कला/साहित्य/संस्कृति लेख

वैशाख शुक्ल पूर्णिमा तथा उभौली पर्वको महत्व

आज बैशाख शुक्ल पूर्णिमा । आज गौतम बुद्धको जन्म भएको दिन । गौतम बुद्धले ज्ञान प्राप्त गरेको दिन । गौतम बुद्धले महापरिनिर्माण (मृत्यु) प्राप्त गरेको दिन । आजभन्दा २५६८ वर्ष अघि प्राचीन कपिलबस्तु जिल्लाको लुम्बिनी भन्ने ठाँउमा पिता शुद्धोधन र आमा मायादेवीको पुत्ररत्नका रुपमा आजकै दिन जन्मिएका गौतम बुद्धलाई विष्णु भगवानको नवौं अवतारको रुपमा मानिएको छ । गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ गौतम हो । उनी भगवानको अवतार भएकोले जन्मने बित्तिकै सात पाईला हिडेको भन्ने विश्वास गरिन्छ । सिद्धार्थ गौतमले भारतको बोधगया भन्ने ठाँउमा कठोर तपस्यामा बसेको बेला महाज्ञान प्राप्त गरेकोले उनलाई गौतम बुद्ध भनिएको हो । गौतम बुद्धले प्रतिपादन गरेको बुद्ध धर्म एशियाका अधिकाश देशहरुमा मान्ने गरेकोले गौतम बुद्धलाई एशियाका तारा पनि भनिन्छ । गौतम बुद्धले दरबारको सुखसयल र पारिवारिक माया मोहलाई त्यागेर मानिसले कसरी सुख प्राप्त गर्न सक्दछ र मानिसको दुःखको कारण के हो ? भनेर खोजी गर्दै मानिसले कसरी शान्तिपूर्ण जीवन यापन गर्न सक्दछ भन्ने कुरा पत्ता लगाउन घर छाडेर हिडेका थिए । उनले यही बैशाख पूर्णिमामो दिन महाज्ञान प्राप्त गरेका थिए ।

यो बैशाख शुक्ल पूर्णिमालाई उभौली पर्व पनि भनिन्छ । यो उभौली पर्वलाई एउटा महत्वपूर्ण पर्वको रुपमा लिइएको छ । यो पर्वलाई ‘साकेला’ पनि भनिन्छ । किरात धर्मालम्बिहरुले यो पर्व धुमधामका साथ मनाउने गर्दछन । यो साकेला यही बैशाख पूर्णिमाबाट सुरु भएर एक महिनासम्म मनाइन्छ । यो पर्व सुरु भएको पहिलो दिन अर्थात बैशाख पूर्णिमाको दिन चण्डी नाच ( साकेला) नाच्ने चलन रहेको पाइन्छ । त्यसैले यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । अर्थात बैशाख शुक्ल पूर्णिमालाई चण्डी पूर्णिमा भनिन्छ । यो दिनदेखि चण्डी नाच सुरु हुन्छ ।

किरात धर्म मान्ने जातजातिहरुलाई यो चण्डी पूर्णिमाको ठूलो महत्व रहेको छ । यस दिनलाई ऋतुहरुको शुरुवात भएको दिन पनि भनिन्छ । अर्थात यो दिनलाई ऋतु परिवर्तनको संकेत दिने पर्वको रुपमा पनि मनाइन्छ । यो दिनलाई बाली लगाउने वा बाली रोप्ने दिनको रुपमा मानिन्छ । यो पर्व कृषियुगको सुरुवात देखि नै अन्न बाली राम्रो होस भन्ने उदेश्यले मनाउने गरेको हो । यो दिनलाई उभौली पर्वको रुपमा मनाइन्छ । यो पर्वमा बाली नालीका रक्षक भनेर प्रकृति, देवीदेवता र पृथ्वीलाई पूजा गर्ने गरिन्छ ।

यसरी नै उभौली पर्व जस्तै अर्काे पर्व उधौली हो । यो उधौली पर्वलाई बाली पाकेपछि बाली भित्र्याउने पर्वको रुपमा मनाइन्छ । यो उधौली पर्व मंसिर शुक्ल पूर्णिमाका दिनमा मनाउने गरिन्छ । ।

