Everything has decayed.
Decayed, as morals are in danger
Danger of living on this land.
(सबै कुरा कुहिन थालेको छ
कुहिएको नैतिकता नै पनि खतरामा छ
यो माटोमा बाँच्न नै खतरनाक छ ।)
आज म कंगोका ५६ बर्षिय प्रशिद्ध कवि मुगिशो थियोफिलको कवितामा समय पढिरहेका छु । उनका हजारौं कविताहरूमध्ये ‘यहाँ नरकको गन्ध आउँछ (हिअर स्मिल्स हेल)’ शीर्षकको कविताले मन अमिलो बनाउँछ । यही कविताको अंश यहाँ राखेर कुरा थाल्दै छु ।
यसबेला गीतहरूको मेला छ । त्यो पनि भाष्यहरूको गीत । सिंहदरबार छिरेकाहरूको ‘संबृद्धि’ को गीतले सिंहदरबार बाहिर बस्नेहरूको भरोसा बटुल्न सकिरहेको छैन । अनि सिंहदरबार बाहिर बस्नेहरूको ‘भ्रष्टाचार’ को गीतले सिंहदरबार भित्र बस्नेहरूको भरोसा बटुल्न सकिरहेको छैन ।
यो समयको संघर्ष पनि यही दुईवटा भाष्यहरूको हो ।
किन यस्तो भयो त ?
यस्तो हुनु प्राकृतिक हो प्रजातान्त्रिक मुलुकहरूमा । तर त्यो संघर्ष सत्यमा आधारित, वस्तुगत, सप्रमाणित हुनुपर्छ । तर अहिले यी कुनै पनि कुरा छैनन् । बोलिदिने, बास सकियो सबै जिम्मेवारी । बोलिमा बिकास छ । बालिमा सभ्यता छ । बोलिमा संबृद्धि छ । बोलिमा लोकतन्त्र छ । बोलिमा सुशासन छ । बोलिमा आकास छ । बोलिमा धर्ती छ । बोलिमा युबाआकर्षण छ । बोलिमा शिक्षा र स्वास्थ्य छ । बोलिमै सबैथोक छ । भौतिक निर्माण (खासगरी सडक) बाहेक अन्य क्षेत्रमा बोलिको बिकास छ । निर्माणमा ‘अर्थोपार्जन्’ हुने भएकोले यसमा लगानी भयो । तर ती बाटामा हिंडने मानिस लाखापाखा लागिरहेका छन् । बाटाका छेउका घर रित्तिरहेका छन् । युवाहरू विश्वस्त छैनन् ।
यसले निरासा पस्किरहेको छ । र यो समय यो माटो एउटा अकल्पनीय रूपक अलंकारमा रूपान्तरित भइरहेको छ । त्यो भनेको कसरी यस्ता झुटा भाष्यहरूको निर्माणले, गलत शासकहरूका कारणले एउटा डरलाग्दो बिम्ब बोकेर उभिएको छ यो समय ।
दुनियाँमा कसरी गरिवी, असमानता, झुटको खेती, राजनीतिक भ्रष्टाचारबाट अराजकता र सामाजिक मूल्यहरूको समूल बिघटन भइरहेको छ भनेर सायदै हामी खोजी र अनुसन्धान गर्छौं । यो बाटो खतरनाक बाटो हो । यही राजमार्गमा छौं हामी पनि । किनभने यो राजमार्गले राजनीतिक असफलता, भ्रष्टाचारले जनतामा निराशा, कानूनी शासनको पतन, सामाजिक आचरणमा स्खलन निरन्तर गराइरहन्छ । गराइरहेको छ ।
हैटी भन्ने देशलाई हेरौं । यसमा ६० प्रतिशतभन्दा बढी जनसंख्या दैनिक २.१५ अमेरिकी डलरभन्दा कम आम्दानीमा बाँच्छन्, जव कि यसको प्रतिव्याक्ति आय ८७४ अमेरिकी डलर छ । भ्रष्टाचारमा १८० देशहरूमध्ये १७१ औं स्थानमा छ । यसको कारण राजनीतिक बेइमानी नै हो । अनि यसको परिणाम राजधानीको ठूलो भूभाग गिरोहहरूको नियन्त्रणमा छ । लुटपाट छ, अपहरण छ, सार्वजनिक सेवा ध्वस्त छ । अहिले हैटीबासीहरूले राज्यप्रणालीका सबै अंगहरूमाथि विश्वास गुमाइसकेका छन् ।
भेनेजुएलामा यस्तै भयो । सन् २०१३ मा प्रतिव्यक्ति आय १३,००० अमेरिकी डलर भएको मुलुक २०२३ मा आइपुग्दा उक्त प्रतिव्यक्ति आय १७०० अमेरिकी डलरमा कायम भयो । महंगी दर १० लाख प्रतिशत पार गर्दै छ, भ्रष्टाचारमा १८० देशहरूमा १७७ औं स्थानमा छ । आप्रवास संकटमा छ, ७७ लाख मानिसहरूले देश छोडिसके । कानूनि शासनको अंत्य भएको छ । बिबिसि को अन्तर्वातामा एकजना नागरिकले ‘दिनमा एक पटक खान पाए पनि हुन्थयो’ भनेको पनि सुनियो ।
तर दुर्भाग्य, यही भेनेजुएला हाम्रा शासकहरूको ‘मक्का मदिना’ हो । यही भेनेजुएलाबाट आयात गरेको मन्त्रले यो देश ‘संबृद्धिको’ बाटोमा लम्किरहेको छ ।
सोमालियामा त भ्रष्टाचार सबैभन्दा बढी (१८० मा १८० औं स्थान) छ र प्रतिव्याक्ति आय ३१० अमेरिकी डलर जुन विश्वका देशहरूमा सबैभन्दा कम । परिणम के भयो भने सरकार अलोकप्रिय बन्नथाल्यो । यसले डाकु र युद्धकारीहरू पैmलिन पाए । आतंकवादले घर गर्न थाल्यो ।
सुडानमा यस्तै भयो । भ्रष्टाचारमा १६२ औं स्थान (१८० मा) मा छ, प्रति व्याक्ति आय ७५० डलरभन्दा कम छ । यसले जनतामा निरासा जन्मायो । अनि त्यहाँ सैनिकका गुट बने र एक अर्कामा लडन् थाले । सावैजनिस सेवाको पतन भयो, लुटपाट र आतंक सुरूभयो । यो नियती भोगिरहेको छ आज सुडान ।
कंगो लोकतान्त्रिक गणतन्त्र अर्को उदारण हो । कति सुन्दर नाम !
