देश–समाज राजनीति

उद्योगमा कोरोनाको जोखिम, श्रमिकलाई काममा नलगाउन युनियनकाे माग

विर्तामोड २६ चैत । श्रमीकहरुलाई तत्काल ज्याला र राहत उपलब्ध गराउन तथा असुरक्षित तवरले काममा नलगाउन नेपाल ट्रेड युनियन कांग्रेस झापाले माग गरेको छ ।
आज बुधबार एक विज्ञप्ति जारी गर्दै ट्रेड युनियन कांग्रेसका झापा अध्यक्ष यज्ञप्रताप अधिकारीले चिया वगान, चिया कारखाना, निर्माण, यातायात, होटल, पर्यटन, कृषि, उद्योग, ब्यावसायिक क्षेत्रलाई राहत उपलब्ध गराउन तथो कोरोना भाइरस फैलनसक्ने जोखिम रहेको भन्दै असुरक्षित तवरले काममा नलगाउन माग गरेको हो ।
सरकारले एकातिर लकडाउनको पूर्ण पालनाको घोषणा गर्ने र अर्कोतिर उद्योगी÷ब्यवसायीलाई उद्योग सञ्चालनका लागि अनुमति दिने दोहोरो नीतिले मजदुरहरु मारमा परिरहेको जनाउँदै आवश्यक सुरक्षा पद्दति नअपनाई कार्य गर्दा जुनसुकै बेला कोरोना भाइरसको जोखिममा पर्नसक्ने हुँदा दोहोरो नीति तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ ।
कोरोना भाइरसबाट बच्ने पिपिई लगायतका सुरक्षा उपायको हाल सञ्चालनमा रहेका अत्यावश्यक क्षेत्रका उद्योगमा समेत प्रभावकारी अवलम्बन नगरिरहेको अवस्थामा उद्योगहरु नै कोरोना भाइरसको महामारीमा पर्ने आशंका उब्जिएको जनाउँदै आवश्यक सुरक्षा उपकरण पि.पि.इ, पञ्जा, मास्क, सेनिटाइजर, गम्बुट, चश्मा, ेलगायतका सुरक्षा उपकरण उपलब्ध गराएर सामाजिक दुरी कायम राख्दै काममा लगाउन सम्बन्धित पक्षसँग जोडदार माग गरिएको छ ।
‘झापा जिल्लाका चिया क्षेत्रमा अत्यधिक श्रमीकहरु कार्यरत रहेको र उनीहरुलाई सम्बन्धित उद्योग प्रतिष्ठानले ज्याला उपलब्ध नगराएको तथा सरकारले वितरण गर्ने राहत पनि चिया श्रमीकलाई उपलब्ध नगराईएको अवस्थाले चिया श्रमीकको परिवार भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ’–विज्ञप्तिमा भनिएको छ–‘ लकडाउनको अवस्थामा कामविहीन भई घरमै बसेका श्रमीकलाई दैनिक गुजारा चलाउनका लागि मजदुरको ज्याला तत्काल उपलब्ध गराउन सम्बन्धित उद्योग प्रतिष्ठानको गम्भिर ध्यानाकर्षण गराउँदै विशेष राहत प्याकेज घोषणा गरी चिया श्रमीकलाई तत्काल राहत उपलब्ध गराउन जोडदार माग गर्दछौं ।’ अन्यथा भोका श्रमीक र आश्रित परिवार सडकमा निस्कने अवस्था आएमा सम्बन्धित पक्ष र सरकार जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
अन्त्यमा कोरोना भाइरसको महामारीबाट विश्वमा मृत्युवरण गर्न बाध्य सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विज्ञप्तिमा संक्रमीतको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न पनि विज्ञप्तिमा र सामाजिक दुरी कायम गर्न अनुरोध गरिएको छ ।

Author

You may also like