दमक । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक जनताको नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाको छानबिन निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगबाट गरिने बताएका छन् । बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटनाका वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।
प्रधानमन्त्री शाहले सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य निकायहरूलाई निर्देशन दिइएको जानकारी गराए ।
प्रधानमन्त्री शाहले घटनाको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिइएको जानकारी दिँदै कुनै पनि व्यक्ति वा समूहलाई कानुनभन्दा माथि नराखिने बताए । अनुसन्धान प्रक्रियामा कुनै राजनीतिक वा अन्य कुनै प्रकारको प्रभाव पर्न नदिइने उनको भनाइ थियो ।
उनले सरकारले कानुनी शासन, सामाजिक सद्भाव र नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही गरिने दोहो¥याए । न्यायिक प्रक्रियामा कुनै सम्झौता नगर्ने सरकारको प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
प्रधानमन्त्रीले घटनाका विषयमा भ्रम र अफवाह फैलाउने गतिविधिबाट टाढा रहन नागरिकलाई आग्रह गर्दै अनुसन्धान प्रक्रिया सम्पन्न नभएसम्म संयमित हुन सबै पक्षलाई अपिल गरे । सत्यतथ्यका आधारमा न्याय सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहो¥याउँदै उनले सामाजिक एकता, धार्मिक सद्भाव र शान्ति कायम राख्न सबैको सहयोग आवश्यक रहेको बताए । शाहले नेपाली र मैथलीमा ४ मिनेट बढीको वक्तव्य दिएका थिए ।