नेपालको धमिलो भु राजनीतिको आरोह अवरोह बाट उन्मुक्ति दिलाउन जुर्मुराएका राजनीतिक दलहरूले विकासको नयाँ उचाइको कोल्टे फेर्ने वा अस्थिरताका बहुआयामिक संकटहरू निम्त्याउँदै देशलाई अस्थिरताको झन् गहिरो खाडलमा पु¥याउन सक्ने कुरा भ्रम मात्र हो कि वास्तविकता हो ,नेपाली जनताले स्वयं बुझ्नु र प्रस्ट्याउनु जरुरी छ। प्रतिनिधि सभाको लागि निर्वाचन गराउने कार्यको जिम्मेदारी वहन गरेको जेन जी विचार पक्षधर मानिएकी अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई ब्रिफिङ गरेपछि यही फाल्गुन २१ गतेका दिन फागु पूर्णिमाको ठिक्क एक दिन अगाडि चुनाव गराउन निर्वाचन आयोगले सहमति गराएर सूचना गरेपछि देश भित्र शान्तिपूर्ण चुनावको लागि वातावरण बन्दै गएको देखिन्छ।अहिले नेपाली जनता हौसिएका छन र,निर्वाचनमा भाग लिनका लागि जुर्मुराउन थालेका छन् । गाउँ गाउँ र शहर शहरमा चुनावको सरगर्मी बढेको छ। उम्मेदवारहरूका बयानहरू सोसल मिडियाहरूमा आउन थालेको छ। दलहरूसँग सम्बन्धित नेता र कार्यकर्ताहरू हुलका हुल गाउँ पस्न थालेका छन्।चुनावी महाभारतमा राजनीतिका पुरानो पुस्ताका दिग्गज र धुरन्धर खेलाडीहरूका साथै नयाँ पुस्ताका नयाँ राजनीतिक भिजन र विचार बोकेका उत्साही राजनीतिकर्मीहरु पनि जनता माझ आफ्नो नयाँ पहिचान बनाउन आतुर देखिएका छन् ।
राजनीतिका पुरानो पुस्ताका खारिएका नेतृत्वहरुले देशका आम मतदाता,जनता र युवाहरुको आशा र अपेक्षालाई निरन्तरता दिंदै आफ्नो सक्रियता देशको लागि आवश्यक रहेको र पुरानो पुस्ताका नेताहरुको राजनीति गर्ने जोश र जाँगरहरूहरू अझै आउट अफ डेट हुन न सकेको कुराहरुलाई जनतामाझ लगिरहेका देखिन्छन्, भने नयाँ जेनजी पुस्तालाई नेतृत्व गर्दै नेपाली राजनीतिमा आफ्नो व्यापक प्रभाव र वर्चस्व स्थापित गराउने उद्देश्यले नेपालको राजनीतिमा उदाएका नयाँ नेतृत्व वर्गहरूले राजनीतिमा नयाँ विमर्श र नव युगको जग हाल्ने र देशलाई अझ उचाइमा पुर्याउने तथा देशका जनतालाई सम्मानपूर्वक बाँच्न दिने र सुरक्षित तरिका बाट जीवन यापन गर्न दिने प्रतिबद्धताका साथ जनतामा गएर जनताको बीचबाट आफ्नो समर्थन जुटाउने प्रयासमा संलग्न भइरहेका देखिन्छन्।
लोकतन्त्र एउटा यस्तो समाज व्यवस्था र राजनीतिक परिपाटी हो, जसमा आफूलाई चिनाउन न त राजालाई श्री पेच र राजमुकुट चाहिन्छ, नत देशका नेताहरुले आफूलाई चिनाउन पड्का पड्काउँदै , झिरझिरे बाल्दै, झण्डा र पताकाले सजिएर जनताका बीच जानुपर्दछ। उनीहरुले देशको भलो गर्न के के काम गरेका रहेछन् त्यसैको आधारमा उनीहरूले गरेका कर्महरूले नै उनको परिचय दिन्छ र जनताले उनीहरूको कर्मफलको आधारमा उनको मूल्यांकन गर्दछन्। राम्रो काम गर्नेलाई फूलको माला लगाएर स्वागत गर्ने र नराम्रो काम गर्नेलाई विरोध गर्ने लोकतन्त्रको मूल्य र मान्यता नै हो। लोकतन्त्रमा जनताले आफ्नो मुखमा बुजो लगाएर मुख थुनी बसिरहन सक्दैनन्। चोरलाई चौतारो र साधुलाई सुली चढाउने नेता र विचारकहरु प्रति जनता सधैं विरोध र असहयोगको नीति नै अङ्गाली राखेका हुन्छन्। चोरलाई चौतारो र साधुलाई सुली हुने बित्तिकै जनता स्वतःस्फूर्त रुपमा अगाडि आउँछन र देश बिगार्ने तथा काम बिगार्ने नेताहरूको असली हैसियत बताइदिन्छन्। लोकतन्त्रमा मतदान गर्नु एउटा यस्तो पवित्र कार्य हो हो जस बाट जनता जनार्दनले एकै छिनमा दुधको दूध र पानीको पानी गरी छुट्याएर जनादेश दिन सक्दछन् तथा सत्य र यथार्थ कुराको निरूपण गर्न सक्दछन्।
