ओमप्रकाश गौतम
हामी विज्ञान र प्रविधिको चामत्कारिक युगमा छौं । एउटा कोठामा बसेर विश्व अवलोकन गर्न सक्छौं । हामीलाई प्रविधिले यति नजिक बनाइदिएको छ कि जे काम गर्न हिजोआज मेसिन र उपकरणले आशातित प्रगति गराइदिएको छ । अहिले मानिसले शारीरिक कसरतका निम्ति केही कामै गर्न छोड्यो सबै उपकरण र प्रविधिले गरिदिएको छ । हिजोका दिनमा मानिसले यतिसम्म काम गरे कि उनीहरूको बासै खेतबारीमा हुन्थ्यो । न दिन, न रात नभनी खेतैमा काम गर्थे । अहिले त प्रविधिको विकासले गर्दा मानिस अल्छे बनेको छ सबै काम उपकरणले गरिदिएपछि ।
हो आज यस्तै – यस्तै विषयवस्तुसङ्ग रहेर प्रासंगिक कुरा तपाईंहरु माझ पस्कदैछु जुन यथार्थ दृष्टिकोण छ । सामाजिक सञ्जाल भनेको के हो ? यसका फाइदा र बेफाइदा के – के छन् ? अनि यसको प्रयोग र प्रभाव कसरी चलिरहेको छ भन्ने अहिलेको विषयवस्तु नै हो ,मेरो कलमको । वास्तवमा भन्ने हो भने सामाजिक सञ्जाल भनेको कम्प्युटर वा मोबाइलमा ईन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेको वा आफूले सिर्जना गरेको विचार, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई नि साँचो अर्थमा सामाजिक सञ्जाल भनिन्छ । यो वेवसाइट एवं इन्टरनेटका माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन हो । यो समुदायमा आधारित आदानप्रदान गर्ने अनलाइन च्यानलहरुको सामूहिक रुप पनि हो । सामाजिक सञ्जालका फाइदाहरु निम्न छन ः सूचना आदानप्रदान छिटोछरितो गर्न सकिने, घरैमा बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने, महत्वपूणर् कागजात फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न सकिने । कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने , घरमै वसेर खरिद विक्री गर्न सकिने, आफ्ना विचार भावना राख्न सजिलो हुने । सारा विश्वलाई एउटै कोठामा ल्याउन सहयोग पुग्ने ,ब्यक्ति परिवार, समुदाय, कार्यालय, ब्यापार ब्यबसाय सबैले हरेक काममा प्रयोग गर्न सकिने । यसका बेफाइदा अन्तर्गत ः बढी समय खर्च गराउने, समाजलाई हानी नोक्सानी गर्ने विषयवस्तु बढी शेयर हुनसक्ने , अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गर्ने शेयर गर्ने , नचिनेका अपरिचित ब्यक्तिलाई जिस्काउने, अर्काको फोटो तथा भिडियोको दुरुपयोग गर्ने, सामाजिक सञ्जाललाई अध्ययन अनुसन्धानको साधनभन्दा मनोरञ्जनको साधनको रूपमा प्रयोग गर्ने, गलत समाचार सम्प्रेषण गर्ने आदि इत्यादि पर्दछन् ।
