लेख

यथार्थपरक कथा बोकेको चलचित्र ‘पूजार सार्की’

समाजमा बस्ने सबै मानिस एकै स्वभावका हुन्नन् । बेग्लाबेग्लै सोच र प्रवृत्ति बोकेका हुन्छन् । किनकि यो संसारमा जन्मेका प्राणीहरु मध्ये एक चेतनशील प्राणी हो मानव । उसैले मात्रै कुन सही, कुन गलत हो भनेर छुट्टयाउन सक्छ । यति जान्दाजान्दै आजको आधुनिक मानवहरुको सोचमा खिया लागेको देखिन्छ । गाउँ र समाजमा दानव प्रवृत्ति बोकेका मानवहरुको भिड बाक्लो छ । अर्काको देखासिकी गर्ने, को के खान्छ, के लाउँछ, कसो गर्छ, कहाँ जान्छ ? यस्तै चियोचर्चा गर्ने धेरै छन् हाम्रो समाजमा । को कुन जात, को कोसँग गयो ? अझै पनि यो जात यस्तो हो उनीहरूलाई छुनु हुन्न, घरभित्र पस्न दिनुहुन्न, छोएको पानी खानुहुन्न, बाटो काट्दा अगाडि बढ्न दिनुहुन्न साइत बिग्रन्छ भन्ने जस्ता संकीर्ण सोच बोकेका मानवहरुको भिड छ । बिहे बटुलो, ब्रतबन्ध, पुराण लगायतका अन्य धेरै कार्यक्रममा एकदमै सानो सोच राखेर घरभित्रसम्म पस्न नदिने उपल्लो दर्जामा हालिमुहाली गरेर बस्ने मानवहरुको कारणले आज कति जिल्लामा सानो या ठूलो जातका नाममा अशान्ति फैलिएको घटना हामीले देखे भोगेकै हो । तल्लो या माथिल्लो जात भनेर घृणा गर्नेहरुको सोच अझैपनि बललिन सकेको छैन । एउटा शिक्षित वर्ग जो जातीवादको पछि लागेर कदापि हिड्नु हुन्न भन्नेसम्म सोच छैन । बाहिर एउटा कुरा गर्यो, भित्र अर्को कुराको नाटक गरिरहनेहरु समाजका गोमन सर्प हुन् । उनीहरूको सोचलाई परिवर्तन गर्न सबैजना जुटौं भन्ने सम्म हुँदैनन् हाम्रो घरपरिवारमा । आखिर मानव हो काटे सबैको रगत रातै हुन्छ भन्नेसम्म थाहा हुँदा पनि मानवमा कुनै परिवर्तन आएको छैन । रुप, सार सबै बुझेर अघि बढ्ने कम छन् ।

हाम्रो देश नेपालमा अनेकौं सरकारी, एनजीओ, आइएनजीओ लगायतका संघसंस्थाहरुले जातीय हिंसा विरुद्धको अभियान चलाएर अरबौको खर्च गर्दासम्म टसकोमस कुनै परिवर्तन हुन सक्या छैन । परिवर्तन हुनपर्छ भनेर घरदेखि सदनसम्म आफ्ना आवाज बुलन्द गर्दासम्म कुनै गुन्जायसै छैन । हिजो एकदलीय शासनकालमा बरु जातीय द्वन्द थिएन । जब नेपालमा नयाँ शासन पद्धति आयो अनि भाडभैलो सुरु भएको छ । द्वन्दै द्वन्दले चौतर्फी हिंसा बढेको छ । आखिर किन बढ्यो ? अबको विकल्प के हो त ? यसलाई कसरी समाधान गर्ने भन्नेतर्फ सबैको ध्यान जानु अपरिहार्य छ । यस्तो जातीवादी हिंसा प्राय ः पूर्वको तुलनामा पश्चिम क्षेत्रमा बढी देखिन्छ । धामी, झाँक्री, बोक्सीको नाम राख्ने नाममा हिंसा बढदो छ । यस्तै – यस्तै यथार्थपरक घटनाबृतबाट नेपाली कथानक चलचित्रका कथा, पटकथा बनेका छन् ती कथाहरु मध्येको एक जीवन्त कथा हो नेपाली चलचित्र ‘पूजार सार्की’ को कथा । यो यसको मन छुने गीत – ‘हो रिमै, हा रिमै, आकाश राम्रो जुनताराले हो, धर्ती राम्रो जुनकिरीले हो, काठै खायो धमिरैले, मन खायो मनकिरीले हो’ हो । यो गीतको बोल र संयोजनले पनि यहाँ गाउँ र सहरका मानवहरुको भित्री मनको ब्यथा स्पष्ट पारिदिएको छ । यस चलचित्रले समाजको एउटा बेग्लै कथाब्यथा बोकेको छ । जातीय विभेद विरुद्धको कथावस्तुमा बनेको यो चलचित्रलाई ‘प्रकाश’ र ‘प्रसाद’ फेम्ड दिनेश राउतले निर्देशन गरेका हुन् भने विकास सुवेदीले कथा लेखेका हुन् । यो चलचित्रलाई सुवास भुसालले निर्माण गरेका छन् । किङ्गडम नेट्वर्कको ब्यानरमा बनेको चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गरेको छ । यसमा मुख्य भुमिकामा आर्यन सिग्देल, प्रदीप खडका, पल शाह छन् । मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विधा कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय देख्न सकिन्छ । नेपाली चलचित्र क्षेत्रमा देखिएका यी अनुहारहरुमा पुरानाहरु त बेजोड अभिनय देखाउने भएपनि नयाँ अनुहारहरु यहाँ थिएटरबाट आएका छन् । उनीहरूको भूमिका सशक्त छ ।

