लेख विचार/वहस

वैशाख महिना र मातातीर्थ औंशी

वैशाख महिना नव वर्ष प्रारम्भको महिना हो । यो वर्ष बैशाख महिनाबाट चाड पर्वहरुको पनि सुरुवात भएको छ । यो वर्षको पहिलो महिनाको सुरुवात नै नवरात्रबाट सुरु भएको छ । नव वर्ष बैशाख १ गते नै नवरात्रको पञ्चमी तिथि परेको छ । यसरी नै वैशाख ४ गते चैते दशैं परेको छ भने बैशाख ५ गते भगवान रामको जन्मदिन राम नवमी परेको छ । यो राम नवमी पर्व हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण पर्व पनि हो । यो पर्वको दिनमा भगवान रामको पूजा अर्चना गरिन्छ भने रातमा जाग्राम बसी भगवान रामको भजन किर्तन पनि गरिन्छ । हुन त राम नवमी पर्व र चैते दशै पर्व प्राय चैत्र महिनामा पर्ने गर्दछ । तर यो वर्ष चाहिँ वैशाख महिनामा परेको छ । त्यसैले यो नव वर्ष २०८१ रामनवमी पर्वबाट सुरु भएको मानिन्छ ।

यसरी नै यो वैशाख महिनाको २६ गते मातातीर्थ औंशी पर्व पर्दछ । मातातीर्थ औंशी पनि हामी हिन्दुहरुको महत्वपूर्ण पर्व हो । यो पर्वलाई आमाको मुख हेर्ने पर्वको रुपमा मनाइन्छ । आमालाई माया गर्ने, सम्मान गर्ने, आमाप्रति सधै आस्था राख्ने पर्वको रुपमा समेत यो पर्व मनाइन्छ । आमा सम्पूर्ण सन्तानहरुलाई जन्मदिने जननी हुन्, धर्ती हुन् र प्रेरणाकी प्रतिमूर्ति हुन् । यस्ती आमालाई वर्षमा एकपटक भएपनि सम्झने र पूजा गर्ने दिनको रुपमा मातातीर्थ औंशी मनाइन्छ ।

यो पर्व वैशाख कृष्ण पक्षको आमावश्या तिथिका दिन वा औंशी तिथिका दिनमा पर्दछ । यस दिन आमा हुनेहरुले आमासँग भेट गरेर वा आमालाई ढोग गरेर वा आमाको दर्शन गरेर विभिन्न मिठाइ, फलफूल र खानेकुराका परिकारहरु दिएर मनाउने गरिन्छ । साथै कतिपयले लत्ताकपडाहरु उपहार दिएर मनाउने गर्छन् । आमा नहुनेहरुले विभिन्न तीर्थस्थलमा गएर आमाको नाममा दान गर्ने, तर्पण दिने, श्राद्ध गर्ने, पिण्डदान गर्ने, बाह्मणहरुलाई भोजन गराउने आदि कार्य गर्दछन् । हाम्रो हिन्दु सनातन धर्म अनुसार बुबा आमाको दैनिक दर्शन गर्नु, पूजा गर्नु र भोजन गराउनु अनिवार्य मानिन्छ । तर सबैजनालाई दैनिक रुपमा यो कार्य गर्न सम्भव हुदैन । त्यसैले, कम्तिमा वर्षमा एक पटक बुबा आमाको सेवा गर्न भोजन गराउन पाइयोस् भनेर कुशे औंशी र मातातीर्थ औंशीको चलन आएको हो । कुशे औंशीलाई बुबाको मुख हेर्ने दिनको रुपमा मनाइन्छ भने मातातीर्थ औंशीलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइन्छ । मातातीर्थ औंशीलाई मातृ दिवस वा मातृ सम्मान दिवसको नाम पनि दिइएको छ । यो दिनमा आमालाई मिठा मिठा खानेकुरा खुवाएर आशीर्वाद लिने चलन रहेको पाइन्छ । हुन त हाम्रो धर्मशास्त्रमा बुबा, आमा भनेका साक्षात भगवान हुन् । बुबा आमाको राम्रो सेवा गर्नु पर्छ । बुवा आमाको राम्रो सेवा गर्दा, चारधामको दर्शन गरेको भन्दा ठूलो फल प्राप्त हुन्छ भनिएको छ । त्यसैले आमा हुनेहरुले मातातीर्थ औंशीमा आमासँग भेट गर्नु अनिवार्य नै मानिन्छ । आमा नहुनेहरुले पनि यस दिन आमाको सम्झना गर्नु उत्तम मानिन्छ ।

