देश–समाज समाचार स्थानीय

मनसुन सक्रिय हुँदा कोशी र मधेसका किसानलाई राहत

दमक/ पछिल्लो १२ घण्टामा देशभर मनसुन सक्रिय रहँदा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तथ्याङ्क अनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम स्तरको वर्षा मापन गरिएको छ ।
विशेषगरी, पूर्वी नेपालका केही क्षेत्रमा भने भारी वर्षा भएको छ । विभागका अनुसार शनिवार राति उदयपुरको गाईघाट, झापाको दमक र अनारमनीस्थित वर्षा मापन केन्द्रहरूमा धेरै भारी वर्षा रेकर्ड गरिएको छ । भारी वर्षाका कारण ती क्षेत्रका नदी तथा खोलाहरूमा पानीको बहाव बढेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भूभागका धेरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
झापामा भारी वर्षा


झापामा भारी वर्षाका कारण नदीहरुमा जलसतह चेतावनी स्तरको नजिक पुगेको छ । अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेके छ  । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, बाह्दशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । बाढी सतर्कता प्रणालीअन्तर्गत बाह्दशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेको जनाइएको छ । साइरनले बासिन्दालाई समयमै सुरक्षित स्थानतर्फ जान सघाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, साइरन प्रणाली झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज गाउँपालिका–५ को कुञ्जीबारीमा समेत सञ्चालनमा छन् । झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले भनिन्, “साइरनले बाढीको खतरा टाढैबाट जानकारी गराउँछ । हामीले सचेतना र पूर्वतयारीमार्फत जोखिम न्यूनीकरणमा ध्यान दिइरहेका छौँ । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने योजना पनि सक्रिय रूपमा कार्यान्वयनमा छ ।”
कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगर क्षेत्रमा रहेको कनकाई नदीको सतह उच्च रहेको र आसपासका क्षेत्र सतर्क अवस्थामा रहेको बताए । उनले भने , “नदीको बहाब निरन्तर बढिरहेकाले नगरपालिकाको विपद् व्यवस्थापन समिति सक्रिय छ । आवश्यक परेमा तत्काल उद्धार, राहत र स्थानान्तरण कार्य गरिनेछ ।”
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तहसँगको समन्वयमा उच्च जोखिममा रहेका स्थानको तत्काल अनुगमन, आवश्यकतानुसार उद्दार तथा राहतको तयारी गरिएको छ ।
भारी वर्षासँगै एसियन हाइवेअन्तर्गत मेचीनगर नगरपालिकाभित्रको कालीखोलाको डाइभर्सन, इलिफेन्ट क्रसिङ डाइभर्सन र माई नदी पश्चिमको भालुखोलाको डाइभर्सनमा क्षति पुग्न सक्ने उच्च सम्भावना रहेकाले एसियन हाइवे आयोजनाले समेत आफ्ना कर्मचारी र जेसिभी र स्काइभेटरलाई समेत तयारी अवस्थामा राखेको आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले बताए ।
मेचीनगर नगरपालिकाभित्र पर्ने कालीखोलाको डाइभर्सनमा हुनसक्ने जोखिमलाई ध्यान दिएर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आयोजनासँग समेत आवश्यक परामर्श गरिएको, राहत र उद्धारको टिम तयारी अवस्थामा रहेको बताए । उनले भने, “सडक डाइभर्सन क्षेत्रमा बाढी बसेको अवस्थामा एसियन हाइवे परियोजनासँग सहकार्य गरी उद्धार टोली तयार भएको र मर्मत तथा वैकल्पिक आवागमन सुनिश्चित गर्न इञ्जिनियरिङ टोली परिचालित गरिएको छ ।”
विशेषज्ञहरूले बाढीको सम्भावित जोखिम क्षेत्रहरू कचनकवल, झापा, बारदशी, गौरीगञ्ज, कन्काईलगायतका तटीय र नदी छेउका बस्तीमा बसोबास गरिरहेका नागरिकलाई तत्काल सतर्कता अपनाउन सुझाव दिएका छन् ।
बिर्तामोडमा २४ घण्टामा १२९ मिलिमिटर वर्षा भएको छ । त्यस्तै चन्द्रगढीमा १२०.२० मिलिमिटर वर्षा भएको छ । केचनामा ७३.६० मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा १४० मिलिमिटर वर्षा भए त्यसलाई चेतावनीको स्तर मानिन्छ ।
त्यस्तै कन्काई नदीमा जलसतह २.३६६ मि. पुगेको छ । ३.८ मि. पुगेपछि चेतावनी स्तर र ४.३ मि. पुगेपछि खतराको स्तर मानिन्छ । त्यस्तै बिरिङमा ११२.७९४ मि. जलसतह पुगेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए ।
सुख्खाग्रस्त मधेसको रोपाईमा सक्रियता बढ्यो
धेरै दिनको प्रतिक्षापछि सुरु भएको वर्षासँगै मधेश प्रदेशका किसान धान रोपाइँमा जुटेका छन्। लामो समयको खडेरीले सुक्खा भएको खेतमा हिल्याउन पुग्ने वर्षा भएपछि किसान धान रोपाइँमा जुटेका हुन् । पछिल्लो शुक्रबारदेखि दिनहुँ प्रदेशका सबैजसो स्थानमा वर्षा भइरहेको छ ।
धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोले लामो खडेरीपछि आएको वर्षाले खेतीमा ज्यान फर्काएको बताए । उनका अनुसार जेठ र असार महिनामा पर्याप्त वर्षा नभएकाले धान रोपाइँमा गम्भीर असर परेको थियो। उनले भने, ‘कसैले डिप बोरिङको सहायताले रोपाइँ गरेको भएपनि चर्को घामका कारण बिरुवा सुक्न थालेका थिए । तर हालको वर्षाले बालीलाई नयाँ जीवन दिएको छ ।’
महतोका अनुसार पछिल्लो वर्षा किसान र धानबालीका लागि अमृत समान बनेको छ । सिँचाइ अभावमा रोपिएको बाली सुक्ने अवस्था पुगेको थियो भने त्यससँगै किसानको मिहिनेत खेर जाने अवस्था आइपुगेको थियो । अहिलेको वर्षाले सबथोक बचाएको किसान महतोको भनाइ छ ।
ढल्केबरका अर्का कृषक रामएकवाल यादवले वर्षाले किसान उत्साहित देखिएको बताए । उनले भने, ‘जेठको पहिलो सातापछि वर्षा नहुँदा रोपाइँ रोकिएको मात्र होइन रोपिएको धान पनि सुक्न थालेको थियो।’ उनका अनुसार वर्षासँगै किसान धान रोपाइँमा व्यस्त भएका छन् ।
वर्षा नहुँदा मधेश प्रदेशमा धान रोपाइँ प्रभावित हुने अवस्था देखेपछि प्रदेश सरकारले मधेशलाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो भने सङ्घीय सरकारले तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्रको रूपमा सूचीकृत गरेको छ ।

Author

You may also like