बाँदरआतंकको समाधानका धेरै उपायहरु होलान् । पोखरेली रुख काट्ने वडाध्यक्षप्रति केही सुझाव छ । जस्तो, नगरले बाँदर स्थानन्तरण गर्न सक्छ । बाँदर जोन स्थापना गरेर खाना खुवाउँन सक्छ । बाँदरमैत्री वातावरण निर्माण गर्न सक्छ । बाँदर पर्यटन गर्न सक्छ । बाँदर बन्ध्याकरण गर्न सक्छ । बाँदर भिलेज स्थापना गरेर उनीहरुको व्यवहार वैज्ञानिक तरिकाले अध्ययन गराउन सकिन्छ ।
हामीले विश्वभरिको बाँदरको बानी व्यबहारको भिडियो हेरेर अहिले समय बिताइरहेका छौ त । होइन र ? हा,े यस्तै तरिकाले यिनीहरुको प्रयोग गर्न सक्छौं । जहाँ बाँदर नुहाउने पोखरी, जंगल, बाँदर अस्पताल हरेक प्रकारको बाँदरले मन पराउने खेल खेल्ने ठाउँ, साहासी खेल खेल्ने ठाउँ निर्माण आदि । कैयौं मदारी नियुक्त गरेर मंकी कमेडी, मंकी टृक्स, मंकी जम्प, मंकी लभ मंकी फोटोग्राफी, मंकी एड्भेञ्चर, फूड डोनेसन फर मंकी आदि धेरै गर्न सकिन्छ ।
श्रीलंकामा एउटा आदिवासी समूहमा बाँदरको प्रयोगले नरिवल टिपेर जीवन निर्वाह गर्छन् । बाँदर हुनु भनेको त्यो समूहमा सम्पन्नताको प्रतीक हो ।
हामीले बाँदरलाई शताब्दीसम्म अराजक भन्यौं । हाम्रो मनोविज्ञान नै सधैँ नकारात्मक भयो । कसैलाई गाली गर्दा बाँदर भन्ने, बाँदर जस्तो भन्ने मिथक बन्यो । कवि लेखकले बाँदरलाई नकारात्मक विम्बको रूपमा मात्र लिए । सबैभन्दा हामी परिवर्तन हुनु पर्यो । मैत्रीपूर्ण हुनुपर्यो । खाना दिनु पर्यो । नजिकै भारतमा बाँदरसँग मानिसहरु सजिलै बसेका छन् । हिन्दु धर्ममा हनुमानकोे त्यत्रो महत्व छ । मन्दिरमा हनुमान पुज्ने, पुराणमा हनुमान महिमा सुनाउने, घरमा हनुमान चालिसा पढ्ने तर बाहिर बाँदरसित घृणा गर्ने नेपाली समाज वास्तवमा अनुदार छ । ढोँगी छ । त्यो मिथकलाई व्यवहारमा उतार्ने हो भने बाँदर आतंक नभएर मैत्रीपूर्ण समाज निर्माण गर्न सहयोग मिल्छ ।
पोखरा प्रकृतिले संसार प्रसिद्ध छ अब बाँदर पर्यटनले झन नाम कमाउन सक्छ । थाहा छ बाँदर नियन्त्रणका लागि रुखै मास्ने भन्ने कुरा पढेर धेरै हाँस्नेछन् ।
(बुद्धशान्ति झापाका शेर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुन् ।)