दमक/ फागुन २१ नजिकिँदै जाँदा राष्ट्रिय राजनीतिको केन्द्र बनेको झापा क्षेत्र नं. ५ मा चुनावी रौनकले तातेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह यसै क्षेत्रबाट चुनाव लड्दैछन् । यहाँको गल्ली–गल्ली, चौक–चौकमा बिहानदेखि बेलुकीसम्म चुनावी चर्चा गुञ्जिन थालेका छन् । उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् भने कार्यकर्ता र समर्थकहरू सामाजिक सञ्जालमार्फत मत तान्ने दौडमा छन् । राजनीतिक दलका झण्डा फर्फराउन आतुर भए पनि आचारसंहिता लागु भइसकेकाले प्रचारमा संयमता देखिएको छ । फागुन ४ गतेदेखि झण्डासहितको प्रचार सुरु गर्न उम्मेदवारहरू तयारीको अन्तिम चरणमा छन् । यसै क्रममा धेरैजसो उम्मेदवार मतदातामाझ पुगिसकेको अवस्थामा झापा ५ कै केही दलका नेताहरुलाई यो निर्वाचनलाई कसरी लिनु भएको र तपाईको चुनावी अभियान कसरी अघि बढेको छ भन्ने एकै प्रश्न राखेका थियौं, त्यही प्रश्नको जवाफ यहाँ प्रस्तुत गरिएको छ ।
á यसैसन्दर्भमा नेपाली कांग्रेसकी उम्मेदवार मन्दरा चिमरिया भन्छिन–“महिलाको नेतृत्व अब विकल्प होइन, आवश्यकता हो । गाउँ–गाउँमा चुनावी अभियानमा उत्साहपूर्वक जुटेका छौं । “गाउँगाउँमा महिलाहरूले मलाई आफ्नी छोरी, दिदी, बहिनीको रूपमा साथ दिइरहनु भएको छ । यो उत्साहले मलाई अझ जिम्मेवार बनाएको छ ।” अहिलेको कांग्रेस पुरानो होइन—परिवर्तनशील कांग्रेस हो भन्ने भावना सबैतिर देखिएको छ ।
“विशेष महाधिवेशनबाट कांग्रेसमा देखिएको विगतको गुट समाप्त भएको छ । महिला र युवाको प्रतिनिधित्व गर्ने नयाँ पुस्ता नेतृत्वमा आएको छ । महिला र बालबालिकाको क्षेत्रमा सुधार ल्याउन मेरो उम्मेदवारी केन्द्रित छ ।” तसर्थ सबै कार्यकर्ता एक भएर विजयी बनाउन जुटेको छौ । गाउँ क्षेत्रमा मतदाताको समर्थन सहरभन्दा ग्रामिण क्षेत्रमा बढी देखिएको छ । “परिवर्तित कांग्रेसप्रति मतदाताको भरोसा बढेको छ, । “यो उत्साह नै जितको संकेत हो ।”
á यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रञ्जित तामाङ भन्छन– “यो चुनाव निराशा बदल्ने अवसर हो । यो निर्वाचनलाई मुलुकको राजनीतिक संकटको निकासका रूपमा हेरेको छु । “यो स्वाभाविक चुनाव होइन, प्रणाली सुधार र जनताको निराशा आशामा बदल्ने अवसर हो । यो पटकको चुनाव विकास, नीति निर्माण र शासकीय सुधार केन्द्रित हुनुपर्छ । “जनताले अब पुराना अनुहार होइन, नयाँ सोच, नयाँ नेतृत्व चाहेका छन । “म झापा–५ का सबै बस्ती पुगेको छु, जनताको हरेक घरमा मेरो कार्यक्रम पुगेको छु ।” आफू यही माटोमा हुर्किएको, यहाँको हावापानी र समस्या बुझ्ने उम्मेदवार हुँ । “हिजो पनि, आज पनि, भोलि पनि यो समाजको अंग भएर सेवा गर्ने मेरो प्रतिबद्धता हो ।
á यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार लक्ष्मीप्रसाद संगौला भन्छन– “देश र धर्म बचाउने शक्ति राप्रपा नै हो । हामी अहिले वडास्तरीय भेटघाटमा व्यस्त छौं । “यो व्यवस्था असफल भईसकेको छ । अब निकास संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माध्यमबाट मात्रै सम्भव छ । देश दुई धारमा बाँडिएको छ । एक गणतान्त्रिक धार, अर्को राष्ट्रवादी धार । “गणतान्त्रिक धार विदेश शक्तिसँग मिलेर चलिरहेको छ भने राष्ट्रवादी धार देश र जनताको पक्षमा उभिएको छ । राप्रपा जनताको पीडा बुझेको राष्ट्रवादी शक्ति हो । आचारसंहिताको पूर्ण पालना गर्दै जनताको घरदैलोमा पुग्ने अभियान चलाइरहेका छौं । भ्रष्टाचार नियन्त्रण, धर्म रक्षा र राष्ट्रिय स्वाभिमान हाम्रो प्रमुख एजेण्डा हो । जनभावना अब राप्रपातर्फ फर्किंदैछ ।”
á यसैगरी, श्रमसंस्कृति पार्टीका उम्मेदवार समिर तामाङ भन्छन– “नेता होइन, भुइँमान्छे संसद्मा पुगोस् भन्ने चाहना हो । भुइँमान्छेको आवाज बनेर संसद्मा पुग्ने लक्ष्यका साथ अघि बढेको छु । नेता जितिरहने र जनता हारिरहने परम्परा अब अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता हो । हामी किसान, मजदुर र विदेशिएका युवाको पक्षमा उभिएका छौं । कालापानी– दार्चुला हुँदै दोधारा चाँदनीसम्म पुगेर धरान आएको हुँ । धरानबाट शान्ति र अमनचयनका लागि खाली खुट्टाले ६८ किलोमिटर दुरी पार गरी झापाको क्षेत्र नं. ५ पुगेर उम्मेदवारी दर्ता गरेको छु । “यो देश माटोबाट जन्मिएको श्रमको देश हो । म त्यही माटोको प्रतिनिधि हुँ । “लोकतन्त्र र सार्वभौमिकता जोगाउन श्रमसंस्कृति पार्टी प्रतिबद्ध छ । कमल गाउँपालिकादेखि दमकका वडासम्म घरघर पुगेर जनताको भावना सुनेको, दुःख देखेको छु ।
á जनमत पार्टीका उम्मेदवार अमृतलाल महतो भन्छन– पद, शक्ति र लाभको उम्मेदवारी नभएर न्याय, सुशासन र पीडितको पक्षमा उम्मेदवारी दिएको हुँ । किसान र बेरोजगारका पीडा समाधान मेरो प्राथमिकता हो” निर्वाचनलाई जनसेवाको अवसरका रूपमा लिएको छु । निर्वाचन लोकतान्त्रिक बाटो हो । जनताको पीडा बुझ्ने, समस्या समाधान गर्ने जिम्मेवारी लिने समय पनि यही हो । पुराना दलहरूले जनताको भरोसा तोडेका छन्, अब वैकल्पिक नेतृत्वको समय आएको छ । “किसानका समस्या, रोजगारीको संकट र युवाको भविष्य सुनिश्चितलगायत यहाँका शिक्षा, स्वास्थ्य, सुकुम्बासीसहित धेरै समस्या समाधानार्थ चुनावी अभियानमा उभिएको हुँ । जनताले भरोसा गर्नुभयो भने इमान्दारपूर्वक काम गरेर देखाउनेछु । गाउँ–गाउँमा घरदैलो अभियान चलिरहेको छ । पहिलो चरण ग्रामीण बस्तीमा केन्द्रित छु । यता सकेर सहरतिर अभियान प्रवेश गराउने सोच बनाएको छु ।