कुन दलका कुन मान्छे राम्रो र कुन दलको कुन मान्छे नराम्रो हो भन्ने कुराको निरूपण उनीहरूले निर्धक्क भएर खुलस्त रुपमा जोसुकैसँग गर्न सक्दछन्।जनताका अगाडि गरेका वाचाहरु र प्रतिबद्धताहरू बाट जस्तोसुकै नाम चलेका पाखुरा सुर्काउने नेताहरूले पनि उम्किन पाउँदैनन्। नेताहरूले देशका लागि गरेका कामहरू प्रष्ट रुपमा जनताले अनुभूत गरेको र देखेको हुनु पर्दछ।समयको हाँक अनुसार नेताहरूले देशलाई चलाउने र जनताको पिर मर्काहरू बुझ्ने कामहरू गर्न जनताको सेवक भएर कार्य गर्नुपर्दछ। निर्वाचन नै एउटा यस्तो विधा हो, जहाँ जनताले उम्मेदवार हरूलाई शून्यबाट शिखरमा पु¥याउन सक्दछन् र शिखरमा पुगेका व्यक्तिहरूलाई शून्यमा झार्न सक्दछन्। त्यही भएर जनतालाई जनार्दन भन्ने गरिन्छ। यो लोकतन्त्रको विशेषता हो। त्यसकारण लोकतन्त्रमा आवधिक निर्वाचनलाई अति महत्वका साथ हेरिने गरिन्छ। अहिले नेपालको गाउँ गाउँ र सहर सहरमा चुनावको लहर चल्न थालेको छ। नेपालको बहुजातीय र बहुसांस्कृतिक बहुधार्मिक तथा बहुल आयामिक सामाजिक विशिष्टता भएको जनसांख्यिक भूबनोटमा नेपालको सर्वोच्च लोकतान्त्रिक जनप्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाका लागि देशैभरि एकै चरणमा आम चुनाव गराउने तयारीका साथ निर्वाचन आयोगले पुरै सतर्कताका साथ तयारी सुरु गरिसकेको छ। राजनीतिक दलहरू आफ्ना आफ्ना मुद्दाहरू र सवालहरू बोकेर गाउँ सहर पुग्दै कुना काप्चासम्मका मतदाताहरूको घरदैलो चहार्न थालेका छन्।
मतदाताहरूको मनस्थिति बुझ्न र आआफ्ना पक्षको चुनाव चिन्हमा भारी मतदान गर्न लगाई निर्वाचन जित्ने मनसायका साथ उम्मेदवारहरु घरदैलो र सार्वजनिक जुलुसहरु तथा रैलीहरु गरेर आफ्नो दलको पक्षमा जनतालाई रिझाउने र तान्ने प्रवृत्ति दिनुहूं बढ्न थालेको छ। उम्मेदवारहरूले डिजिटल प्रविधिबाट मतदाताहरूलाई प्रभावित पार्ने र मतदाताहरू सम्म पहुँच बढाउने कार्यहरू लगातार बढाउन थालेका छन। उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष रूपमा भेटेर नै आफ्नो पक्षमा जनलहर पैदा गराउने अभियान पनि चलाउन थालिसकेका छन् ।जनताहरुले प्रश्नमाथि प्रश्न तेस्र्याउँदै चुनावमा उठेका उम्मेदवारहरूको लागि सहज वा असहज हुने मनस्थितिहरु पनि तयार गरिसकेका देखिन्छन्। एकातिर नेपालको गणतान्त्रिक इतिहासमा लामो समयसम्म शासनसत्ता सञ्चालन गरेका राजनीतिक दलहरू चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिने प्रयासमा जुटिरहेका देखिन्छन् भने अर्कोतिर नयाँ वैकल्पिक राजनीतिक शक्तिको रुपमा पहिचान बनाउने राजनीतिक दलहरूले विगतका सरकारहरूले आफ्नो सत्ता टिकाइ रहन जनतालाई ढाँटेको र परिवारवाद नातागोतावाद लाई प्रोत्साहन दिँदै भ्रष्टाचारलाई मलजल गरेको तथा देशलाई अस्थिरता तथा अन्योल र अराजकता र अशान्तिको खाडलमा पु¥याएको आरोपहरू लगाइरहेका भेटिन्छन्।
