दमक । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय तहहरुमा बजेट तर्जुमा तथा राजश्व परिचालन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिरहेको छ ।
दुई वा तीन जिल्ला मिलाएर नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहभागितामा मन्त्रालयका बजेट तर्जुमा सम्बन्धित पदाधिकारीबीच गरिएको अन्तरक्रिया प्रदेश १ का ६ स्थानमा तय भएको थियो । जसमध्ये झापा र इलामलाई मिलाएर बुधबार इलामको फिक्कलमा तथा पाँचथर र ताप्लेजुङलाई मिलाएर फिदिममा कार्यक्रम सम्पन्न भए । यसअघि संखुवासभा र भोजपुरलाई मिलाएर भोजपुरमा तथा ओखलढुंगा, खोटाङ र सोलुखुम्बुलाई मिलाएर रुम्जाटारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेका छन् । अब तेह्रथुम र धनकुटालाई मिलाएर एक ठाउँ तथा मोरङ, सुनसरी र उदयपुरलाई मिलाएर अर्को ठाउँमा कार्यक्रम गरेपछि १ नं. प्रदेशका पूरै स्थानीय तहका जिम्मेवार व्यक्तिहरुसँगको अन्तरक्रिया सम्पन्न हुने आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बताएको छ ।
फिक्कलमा आयोजित कार्यक्रममा सभापतित्व गरिरहेका मन्त्रालयका सचिव उत्तरकुमार खत्रीले सुशासन, पारदर्शिता र विकासको उद्देश्य बोकेका तपाई हामीबीचको छलफलले राम्रो परिणाम तय गर्दै बजेट तर्जुमाका लागि हामीलाई मार्गदर्शन समेत हुनेछ । सम्भावना भएर पनि सदुपयोग हुन नसकेका क्षेत्रहरु धेरै छन् तिनलाई पहिचान गर्दै राजश्व बृद्धि गरौं, छलफलमा खुलेर कुरा राखौं । प्रदेशका कमि–कमजोरीलाई सुझावका रुपमा लिनेछौं । स्थानीय तहका समस्याहरु समाधान गर्न प्रदेशको क्षमताले नभ्याए केन्द्रमा कुरा पु¥याउनेछौं भनेर शुरुमै बिफ्रिङ गरेपछि सहभागीहरुबाट आ–आफ्नो क्षेत्रको विकासका समस्या, बजेटको अभाव कानुनी अड्चन लगायत कतिपय बजेट संस्थागत नभई व्यक्तिको प्रभावमा आएकाले सही सदुपयोग नभएका जस्ता कुरा उठाएका थिए । कार्यक्रममा प्रदेश कोष नियन्त्रक दामोदर खत्रीले वित्तीय व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने महाशाखा प्रमुखहरु पंकज भुर्तेलले बजेट तर्जुमा सम्बन्धी र गोविन्दराज आचार्यले स्रोत परिचालन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । सोही अवसरमा आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री टंक आङ्बोहाङ लिम्बु र प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलको उपस्थिति रहेको थियो ।