उभौली र उधौली पर्वको सम्बन्धमा केही मान्यताहरु रहेको पाइन्छ । विशेष गरेर पहाडी क्षेत्र र हिमाली क्षेत्रमा गोठ बनाएर गाईबस्तु पालन गर्नेहरुले गोठ सार्दा गोठमा पूजा गरेर मात्र गोठ सार्ने चलन रहेको थियो । जब वर्षा सुरु हुन थाल्छ गाईबस्तुको गोठ माथितिर वा उँभो लेकतर्फ सार्ने चलन रहेको थियो । त्यसबेला गोठपूजा गरेर मात्र गोठ सारिन्थ्यो । यो काम वैशाख पूर्णिमाका दिन गरिन्थ्यो । यही दिनलाई गोठ पूजा पनि भनिन्छ । यसरी नै जाडो मौसम सुरु भएपछि गाईबस्तुको गोठ उँधो तर्फ वा तल बेंशी तर्फ सार्ने गरिन्थ्यो । यो काम गर्नु भन्दा अगाडि गोठ पूजा गर्ने चलन रहेको थियो । गोठ पूजा मंसिर शुक्ल पूर्णिमाका दिन गरिन्छ । त्यसैले यस दिनलाई उधौली पर्व वा गोठ पूजा भनिन्छ । यो गोठ सार्ने चलन परम्परादेखि अहिलेसम्म चलिआएको पाइन्छ । साथै गोठ पूजा गर्ने चलन आज पनि चलिरहेको छ । आज पनि विभिन्न मठ मन्दिरहरुमा बैशाख शुक्ल पूर्णिमाको दिन गोठ पूजा वा गोठ धुप गर्ने गरिन्छ । पूर्णिमाको दिन गोठ पूजा गर्न सम्भब नभएमा पूर्णिमाको केही दिनपछि सम्ममा पनि गोठ पूजा गर्ने चलन रहेको पाइन्छ।

यो गोठ पूजालाई हिन्दुधर्मालम्बिहरुले पनि उभौली र उधौलीको रुपमा धुमधामसंग मनाएको पाइन्छ । अर्थात हिन्दु धर्ममान्नेहरुले गोठ पूजालाई एउटा पर्वको रुपमा मान्ने गरेको पाइन्छ । यो पर्वमा आफ्ना कुल देवताको पूजा गर्ने गरिन्छ । हिन्दुहरुले कुल देवता भनेर मष्ट देवताको पूजा गर्दछन् । यसरी नै यो गोठपूजामा आराध्यदेव महारुद्र र गैडूगोसाइँको पूजा गरिन्छ । किनभने महारुद्र पूजा बिधिमा नै उभौली, उधौली गर्ने, देवाली गर्ने र महारुद्र र गैडूगोसाइँको स्थान स्थापना गर्ने आदि कुरा उल्लेख गरिएको पाइन्छ । त्यसैले यो पर्वमा गाईबस्तु पालन गरेको स्थानमा पूजा गरेर आफुले पालन गरेका गाई, गोरु लगायत अन्य जनावरहरुको रक्षाका लागि पूजा गर्ने, धुप लाउने चलन रहेको पाइन्छ ।