निर्वाचन सम्बन्धी सबै कार्यहरू निर्विघ्न रूपमा पूर्ण हुँदै गयो भने फाल्गुन पूर्णिमा सकिने लगत्तै देशले संसदको लागि नयाँ प्रधानमन्त्री र नयाँ सरकार गठन गर्ने अवसर प्राप्त गर्नेछ। निर्वाचनको ढोका देशका सबै दल र सबै विचारका मानिसहरूको लागि खुला खुल्ला गरिएको भएतापनि अहिलेसम्म देशको प्रमुख राष्ट्रिय मुद्दा र राष्ट्रिय सवालहरूलाई उठाउन जनप्रतिनिधिहरू नै अनकनाइरहेको देखिन्छन्। विभिन्न दलहरूबीच चुनाव लड्न साझा गठबन्धनहरू तयार गरिए पनि उनीहरूले साझा रणनीति तयार गरेर देशभित्रका जल्दो बल्दो आर्थिक, सामाजिक ,राजनीतिक र प्रशासनिक मुद्दाहरूलाई जनताको अगाडि खुला भएर राख्न सकिरहेका देखिँदैनन्। समय अगावै संसद भङ्ग गर्न लगाई देश किन चुनावमा होमिनुपरेको हो भन्ने कुरामा सरोकारवाला दलहरूले यथार्थ सत्य तथ्यलाई कता कता लुकाउन खोजिरहेको जस्तो देखिन्छन।
हरेक १०÷१० वर्षको अन्तरालमा देशलाई नै आगो लगाउने र खरानी बनाउने संस्कृति तथा संस्कारको बीजारोपण र पृष्ठपोषण कसरी हुन गयो भन्ने कुरामा चिन्तन गर्नु जरुरी छ। के साँच्चै देशको संघीयता कमजोर छ। के साँच्चै देशका प्रादेशिक तहहरूको संरचना बनाउन गल्ती गरिएको छ वा यसमा अझै सुधार गर्नुपर्ने कुनै आवश्यकता नै छैन। के संविधानमा संशोधन गरेर यसलाई अझ व्यावहारिक र परिस्कृत बनाउन सकिँदैन भन्ने कुराहरूबारे विमर्श चलाउनु जरुरी छ।के सधैँ गोबर र गुइठा बालेर जीवनयापन गर्ने उत्पीडित भूगोलका सीमान्तकृत गरिब मधेसीहरु र अन्य विपन्न समुदायहरू तथा तथा भूईतहमा रहेका समावेशी हुन खोजिरहेका अन्य जातजाति र संस्कृतिहरूलेले काठमाडौँकै मुख ताकेर बस्नु जरुरी छ, नेपालमा बेलाबेला चर्किने गरेको नारा नेपाललाई हिन्दू राष्ट्र बनाउ, राजा आउ देश बचाउ, प्रधानमन्त्री प्रणाली वा राष्ट्रपति प्रणाली भन्ने जस्ता अनेकौं मुद्दा र सवालहरूमा बहस चलाउनुपर्ने र गम्भीर भएर मनन गर्नुपर्ने आवश्यकता रहेको छ। निर्वाचनमा व्यक्ति र दलको छनौट गर्नु मात्र निर्वाचन होइन, यो मुद्दा र सवालहरूको पनि निर्वाचन हो। संविधानलाई दिगो र टिकाउ बनाउन के के कुराहरू सच्याउनु पर्दछ । दलहरूले उठाउन खोजिरहेका मुद्दाहरू जनताबीच आउनुपर्दछ। जनताले उठाइरहेका सवालहरू जनप्रतिनिधिहरूले बुझ्नुपर्दछ अनि मात्र देशले निर्वाचन पश्चात एउटा टिकाउ विकास प्रेमी र भरपर्दो राजनीतिक दक्षता र कुशलता भएको लोकप्रिय सरकार पाउने बलियो सम्भावना रहन्छ। नेपालमा अब आउने नयाँ सरकारका धेरै विकल्पहरू मध्ये ओली, प्रचण्ड, गगन र बालेन शाह वा अरु नै कोही अन्य उपयुक्त विकल्प हुन सक्छन भन्ने कुरामा जनताले खुल्ला मन र मस्तिष्कले चिन्तन गरी विचार पु¥याउनु जरुरी छ ।