दमक/ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू संघीयता विरोधी नभएको र जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सदैब सम्मान गर्ने बताएका छन् ।
मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूबीच भएको छलफलमा उनले भने– ‘म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु’ ।
संघीयताका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले आफू संघीयताको विरोधी नभएको स्पष्ट पारेका हुन् । उनले ‘संघीयताका पक्षमा आफूले बोलेको कुरा पूरा गर्ने बताएका छन् । संघीयता विरोधी नसोच्न आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा भएको उच्चस्तरीय बैठकमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, रामकुमार शर्मा, प्रभु साह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउत लगायत मधेस क्षेत्रका विभिन्न दलका शीर्ष नेताहरूको सहभागी थिए ।
हालै सुनसरीसहित मधेशका विभिन्न ठाउँमा भएका घटनापछि शुक्रबार बिहान प्रधानमन्त्री शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशमा सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीले सक्रिय पहल लिनुपर्ने विषयमा बैठकमा कुराकानी भएको जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री बालेनले के के भने ?
१. मलाई संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुहोला । लोकतन्त्र र संविधानप्रति पूर्ण इमान्दार र बफादार छु ।
२. चार पाँच दिनसम्म प्रधानमन्त्री किन बोलेन नभन्नुहोला राज्यका सबै संयन्त्र खटाएर अनुसन्धान भइरहेको थियो ।
३. नेपाल सबैको साझा फूलबारी हो । संघीयता धर्मनिरपेक्षता र सबै जातजातिको साझा फूलबारी बनाउन कुनै कसुर बाँकी राख्दिनँ ।
४. धार्मिक समुदायबीचको द्वन्दका रूपमा मात्रै मैले देशको पछिल्लो अवस्थालाई लिएको छैन । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पनि विभिन्न कोणबाट अध्ययन अनुसन्धान हुनुपर्ने सुझाव आएको छ । घटनाको निष्पक्ष छानबिन हुन्छ ।
५. सुनसरीको देवानगञ्ज घटनाले मधेशका विभिन्न जिल्ला र कोशी प्रदेश यति धेरै अशान्त हुन्छ भन्ने ज्ञान मैले पनि राखेको थिइनँ, मबाट पनि कमी कमजोरी भए ।
६. तपाईंहरूले पनि आ–आफ्नो ठाउँबाट सद्भाव कायम गर्ने पहल गर्नुस् हामीले पनि गरिरहेका छौं ।
७. म आफै जाँदा थप स्थिति तनाव हुने कारण गृहमन्त्रीलाई खटाएको हुँ, स्वास्थ्यमन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङ त्यहाँ पुगेर विभिन्न कोणबाट छलफल गरिरहनु भएको छ ।
८. कहाँ–कहाँ कमी हो सुधार गर्नुपर्छ । म पनि गर्छु यहाँहरू पनि गरिदिनुहोला ।
९. देशको पछिल्लो घटनाको विषयमा कसैले पनि राजनीतिकरण नगरिदिनुहोला । कसरी साम्य पार्ने र प्रदर्शनकारीलाई सम्झाईबुझाइ गर्नेतिर ध्यान दिनुहोला ।
१०. नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्रै सुरक्षा दिँदा नपुगेर सेना परिचालन गरिएको हो । यसलाई अरू कोणबाट विश्लेषण नगरिदिनुहोला ।
११. सकेसम्म आ–आफ्नो क्षेत्र र जिल्लामा गएर शान्ति सुरक्षा कायम गर्न र प्रदर्शनकारीहरूलाई सम्झाइदिने कोसिस गर्नुहोला ।
१२. कम्मरमाथि किन गोली हान्यो भन्ने यहाँहरूले प्रश्न गर्नुभएको छ । मैले पनि सुरक्षा निकायसँग कम्मरमाथि किन गोली हानियो भनेर प्रश्न गरिरहेको छु । यसको निष्पक्ष छानबिन हुनुपर्छ ।
१३. प्रधानमन्त्री कानुनभन्दा बाहिर गएर प्रस्तुत भयो भन्नुभएको छ, मैले मेयर हुँदादेखि नै कानुनको पूर्णपालना गरिरहेको छु । गल्ती कमजोरी भएको भए आगामी दिनमा सुधार हुनेछ ।
१४. प्रधानमन्त्री पाँच दिनसम्म सुत्नुभयो भन्ने प्रश्न गर्नुभएको छ । म सुतेको थिइनँ । आइतबार रातिबाटै घटनाबारे मेरो गम्भीर ध्यानाकर्षण भएको थियो । काम गर्दागर्दै अरु जिल्लामा पनि तनाव हुन पुग्यो ।
१५. सुनसरी र सिरहा घटनाका मृतकका परिवारलाई उचित क्षतिपूर्ति र उनीहरूको परिवारलाई रोजगारी दिन सरकार पूर्ण प्रतिबद्ध छ । गृहमन्त्रीज्यूले कतिपय कुरा साइन गरिसक्नुभयो ।
१६. तपाईंहरूमार्फत् म आमप्रदर्शनकारी र देशवासीलाई के भन्न चाहन्छु भने सबैले आ–आफ्नो कोणबाट शान्ति कायम गर्न तल्लिन बनौँ । नेपालआमा र नेपाली भूमिलाई थप तनाव नदिऊँ । सबैले आ–आफ्नो ढंगबाट पहल थालौं ।
१७. प्रदेश खारेज गर्ने कुरामा कुनै पनि हिसाबले मेरो पार्टी र मबाट सम्भव छैन । बरू त्यसलाई कसरी बलियो र प्रभावकारी बनाउने भन्ने चिन्तन गरिरहेको छु ।
१८. प्रधानमन्त्रीले कसैलाई टेरेन, संवाद नै गरेन भन्ने कुराहरू आइरहेका छन् । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
१९. पार्टी सभापति र मबीच कुनै दूरी छैन सल्लाहमै काम भइरहेको छ । मैले सर्वदलीय बैठक डाक्नुपर्ने थियो । तर सभापति र मबीच कुरा हुँदा उहाँले गर्ने सहमतिअनुसार काम भएको हो ।
२०. २०८२ को निर्वाचनबाट पहाडी र मधेसबीचको खाडल पुरिएको मैले महसुस गरिएको थिएँ तर धेरै तत्त्वले खेलेका रहेछन् भन्ने अनुसन्धान गरिरहेको छु । हिंसा भड्काउने र फैल्याउने जो–कोहीलाई सरकारले कानुनी दायरामा ल्याउँछ ।
२१. म हिन्दु राज्य फर्काउने पक्षमा छैन । यो संघीयता विरोधी हुन्छ । हिन्दू राज्य आएपछि राजा पनि जोडिन्छ, अहिले त्यसो गर्नु राम्रो हुँदैन । संघीयताप्रति प्रतिबद्ध छु, त्यसलाई सफल बनाउने काम पूरा गरेर जान्छु । हामी राजा फर्काउने पक्षमा छैनौँ । त्यसो गर्दा संघीयता कमजोर हुन्छ ।