मातातिर्थ औशीका दिन काठमाडांैको दक्षिण पश्चिम थानकोट नजिकै रहेको मातातीर्थ कुण्डमा स्नान गर्ने फलफूल चढाउने कार्य गरिन्छ । यस पर्वको धार्मिक मान्यताका बारेमा उल्लेख गर्दैछु । त्रेतायुगमा मर्यादापुरुष श्रीराम र सीता माता वनबासको समयमा घुम्दै जाँदा यही स्थानमा आइपुगेछन् । सीता मातालाई अत्यन्तै तिर्खा लागेछ । त्यहाँ वरिपरि कतै पनि पानी रहेनछ । सीता माताका लागि पानी उपलब्ध गराउन भगवान रामले गंगाको स्तुति गर्दै जमिनमा बाण प्रहार गरे । त्यो बाण प्रहार गरेको ठाउँबाट पानी निक्लन थाल्यो र त्यो ठाँउमा एउटा कुण्ड बनेछ । समय बित्दै जाँदा त्यो कुण्डको वरपर केही गोठालाहरु गाईबस्तु चराउन जाँदा रहेछन् । एकदिन गोठालाहरुले खाजा खान रोटी लिएर आएका रहेछन् । रोटी खान खोज्दा ती रोटीका टुक्राहरु पोखरी तिर उडेर गएछन् । त्यसपछि त्यो पोखरीमा के रहेछ छ भनी हेर्दा ती गोठालाहरुले आफ्ना दिवंगत आमाहरुको तस्वीर देखेछन् । त्यसपछि ती गोठालाहरुले आफूसँग ल्याएका खानेकुरा त्यही पोखरीमा लगाएछन् । ती खानेकुराहरु पोखरीमा हराएछन् । जब बेलुका गोठालाहरु घर फर्कने बेला भयो, उनीहरु फेरि कुण्डमा गएछन् । उनीहरुले आफ्नी आमाहरुलाई आफूसँगै घर जान अनुरोध गरेछन् । तर ती आमाहरुले आफू घर जान नसक्ने बरु हाम्रो दर्शन गर्न वैशाख कृष्ण औंशीका दिन आउनु भनेछन् । त्यही समयदेखि मातातीर्थ औंशीका दिन त्यहाँ मानिसहरुले फलफूल, खानेकुरा चढाउने कामको थालनी गरेछन् । सोही समयदेखि सो कुण्डमा स्नान गर्ने, पूजा गर्ने काम सुरु भएको कुरा उल्लेख भएको पाइन्छ । साथै सो कुण्डमा तर्पण दिने, पिण्डदान गर्ने समेत कार्य गरिन्छ । यो मातातीर्थ औंशीका दिन दिवङ्गत आमाहरु यस धर्तीमा आउने गर्दछन् र उनीहरुका सन्तानले दिएको फलफूल, परिकार, पिण्ड र तर्पण ग्रहण गर्ने गर्दछन् । त्यसपछि पुनः देवलोक र पितृलोकमा फर्कन्छन् भन्ने शास्त्रीय मान्यता रहेको पाइन्छ ।