यो बुद्ध जयन्तिको दिन भगवान गौतम बुद्धलाई पूजा गर्ने, बौद्ध गुम्बाहरुमा जाने, गौतम बुद्धको दर्शन गर्ने आदि कार्य गर्ने गरेको पनि पाइन्छ । हिन्दु वैदिक सनातन धर्म मान्नेहरुले यो बुद्ध जयन्तिका दिन पूर्णिमाको व्रत समेत लिने गर्दछन् । बुद्ध भगवान नारायणको अवतार भएकोले यो पूर्णिमाको दिन भगवान नारायणको पूजा गर्नु, भगवानको कुर्म अवतार र बुद्ध अवतारको पूजा गर्नु, आराधना गर्नु, जल दान गर्नु भनिएको छ । यो बैशाख महिनामा जल दान गर्दा वा पानी, सर्वत दान गर्दा ठूलो पुण्य प्राप्त हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । हुन त बैशाख महिनालाई नै उत्तम महिनाको रुपमा लिएको पाइन्छ । कतिपय मानिसहरुले वैशाख महिनाभर व्रत बस्ने, वैशाख माहात्मे सुन्ने, अन्न दान गर्ने, जल दान गर्ने गरेको पाइन्छ । त्यसमा पनि यो वैशाख पूर्णिमाको दिनलाई उत्तम दिनको रुपमा लिइएको छ । यसरी गौतम बुद्ध जन्मिएको दिन वैशाख पूर्णमालाई हेर्दा के भन्न सकिन्छ भने गौतम बुद्ध, बुद्ध धर्मका मात्र प्रवर्तक होइनन, गौतम बुद्ध एक महान गुरु हुन, एक महान दार्शनिक हुन्, एक कुशल शिक्षक हुन्, एक प्रवर्तक हुन्, एक पथपर्दशक हुन् । यस्ता बुद्धले मानिसलाई अहिसा, अधर्म र असत्यबाट जोगाउन धेरै नै ज्ञान दिएको पाइन्छ । हुन त शान्ति, अहिंसा, सत्यता र सरलताकालागि बुद्धलाई बिश्वले गुरु मानेको छ । यसका साथै आज पनि बिश्वले बुद्धका आदर्श र नियमलाई शिरोधार्य गरेको छ । बुद्धले मानिसलाई चार आर्य सत्यको बारेमा र अष्टाङ्गिक मार्गको बारेमा बताउनु भएको छ । बुद्धले यो ससारका मानिसलाई सधै सत्य बोल, अहिंसा नगर सधै सादा जीवन जिउने प्रयास गर भन्नु भएको छ । यसरी नै बुद्धले चार आर्य सत्यमा भन्नु भएको छ ‘यो ससारमा दुःखै दुःख छ, दुःखका कारणहरु छन् । ती दुःखको निवारण पनि छ, दुःख निवारणका लागि अष्टाङ्गिक मार्ग छ ।’ यसरीनै बुद्धले अष्टाङ्गिक मार्ग अन्तर्गत सम्यक दृष्टि, सम्यक सकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि गरी जम्मा आठवटा मार्गलाई अपनाउनु पर्छ भन्नु भएको छ । जस्ले बुद्धका यी चार आर्य सत्य र अष्टाङ्गिक मार्गको बारेमा राम्रोसंग बुझेर व्यवहारमा लागू गर्न सक्छ त्यो मानिस ज्ञानी बन्न सक्छ ।

हामी त्यस्तो देशमा जन्मिएका छौ, जुन देशमा जन्मिएका बुद्धले विश्वलाई ज्ञान बाँडीरहेका छन् । तर हामी भने आफनो व्यक्तिगत स्वार्थमा रुमलिरहेका छौं । हामीले बुद्धको बारेका, बुद्धले प्रदान गरेको ज्ञानको बारेमा कुनै चासो लिएका छैनौं । बुद्धले दिएको सत्यताको बाटोमा, अहिंसाको बाटोमा हामी हिँड्न चाहेका छैनौ । त्यसैले वर्तमान अवस्थामा हाम्रो देशमा बुद्ध जस्ता त्यागी महापुरुषको आवश्यकता रहेको छ । किनकि, यहाँ अहिले आफ्नो व्यक्तिगत स्वार्थकालागि मात्र काम गर्ने मानिसको संख्या दिन प्रतिदिन बड्दै गएको छ । जसरी बुद्धले रिस, राग त्यागेर शान्तिप्रिय जीवन बिताउन आग्रह गर्नु भएको छ, त्यसरी नै सबैजना शान्तिको बाटोमा जान सके देश विकास हुन जानेछ । बुद्धका उपदेश र बुद्धले दिएका आर्य सत्य र अष्टाङ्गिक मार्गलाई पालन गरौं । देशलाई आजको अराजक स्थितिबाट बचाउन पहल गरौं । देशमा शान्तिपूर्ण वातावरणको सृजनागर्नका लागि बुद्धका उपदेशहरुको पालन गरौं । सबै बुद्ध जस्तै त्यागी बनौं । बुद्ध जस्तै ज्ञानी बनांै । जय बुद्ध जयन्ति । जय उभौली पर्व ।

दमक ८, झापा

You may also like