हाम्रो जस्तै !
ट्रिलियन डलर बराबरका खनिज स्रोतहरू हुँदा हुँदै पनि त्यहाँको प्रतिव्यक्ति आय ६४० डलरभन्दा कम छ । भ्रष्टाचारमा १६४ औं (१८० मा) स्थानमा छ । न त रोजगारी छ, न त सुशासन छ, । सुनको थालमा भात मागेर कतिञ्जेल बाँच्ने ? जनताको एकमात्र रोजाई बन्दुक भयो । यसको परिणाम गृहयुद्ध सुरूभयो र अहिलेसम्मा ६० लाख मानिसहरू मारिसकिएका छन् ।
सुनको पिर्कामा बसेर मगन्ते बन्नु परिरहेको छ ।
यी उदारणहरूले के प्रष्ट पार्छन् भने गरिवीले मात्रै मुलुकलाई नष्ट गर्दैन । मुलुक सक्ने भनेको नै गैरजिम्मेवार नेतृत्व, भ्रष्ट राजनीतिक प्रणाली, कानूनको धज्जी उडाउने प्रबृत्ति र आर्थिक अवसरको अभावमा राज्य नष्ट हुन्छ । सामाजिक बिघटन हुन्छ । जनतामा निरासा उत्पन्न गर्छ । सभ्यताको पतन समेत हुन्छ ।
हामी पनि यही बाटोमा त छैनौं ? सिंह दरबार जलाइदिन्छु भन्दा किन स्यावासी आउँछ ? नेताले बोलेको कुरा सामाजिक सञ्जालमा पोस्ट गर्ने बित्तिकै किन सत्तोसराप मात्रै हुन्छ ? अनि एउटा केटाले ‘जुम्ला ब्लग’ बनाउँदा, फोटा र भिडियो पोस्ट गर्दा यी ‘सरकारी’ मान्छे र दलहरूमा ९ रेक्टर स्केलको भुईंचालो किन जानु पर्ने ?
हाहाकार किन हुनु पर्ने ?
किन रूनु पर्ने ? किन धम्क्याउनु पर्ने ? किन अलल्लिनु पर्ने ? किन सातो जानु पर्ने ?
यसको एउटै कारण के हो भने यी डाडुपन्यूवालाहरू पनि माथि हैटी, सुडान, कंगो, सोमालिया हिंडेको बाटोमा हिंडिरहनु । अनि ‘जनतानै खराव’, ‘यस्तालाई भोट दिने नै खराव’ जस्ता भाष्य बनाएर जनतालाई ऊल्लू बनाइरहेछन् । ‘फुड पोइजन’ भएर मान्छे भटाभट जान थाले भने सुरूदेखिनै किचन कब्जा गरेर डाडुपुन्यू समात्नेहरू जिम्मेवार हुन्छन् कि थाल थापेर खानेहरू ? अहिलेको सरकारी भाष्य भनेको ‘थाल थापेर खानेहरू जिम्मेवार छन्’ भन्ने हो ।
कति आपत्तिजनक तर्क छ, तैपनि यस्तै भाष्यमा हामी गटटटटटट ताली पड्काइरहेका हुन्छौं । भोट दिनेको कुनै बिकल्प नभएपछि एउटालाई त दिनु परेन ? अनि त्यो एउटा पनि उही मुहानको पानी खाएको, उही दलको प्रशिक्षणबाट प्रशिक्षित, उही बोतलमा गएर घुलमिल हुने त हो । उसले पनि दलको ह्वीप मान्नै पर्छ, दलको आदेश र सिद्धान्त मान्नै पर्छ । अनि भोट फेरेर, व्यक्ति फेरेर हामी सोमाली, कंगोली हुनबाट बचिन्छ भन्ने प्रमाण र आधारहरू केही छन् ? अहँ, आजसम्म भेटिएका छैनन् ।
यो निराशावादी आवाज वा नकारात्मक सोचाइ होइन, सिर्जनात्मक सोचाइ हो, ‘क्रिटिकल थिङकिङ’ हो । अहिले
‘क्रिटिकल डिस्कोर्स’ धेरैलाई थाहा पनि छैन । – दमक, झापा