देश–समाज समाचार स्थानीय

राजनीतिक समीकरणको तरङ्ग कोशी प्रदेशमा : मुख्यमन्त्रीमा कार्कीकै निरन्तरता

दमक/प्रदेश सरकार फेरबदलको राजनीतिक समीकरणको तरङ्ग कोशी प्रदेशमा प्रवेश गरेको छ । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा विकसित हुँदै नयाँ राजनीतिक समीकरणको जोड घटाउको श्रृङ्खला कोशी प्रदेशमा प्रवेश गरेको हो ।
एमालेले पाएको कोशी प्रदेशमा वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई नै निरन्तरता दिने पक्का भएको छ । ओली निवास गुण्डुमा बिहीबार भएको शीर्ष नेताहरूको बैठकमा कार्कीलाई नै निरन्तरता दिने निर्णय भएको एमाले श्रोतले जनाएको छ ।
उता एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने पक्का भएपनि सो पार्टीले आधिकारिक निर्णय लिन भने सकेको छैन । प्रदेश सभाका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले भने आन्तरिक छलफललाई तीव्रता दिएका छन् । कांग्रेसले केन्द्रसँग छलफलका लागि कोशी प्रदेश सभा संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धव थापा र केन्द्रीय सदस्य अमृत अर्याललाई जिम्मेवारी दिइसकेको भएपनि एमालेले काँग्रेससँगको सहकार्य टुटिसकेको र नयाँ समिकरणको तयारी भइसकेको छ ।
एमालेका सचिवसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समिकरण बदलिएपनि मुख्यमन्त्री परिवर्तन नहुने र आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेशकुमार बस्नेतले पार्टीको केन्द्रीय नेतृत्वलाई कोशी प्रदेशको गम्भीर अवस्थाबारे सचेत गराएको बताए ।
नयाँ राजनीतिक परिस्थितिमा कोशी प्रदेशमा वामपन्थी गठबन्धनको सरकार बन्ने सम्भावना बढेको पूर्वमुख्यमन्त्री समेत रहेका नेकपाका नेता राजेन्द्रकुमार राईले बताए । उनले भने तर, अहिले शिर्ष नेताहरुको सहमति अनुसार नै एमाले र नेकपाविच सहयकार्य गरेर कोशी प्रदेश सरकार पनि गठन हुन्छ ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच भएको तीन बुँदे सहमतिलाई लिएर दुवै पार्टीमा असन्तुष्टि बढेका कारण प्रदेश सरकार गठनमा समस्या देखिदै आएको छ । विगतका कमी–कमजोरीको गम्भीर समीक्षा नगरी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता स्वार्थ केन्द्रित सहमति गरेको भन्दै दुवै पार्टीमा असन्तुष्टि बढेको देखिन्छ ।
साउन ९ गते भएको सहमति अनुसार एमालेले कोशी, बागमती, लुम्बिनी प्रदेश र नेकपाले सुदूरपश्चिम, कर्णाली प्रदेश सरकारको नेतृत्व लिने सहमति भएको थियो । यसैगरी मधेस र गण्डकी प्रदेश सरकार गठन सम्बन्धमा अन्य पार्टीसँग परामर्श गर्ने सहमति भएको थियो ।
कोशी प्रदेशको कुल ९२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक छ । नेकपा एमाले र नेकपा गठबन्धन बन्दा कोशी प्रदेशमा सहज बहुमत हुन्छ । कोशीमा हाल कायम सांसद
संख्या ९२ छ, जसमा एमालेको ४० र नेकपाको १७ गरी ५७ सांसद छन् । यो समीकरण अन्तर्गत यहाँ स्पष्ट र बलियो बहुमतको सरकार बन्ने देखिन्छ ।

Author

You may also like