दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरूलाई अनुशासन उल्लंघन गरेमा फिर्ता बोलाउने चेतावनी दिएका छन् । पार्टीका सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको समापनमा सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
पार्टीमा अनुशासन अत्यावश्यक रहेको भन्दै सभापति लामिछानेले सांसदहरूले अनुशासन उल्लंघन गरेमा पदबाट फिर्ता बोलाउने बताएका हुन् । पार्टी ठूलो बनेको र सरकार सञ्चालन गर्ने जिम्मेवारीमा रहेको बताउँदै उनले प्रत्येक सांसद अनुशासनमा बस्नुपर्ने बताएका हुन् । ‘सरकार करिब दुई तिहाइको बन्दैछ, संख्या घट्ला, अल्पमतपमा पर्ला भन्ने कुराको प्रवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा व्यवस्था गरेको ‘राइट टु रिकल’को व्यवस्था यसपटक कडाइका साथ लागू गर्नेछ,’ उनले भने ।
रास्वपा विधानको दफा ६९ मा जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको व्यवस्था रहेको छ । ‘पार्टीका सम्बन्धित क्षेत्रको साधारण सदस्यहरूलाई आफ्ना जनप्रतिनिधिले चित्त बुझ्दो काम नगरे फिर्ता बोलाउन पाउने अधिकार हुनेछ । केन्द्रीय समितिले बनाउने नियमावली बमोजिम सम्बन्धित क्षेत्रको साधारण सदस्यहरू निश्चित संख्या वा प्रतिशतले निर्णय गरे पार्टीको केन्द्रीय समितिले सम्बन्धित जनप्रतिनिधिको पदको खारेजीलाई प्रक्रिया सुरु गरिनेछ,’ रास्वपा विधानमा लेखिएको छ, ’पार्टीका समानुपातिक जनप्रतिनिधिले पार्टीहित विपरीत काम गरेमा वा कार्यसम्पादन मूल्याङ्कनको आधारमा वा अन्य मनासिव कारण भएमा केन्द्रीय समितिले फिर्ता बोलाउन सक्नेछ । केन्द्रीय समितिले नियमावली बमोजिम जनप्रतिनिधिको पद खारेजीसम्मको प्रक्रिया गर्नेछ ।’
सांसदहरूको स्वतन्त्रता हुने तर अनुशासन कायम राख्नुपर्ने सभापति लामिछानेको भनाइ छ । स्वतन्त्रता र अनुशासनबीचको घेरा तोड्न नहुने उनको भनाइ थियो । सांसदका व्यक्तिगत स्वतन्त्रता हनन नगर्ने सभापतिका रूपमा आफ्नो मनसाय नरहेको बताउँदै सभापति लामिछानेले आगामी दिनमा पार्टीले अनुशासन कडाइका साथ पालना गराउने बताए । ‘यसपटक परिवार ठूलो छ, अनुशासन भएन भने अराजकता हुनेछ,’ लामिछानेले भने ।
संयम् हुन सुझाव
लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता अपनाउन आग्रह पनि गरेका छन् । उनले आफ्नो क्षेत्रमा सांसदहरूलाई अब्बल हुन बताउँदै सरकार बनेको बेलुकाबाट ढाल्न विभिन्न शक्तिहरू परिचालित हुने बताए । ‘सरकार बनेको बेलुकाबाट सरकार ढाल्न विभिन्न शक्तिहरू लाग्छन् यसमा तपाईँहरू सचेत हुनुपर्छ। यो साहिदहरूले रगत बगाएर आएको चुनाव हो। यसमा जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नु ।’ लामिछानेले भने,‘सञ्चारमाध्यममा बोल्न रमाइलो लाग्छ आफ्ना बारेमा समाचार आउँदा रमाइलो लाग्छ तर भोट दिएका जनताले तपाईंले के बोल्नुहुन्छ र के गर्नुहुन्छ ख्याल गरिरहनु भएको छ । आफूले दिएको अभिव्यक्तिले कुन क्षेत्रमा के प्रभाव पारेको छ त्यसलाई निक्र्योल गर्नुहोला। जिम्मेवार सांसद जिम्मेवार राजनीतिकर्मी र जिम्मेवार प्रतिनिधिसभाको सांसद भएको नाताले सबै कुराहरू ख्याल गर्नुहोस् ।’
के भन्छन जननिर्वाचित सांसदहरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा अनुसार काम गर्न आफूहरूले ध्यान केन्द्रित गर्ने जनाएका छन् ।
ललितपुरमा पार्टीले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरूले आफूहरूलाई जनताले विश्वास गरी सदनमा पठाएको भन्दै जनअपेक्षा अनुसार काम गर्न ध्यान केन्द्रित गर्ने जनाएका हुन् ।
रास्वपाका नवनिर्वाचित सांसद गणेश पराजुलीले सुशासन कायम गर्ने, कानून बनाउने र जनअपेक्षा अनुसार काम गर्न सांसदहरूलाई अभिमूखीकरण गरिएको बताए । रास्वपाका सांसदहरूले पूर्ण जिम्मेवार भएर जनादेश अनुसार आफ्नो भूमिका निर्वाह गर्ने उनले बताए ।
त्यस्तै रास्वपाका नवनिर्वाचित सांसद हरि ढकालले विगतको अनुभवबाट सिक्दै मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ अघि बढाउन भूमिका खेल्ने बताए । उनले सुशासनको मुख्य एजेण्डाका लागि काम गर्न स्पष्ट संख्या पुगेकाले आफूहरू उत्साहित भएर काम गर्ने धारणा राखे । आगामी पाँच वर्ष जनअपेक्षा अनुसार सुशासनका लागि मुहान सफा गर्ने उनको भनाइ छ ।
त्यस्तै रास्वपाका नवनिर्वाचित सांसद भूमिका श्रेष्ठले सबै समुदायको हक अधिकार स्थापित गर्नका लागि आफूले आवश्यक भूमिका निर्वाह गर्ने जनाइन् ।
प्रतिनिधिसभा सदस्यको शपथ अघि रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको हो ।