उपल्लो वर्गका जाति भनाउदाहरुले तल्लो जात भनेर हेर्ने सामाजिक दृष्टिकोण भने यहाँ पृथक देख्न सकिन्छ । त्यो कलाकारको अभिनयले पनि स्पष्ट रूपमा देखाएका छन् । यो जात, उ जात भनेर उत्पीडनमा पारिरहने ढोंगी मानिस अहिले पनि यत्रतत्र छरिएर बसेका छन् । उनीहरूलाई जति प्रशिक्षण दिएपनि हुन्न यहाँ । उनीहरू कुनै न कुनै बहानामा समाजमा हिंसा फैलाउन चाहन्छन्, समाजलाई बिखण्डण गर्न चाहन्छन् । यस्ता ब्यक्तिहरुको विरुद्धमा यहाँ अन्तरजातीय प्रेम सम्बन्ध देखाइएको छ । पृष्ठभूमिमा रेडियो नेपाल बजिरहेको दृश्यबाट टिजरको सुरुवात भएको देखाइएको छ भने जहाँ २०४६ साल भनेर भनिएको छ । अर्थात चलचित्रको कथा जनयुद्ध भन्दा अगाडिको देखिन्छ भने प्रदीप खडका दमाहा बजाउँदै प्रस्तुत छन् । आर्यन सिग्देललाई डोलीमा चढाएको दृश्य देख्न सकिन्छ । उनको हुलियाले ५ जारीको स्पष्ट संकेत गर्छ । प्रदीपको परीक्षासँग र आर्यनको अन्जनासँग आँखा जुधेको दृश्यलाई पनि टिजरमा बुनिएको छ । अर्को दृश्यमा भने आर्यन र प्रदीपलाई गाउँलेहरुले लखेटेको स्पष्ट देख्न सकिन्छ । यहाँ पल शाह भने टिजरमा क्रान्तिकारी शैलीमा प्रस्तुत छन् । उनले बन्दुक ताकिरहेका छन र उनले पड्काएपछि निर्देशकको नाम आउँछ, यसले पनि के देखाउछ भने यहाँ उभ्याइएका पात्र र उनीहरूको प्रवृत्ति ०४६ सालको आन्दोलनको प्राप्ति र उतिबेलाको सशस्त्र द्वन्दको रापले पनि नेपालमा विभिन्न जाति जनजातिको हक र अधिकार अहिलेसम्म सुनिश्चित भएको छैन है भन्ने देखिन्छ । छुवाछूत, देउकी, छाउपडी, दाइजो प्रथाको अन्त्य गर्दै अन्तरजातीय वैवाहिक प्रथालाई समेत स्वीकार गर्न नसकेको मस्तिष्क अहिले पनि हाम्रै समाजमा अन्धबिश्वास फैलाउन उद्दत छ भन्ने प्रष्ट रूपमा देख्न सकिन्छ । यहाँ पात्रहरुले कथा अनुसार पस्तुत गरेका भावहरुमा के देख्न सकिन्छ भने टिजरको अन्तिममा प्रदीपले पूजार पात्रसँग सोधेका छन कि – ‘शास्त्र पढे बाहुन भइन्छ ?’ यो शब्दले चलचित्रको कथासार सबै प्रष्ट पारिदिएको छ । भन्ने गरिन्छ नि कथित तल्लो र उपल्लो जातका पात्रको संघर्षमा चलचित्र आधारित रहेको पात्र र तिनका बेग्लाबेग्लै प्रवृत्तिले पहिचान गरेकोले पनि यो चलचित्र एउटा समाजको प्रतिबिम्ब हो । जसलाई हामी जस्ता शिक्षित युवाहरुले जातजातिको नाममा आएका अनेक खालका टिकाटिप्पणीहरुलाई जरैदेखि छाँटकाट गर्न सक्नुपर्छ भन्ने शिक्षा यो चलचित्रले औंल्याएको छ । यसकारण हामी चेतनशील मानवको नाताले पनि फराकिलो सोच राखेर यो, त्यो, उ, उनीहरू भनेर जातजातिको विरोध नगरौं । सभ्य समाजको परिकल्पना गर्नका निम्ति होस्टेमा हैंसे गर्दै अधि बढौं । समाजमा देखिएको बिकृति र विसंगतिको भण्डाफोर गरौं । सभ्य र भब्य समाज निर्माणका लागि हातेमालो गर्दै अघि बढौं । हामी मिले देश बन्छ, हामी फुटे देश बिखण्डनतिर लाग्छ । त्यसैले सम्पूर्ण नेपालीहरु एकताको सूत्रमा बाधियौं ।

Author

You may also like