यसकारण सामाजिक सञ्जाल कम्प्युटरमा आधारित एउटा यस्तो प्रविधि हो जसले विचार , भावना र सूचनाको प्रवाहमा मद्धत गर्छ । यो सञ्जालले शब्द, श्रब्य, श्रब्य – दृश्य र ग्राफिक्सको रूपमा भर्चुअल नेटवर्क मार्फत विश्वका विभिन्न स्थानमा रहेका मानिसहरुलाई जोड्छ , एक ठाउँमा ल्याउँछ । सामाजिक सञ्जालको फैलावट विशाल छ । यसको प्रयोग दिनानुदिन बढ्दो छ । अहिले अनेक नामका धेरैवटा यस्ता सञ्जालको प्रयोगकर्ता विश्वभर ५ अर्वभन्दा बढी छन् । सामाजिक सञ्जालको कुल प्रयोगकर्ता मध्ये अधिकांस युवाहरू छन् भन्ने कुरा अध्ययनहरुले देखाएको छ । सामाजिक सञ्जालमा राखिने सामग्रीहरु मूलत ः यो सञ्जाल प्रयोगकर्ताको इच्छा अनुसारका हुन्छन् । निश्चित कानुनी शर्तका अधिनमा रहेर जोसुकैले जस्तोसुकै सामग्री प्लेटफार्ममा राख्न सक्छ । अपराध वा हिंसालाई प्रोत्साहन गर्ने, अरुलाइ दुःख दिने वा अपमान गर्ने, निजी मामिलामा दख्खल दिने, सम्बन्धित देशका कानुनको उलंघन गर्ने जस्ता सामग्री कुनैपनि सामाजिक सञ्जालमा राख्न बन्देज गरिएको हुन्छ । यदि कसैले त्यस्ता प्रतिबन्धित सामग्री राखेमा वा त्यस्तो व्यबहार गरेमा कानुन वमोजिम कारवाही हुन्छ । इन्टरनेटमा दर्जनौ सामाजिक संजालहरु संचालनमा छन् । प्रयोगकर्ताको संख्याका हिसाबले फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्राम, विच्याट, टिकटक, मेसेन्जर, सिना, वाइबो आदि । ठूला सामाजिक संजाल फेसबुकका प्रयोगकर्ता झण्डै तीन अर्ब भन्दा बढी छन् । खासगरीकन युवाहरुमा अत्यन्तै लोकप्रिय देखिने युट्युब दोश्रो ठूलो सामाजिक नेटवर्क हो । संसारभरका साढे दुई अर्बभन्दा धेरै मानिसले युट्युब चलाउछन् । थोरै मानिसले मात्रै प्रयोग गर्छन् जस्तो देखिने टेलिग्राम नामको सामाजिक सञ्जालमा समेत ३० करोड मानिस जोडिएको तथ्यांक छ । यो ‘इन्फोग्राफ’ ले विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेका केही सामाजिक सञ्जाल बारे जानकारी प्राप्त गर्न सक्छन् । सृजनात्मक तथा उत्पादनमुलक तरिकाले सामाजिक संजालको प्रयोग गर्ने हो भने यो बरदान हुन सक्छ । यसबाट अनेक फाइदा लिन सकिन्छ । तर यो माध्यमको दुरुपयोग गरियो भने चाहिँ यो अभिसाप हुन सक्छ, हो आज यसको दुरुपयोग भएका कारण दिनप्रतिदिन अपराधजन्य घटनाहरु बढिरहेका छन् । आज सामाजिक सञ्जाल गलत ढंगले चलाइएको हुनाले यो ‘भर्चुअल प्लेटफार्म’ ब्यक्ति, समाज र राष्ट्रलाई समेत विनासकारी हुन पुगेको छ । यस्ता माध्यमको प्रयोगले प्रयोगकर्ताको सोचाइ र व्यबहार समेतलाई प्रभाव पारेको छ । प्यू रिसर्च सेन्टरका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ता मध्ये युवावर्गहरु अत्याधिक छन् । सामाजिक सञ्जालका कुल प्रयोगकर्ता मध्ये १८ देखि २९ बर्ष उमेर समूहका झण्डै नब्बे प्रतिशत मानिसहरुले कम्तीमा एउटा सामाजिक संजालको प्रयोग गरेको पाइएको छ । यस्तो स्थितिमा अरु उमेर समूहका मानिसका तुलनामा युवा वर्गलाई सबैभन्दा संवेदनशील