शास्त्र अनुसार बुबा आमालाई खुसी राख्न सके अन्य कुनै पनि तीर्थ व्रत, धर्म कर्मको आवश्यकता पर्दैन । बुबा आमाको सेवा गर्नु भनेको चारधामको दर्शन गरेको भन्दा ठूलो फल प्राप्त हुन्छ भनिएको छ । यो धर्तीमा सन्तान खराब हुन सक्दछन् । तर आमा कहिल्यै खराब हुन सक्दिनन् । आमा जहिल्यै पनि आफ्ना सन्तानप्रति माया ममताकी खानी हुन् ।

मातातिर्थ औंशीलाई देवलोक, पितृलोक र पृथ्वी लोक सबैलाई जोड्न सक्ने एउटा मार्गको रुपमा समेत लिन सकिन्छ । किनकि यो माता तिर्थ औंशीका दिन देवलोकमा रहेका, पितृलोकमा रहेका र यस पृथ्वीलोकमा रहेका सम्पूर्ण आमाहरु यही धर्तीमा आएका हुन्छन् । यस पृथ्वीलोकमा रहेका आमाहरुलाई प्रत्यक्ष भेटेर र देवलोकमा र पितृलोकमा रहेका आमाहरुलाई विभिन्न परिकार र फलफूलहरु चढाएर आमाहरुलाई सम्झना गर्ने गरिन्छ । यस दिन आमाहरुको सम्झनामा दिएका चिजवस्तुहरु आमाहरुले प्रत्यक्ष रुपमा पाउँछन् भन्ने कुरामा विश्वास रहिआएको छ ।

हाम्रो शास्त्रहरुमा पनि मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव भनेर व्याख्या गरिएको छ । मातृदेवो भव । माताहरु देवता हुन् भनेर आमालाई नै पहिला सम्झने गरिन्छ । अर्थात आमालाई नै पहिलो देवताको रुपमा राखिएको छ । आमालाई पिता भन्दा उच्च स्थानमा राखेको छ । यसरी शास्त्रहरुमा पनि आमा वा मातालाई उच्चस्थान दिएको पाइन्छ । साथै यस लोकमा भएका आमाहरुलाई जीवित देवताको रुपमा राखिएको पाइन्छ । त्यसैले त भनिन्छ ‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसी’ अथार्त आफूलाई जन्म दिने आमा र आफू जन्मिएको भूमी स्वर्ग भन्दा पनि प्यारो हुन्छ ।

यसरी माथि उल्लेखित सम्पूर्ण तथ्यहरुको आधारमा हेर्दा मातातीर्थ औंशी एउटा महत्वपूर्ण पर्वको रुपमा रहेको पाइन्छ । यो पर्वको महत्व सबैले बुझ्नु पर्ने हुन्छ । तर अहिले आमा र सन्तानहरुको सम्बन्ध कमजोर बन्दै गएको छ । सानो उमेरदेखि नै पढाईको शिलशिलामा घर छाडेर बाहिर बस्नु पर्ने, पढाइ सकिएपछि जागिरका लागि टाडा जानू पर्ने वा बैदेशिक रोजगारीका लागि अन्य मुलुकमा जानू पर्ने आदि कारणले आमाको माया ममताबाट टाढिनु पर्ने र आमाको सेवा गर्ने अवसर कम प्राप्त गर्ने अवस्थाको सिर्जना भएको छ । जे भएपनि मातातीर्थ औंशी सम्पूर्ण आमाहरुलाई सम्झना गर्ने दिन हो । यो दिनमा हाम्रा अन्य कामहरुलाई थाँती राखेर भएपनि आमालाई भेट गरौं । आमाको मनलाई खुसी बनाऔं । आमाको अनुहारमा सधैं खुसीयाली देख्न सक्ने वातावरणको सिर्जना गरौं । आउँदै गरेको मातातीर्थ औंशीको सबै आमाहरुलाई अग्रिम शुभकामना । मातातीर्थ औंशीले सबै आमाहरुको जीवनमा सुख, शान्ति र सुस्वास्थ्य कायम गरोस् । जय मातातीर्थ औंशी ।

दमक ८, झापा

Author

You may also like