलबारे अमरहाट बजार कालोपत्रे, दुर्गा मन्दिरदेखि अमरसिंह मावि जाने सडकमा कालोपत्रे, शहिद रत्न मार्ग कालोपत्रे, मनमोहन मार्ग पश्चिम संगम चोक हुँदै वडा नम्बर ९ को सीमानासम्म कालोपत्रे, पथरीशनिश्चरे बजार क्षेत्रमा कालोपत्रे सडक लगायतका विभिन्न विकास योजनाहरु संचालन भएको योजना शाखाले जनाएको छ । वडा नम्बर १,२,९ र १० मा पनि सडक मर्मत सम्भार भएको छ भने वडा नम्बर ४, ५ र ६ मा पनि सडक विस्तारको लागि सडक मर्मत गरेर स्तरोन्नति गरेको पाइन्छ । त्यसमा पनि वडा नम्बर ४ र ८ मा सडक बत्ती विस्तार तथा सीसी क्यामेरा जडान गरिएको वडा नम्बर ४ का वडाध्यक्ष लोकनाथ न्यौपानेले बताए । वडा नम्बर २ को कसेनी पुल निर्माण, वडा नम्बर ५ र ६ को वडा कार्यालय मर्मतसंहार गरिएको छ भने हंसराजको घर हुँदै वन तर्फ जाने सडकमा स्तरोन्नति भएको छ । यस्तै, वडा नम्बर १ यलम्बर चोकमा किरात समुदायको प्रथम राजा यलम्बरको शालिक राखिएको छ । कृषि बजार पूर्वाधार निर्माण र व्यवस्थापन वडा नम्बर १ ले गरेको छ । वडा नम्बर ५ को कार्यालयमा विद्युतीय वायरिङ गरिएको छ । दुर्गा पाञ्चायनदेखि संगम चोकहुँदै फायर लाइनसम्म ३ नम्बर वडाको कार्यलयले सडक स्तरोन्नति गरेको पाइन्छ । त्यस्तैगरी, पञ्चायत माविको वाल र स्ल्याब निर्माण जस्ता विभिन्न कार्यहरूले तीव्रता पाएको छ । पञ्चायत त प्रदेशकै नमूना विद्यालय बनेको छ । त्यहाँ कानून, पत्रकारिता, ललितकला समेतको विषय पठनपाठन हुँदा फरकपन देखिएको छ । नगरको एकमात्र क्याम्पस वडा नम्बर १ मा रहेको पथरी बहुमुखी क्याम्पसले स्नातकोत्तरसम्मको पठनपाठनमा प्रगति गरेको छ । विश्व विद्यालय अनुदानको क्यूएए मान्यता प्राप्त गर्ने क्रममा कार्यक्रम अघि बढाएको छ । नगरमा विधि नै बनाएर कला साहित्य र सञ्चार प्रवद्र्धनको कार्यक्रम विगत ६ वर्षदेखि सञ्चालनमा छ । ४ नम्बरको भागिरथ माविमा कक्षा ११ र १२ मा कृषि विषयको पढाई अघि बढ्नु कृषिप्रधान नगरका लागि उपलब्धि हो । वडा नम्बर ३ मा पशु अस्पताल निर्माण हुनु राम्रो उपलब्धी हो । महिलाको सीप प्रवद्र्धनमा सिलाई कटाई कार्यक्रम प्रभावकारी बनेको छ । ढाका तानको पनि प्रभाव छ । तालिम, अनुदान सहितका प्रवद्र्धनात्मक कार्यक्रमले कृषि र पशुपालनले व्यवसायिक गति लिएको छ । सिमसार सहितका सामुदायिक वनका क्षेत्रमा पर्यटन प्रवद्र्धनको काममा नगर अगाडि बढेको छ । नेपालमा संघीयता कार्यान्वयन भएसँगै विकासको गति तीब्रतर बनेको छ ।
यता, सर्व साधारण जनताले भनें विकास निर्माण सम्बन्धी मिश्रित प्रतिक्रिया दिएका छन् । वडा नम्बर १ का तुलसी बस्नेतले जनप्रतिनिधिहरू जुन हिसावले खटिनुपर्ने हो, सो अनुरूप नदेखिएको गुनासो पोखे । उनले भित्री बाटाहरू अस्तव्यस्त रहेको भन्दै भएका विकास निर्माण कार्यहरूको पनि सही सदुपयोग नभएको बताए ।
त्यसै, वडा नम्बर ३ का युवा दीपक ढुंगानाले जनप्रतिनिधिहरूले जनताका इच्छा आकांक्षाहरू सुनेर कामहरु गर्न नसकेको हो कि भनेर संकेत गरे ।
वडा नम्बर ७ का स्थानीय टीका दाहालले राम्रो टिम नै गएको महशुस गरेको भएपनि उनीहरूबाट आशा गरे जति कामहरू हुन नसकेको औंल्याए । उनले सडक विस्तारले गति लिएपनि शिक्षामा अझै सुधार गर्नु पर्ने सुझाए । उनले अगाडि भने – ‘शिक्षामा अझै सुधार गर्नु पर्ने, दरवन्दी मिलान गर्नु पर्ने, जस्ता विभिन्न कार्यहरू बढाउनु आवश्यक देखिन्छ ।’
यता , वडा नम्बर २ का वयोवृद्ध छविलाल अधिकारीले नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले भनाइमा घर घरमा सिंह दरबार भने पनि भनाइ र गराईमा कता कता नमिलेको हो कि भन्दै अहिलेका जनप्रतिनिधिहरूले कागजी झन्झट दिएको भन्ने गुनासो पोखे ।
निष्कर्षमा , यसरी विकास निर्माण कार्यहरूको कुरा गर्दा संघीयता लागू भए यता स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि निक्कै विकास निर्माण कार्यहरूको तीव्रता र गतिशीलता पाएको भनें पक्कै हो । त्यसमा व्यवस्थित रुपले काम गर्ने कुरामा कमजोरी देखियो नै । विकास भनेको कुनै जादुको छडी होइन, एकैचोटी विकासको भेलबाढी आउने होइन, जनप्रतिनिधिहरूले पनि यो नगरपालिकाको विकासका लागि महत्वपूणर् भूमिका निर्वाह गरिरहेका छन् । नगरवासीले उनीहरुलाई बेलैमा सल्लाह, सुझाव दिएर सचेत बनाउनु पनि उत्तिकै आवश्यक हुन्छ । आफ्ना समस्या र गुनासा समेत राख्दै जानुपर्ने हुन्छ । तब मात्र चाहेको यथार्थ विकास भेट खान्छ । विरोधका लागि विरोध मात्रै भन्दा पनि विकास निर्माण कार्यहरूको हामीले सकारात्मक बाटोबाट हिँडेर अघि बढ्नु समग्र विकासको खाका देखिएको नगरको विकासमा जनताको सहभागितालाई आत्मासात गर्न सकेको खण्डमा यस नगरपालिकाको विकासले अझै फड्को मारेको देखिन्थ्यो ।

Author

You may also like