दमक । विद्यार्थीलाई रोजगारमुखी, सीपयुक्त तथा अनुसन्धान–आधारित शिक्षा प्रदान गर्ने उद्देश्यसहित दमक बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘अकाडेमिया–इन्डष्ट्री डाइलग’ तथा शैक्षिक प्रस्तुति कार्यक्रमबाट विद्यार्थी उत्साहित भएका छन् । दुई सत्रमा विभाजन गरी आयोजना गरिएको उक्त छलफल शिक्षा र उद्योग–व्यवसाय क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित थियो ।
सो कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि प्रा.डा.गोविन्दप्रसाद गुरागाईंले दमक क्याम्पस आगामी दुई वर्षभित्र विश्वविद्यालयमा रुपान्तरण हुने सम्भावना रहेको बताए । उनका अनुसार विश्वविद्यालय अनुदान आयोगको नीति अनुसार क्याम्पसलाई विश्वविद्यालयमा विकास गर्ने प्रक्रिया अघि बढिरहेको छ, जुन क्याम्पस परिवार, विद्यार्थी र स्थानीय समुदायका लागि गौरवको विषय हुने उल्लेख गरे ।
उनले अनुसन्धानमा आधारित शिक्षण प्रणाली, दक्ष प्राध्यापक र गुणस्तरीय सिकाइमार्फत उत्पादन हुने जनशक्ति नै बजारले खोजेको वास्तविक आवश्यकता पूरा गर्ने आधार हुने उल्लेख गरे । साथै, शैक्षिक संस्थाबाट उत्पादन हुने जनशक्ति र श्रम बजारको मागबीच रहेको अन्तर (ग्याप) पहिचान गर्न यस्ता कार्यक्रम उपयोगी हुने उनको धारणा थियो । “सिक्दै र सिकाउँदै जाने मान्यतामा आधारित शिक्षा नै भविष्य निर्धारण गर्ने आधार हो,” उनले भने ।
कार्यक्रममा दमक क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले दक्ष जनशक्ति उत्पादनमा क्याम्पसले विशेष ध्यान दिइरहेको बताए । उनले अनुसन्धान र व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थी तथा अभिभावकको सन्तुष्टिका लागि क्याम्पस निरन्तर प्रयासरत रहेको जानकारी दिए ।
दोस्रो सत्रमा विद्यार्थी केन्द्रित प्रस्तुति (प्रेजेन्टेशन) कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा विद्यार्थीहरूले विषयगत प्रस्तुति दिएका थिए । सो सत्रमा डिल्लीप्रसाद भट्टराई र प्रा. डा. गोविन्दप्रसाद गुरागाईंले सहजीकरण गरेका थिए ।
त्यसैगरी, कार्यक्रममा डा. नेत्रप्रसाद बुढाथोकीले शुभकामना मन्तव्य राख्दै शैक्षिक संस्थाले उद्योगसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उद्योग–व्यवसाय प्रतिनिधिहरूको तर्फबाट राजेन्द्र ढकालले पनि बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न यस्ता संवाद कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे । कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख डिल्ली प्रसाद भट्टराईंले गरेका थिए भने विभिन्न शैक्षिक, औद्योगिक तथा प्रशिक्षण क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । क्याम्पस प्रशासनका अनुसार प्राप्त सुझावलाई आगामी शैक्षिक योजना, तालिम तथा उद्योगसँगको सहकार्य विस्तारमा उपयोग गरिने बताइएको छ । समग्रमा कार्यक्रमले शिक्षा र रोजगारीबीचको दूरी घटाउँदै विद्यार्थीलाई प्रतिस्पर्धी र व्यवहारिक रूपमा सक्षम बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन् ।