वर्ग मान्नुपर्छ । युवा बेलामा रेखदेख गर्ने घरका अभिभावकको कर्तव्य हो तर त्योपनि हुन सकेन भने त्यो घरनै लथालिङ्ग र भताभुङ्ग हुन्छ । त्यो त हामीले बिगतदेखि आगतसम्म देखे बुझेकै कुरा हो । आज सामाजिक सञ्जालको दुरुपयोगका कारण धेरै मानिसहरु डिप्रेसनको सिकार भएका छन् । आज सामाजिक संजाल वा इन्टरनेटमा उपलब्ध अथाह सामग्रीले युवालाई सकारात्मक र नकारात्मक दुवै किसिमको प्रभाव पर्ने सम्भावना हुन्छ । के ठीक हो र के गलत हो भन्ने कुराको सही निणर्य गर्न नसक्ने हो भने सामाजिक सञ्जाल अभिसाप बन्न सक्छ, जस्तो कि आज टिकटकले हिजो सकारात्मक सन्देश दिएको थियो भने आज नकारात्मक रूपमा फैलिदै गएको हुनाले नग्न तस्वीर र किसिङ्ग मिसिङ्गका भिडियो पोष्ट गरेर भ्यूवर्स कमाएर रकम कमाउने होडवाजीले गर्दा आज नेपाल सरकारले टिकटकै प्रतिबन्धित गरायो । किन गरायो ? के कारणले गरायो ? गर्नुपर्ने कारण के हो ? यो त सम्बन्धित निकायले अहिलेपनि सुक्ष्म अध्ययन गरेकै होला तर समग्रमा भन्नुपर्दा यो बन्द गर्नैपर्छ भन्नेहरुको बहुमत बढेर गएको छ यतिबेला । आज स – साना बालबालिकाहरु समेत आफ्नो उमेर समूह र योग्यता परिवर्तन गरेर फेसबुक आइडी बनाएर सामाजिक संजालको दुरुपयोग गरेर नराम्रो कर्ममा फसेको खबर तपाईं हामीले सुने जानेकै कुरा हो । आज यही भएर होला वर्तमान सरकारले सामाजिक सञ्जाल निर्देशिका बनाएर ‘फेक आइडी बनाउने र घृणा फैलाउनेलाई कारबाही’ गर्ने निर्देशिका पारित गरेको छ । अहिले फेसबुक, एक्स, टिकटक, इन्स्टाग्राम, युट्युबलगायतका सामाजिक सञ्जाल प्लाटफर्म र प्रयोगकर्तासङ्ग सम्बन्धित विभिन्न पक्षलाई सम्बोधन गर्दै मन्त्रीपरिषदले आज भन्दा एकहप्ता अगाडि सामाजिक संजाल सम्बन्धी निर्देशिका पारित गरिसकेको अवस्था छ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्ने आवश्यकता छ किनकि आज सामाजिक सञ्जाल अन्तर्गतका अनेक सामाजिक सञ्जालको विधि, विधान, नियम, बिनियम हिजोआज बिपरित रुपमा चलिरहेको अवस्था छ । सरकारले निर्देशिका जारी भएको ३ महिनाभित्र नेपालमा सम्पर्क कार्यालयको ब्यबस्था गर्नुपर्ने, फेक आइडी बनाउन र त्यसबाट उत्पादित सामग्री शेयर, कमेन्ट गर्न नपाइने, अरुलाइ होच्याउने नियतले अपमानजनक शब्द, श्रब्यदृश्य, तस्वीर, ट्रोल बनाउन नपाइने, निजी मामिलाका फोटो, भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न नपाइने, मिथ्या सूचना, दुष्प्रचार, सूचना तोडमोड वा प्रसारण गर्न नपाइने, सूचिकृत नभएका प्लाट्फर्मलाई जुनसुकै बेला बन्दगरिने जस्ता कुराहरुलाइ बाहिर ल्याएको हुनाले पनि आगामी दिनमा यसलाई सबैले मनन् गरेर सामाजिक सञ्जाल सञ्चालन गर्न जरुरी छ । यसमा सबैको ध्यान जान सकोस् ।