देश–समाज लेख स्थानीय

‘जेन–जेड’ आफ्नै मार्गचित्रमा अटल रहोस्

:- नकुल काजी -:
लोकतन्त्रलाई कुनै दलीय वा गुटगत–गिरोहगत पछ्यौरा नओडाइकन त्यसको व्युत्पतिकालकोे (नैसर्गिक) अन्तर्यलाई नाङ्गो निरपेक्ष भावका आँखाले हेर्ने हो भने आजको (खासगरी २०७२सालयताको) नेपाललाई संविधानप्रदत्त शक्तिले तथ्य–विलोम अवस्थामा पछारिरहेको देखिनेछ । अतः उपर्युक्त आधारमा ’जनमत’ चाहिँ तत्कालीक ’संविधान’–भन्दा माथि र दमनासाध्य बलियो हुन्छ भन्ने, सोझा र निर्धा–निमुखा नागरिकहरूबाट पैसासँग साटिएका वा लटपट्याइएका, मत (भोट)–का मालिक–मुन्सी, कार्बारी र डफेदारहरूले बुझेर पनि नबुझे झैं गर्दै आएका छन् । तसर्थ, आज ’जेन–जेड’ पुस्ताका लाखौंलाख प्राकृ ऊर्जावान सन्तानलाई महाभारत– कथाको ’अभिमन्यु’ बनाएर आफ्नो अभीष्ट पूरा गर्न खातिर ’देशको कञ्चन सत्य’ –का प्रति उनीहरू दुर्याेधन–शकुनि आदि जाली–प्रपञ्चेका दुत्कृत र जाली भूमिकामा अवतरित छन् । तर, अन्ततोगत्वा महाभारत–कथाले के परिणाम कोरलेको छ ? – भन्ने भने उनीहरूका दम्भ–अन्ध आँखाकै कारण नै उनीहरूलाई समाप्तितिर लखेटिरहेको छ, सोझै समाप्तितिर ! अन्ततः जेन–जेडको वास्तवमा अकल्प बहादुरीको कथालाई ’हिस्स बूढी हरिया दाँत’ उखानको हविगतमा अन्यायपूर्वक थेचारेर आफूहरू साविक हैकममा स्थापित हुने स्वैरकल्पना (फेन्टासी)–मा पनि, सायद, थरथर कामिरहेको मुटु सम्हालिरहेका छन् । यो त ’निर्वाचन’–सँग डराएर संसद पुनस्र्थापनाको मुद्दामा लाज पचाउँदो साविक शासक पार्टीको हरकतले छ्याङ्ग पारिरहेकै छैन र ? हो नै, कसै–कसैलाई ’निर्वाचन’ नामको खड्गो अति नै भयप्रद बनेको देखिन्छ । सत्ताशक्तिको घोडा चढेर अनेकका अतिरञ्जनायुक्त उखान–टुक्का मिश्रित ’विकासको गीत’ गाउनु र लोरी सुनाउँदै सोझा जनतालाई सम्मोहित गरी अभीष्ठ पूरा गर्नु जस्तो सजिलो आसन्न निर्वाचन कदाचित हुने छैन । जेन–जेडको तयारी वास्तवमा अवरोधमुक्त मात्र हुन सक्यो भने यहाँसम्मका सारा अहंकार र दम्भ धुलिसात हुने त निश्चितै छ क्यार !…
यद्यपि उनीहरूको दम्भलाई जेन–जेडभित्र पन्पाएको अनिश्चय र अल्मलले प्रदान गरिरहेको मलजल–ऊर्जाको यथार्थलाई पनि नजरअन्दाज गर्नु न्यायसंगत वा निरपेक्ष हुँदैन । सोझो वा बोधगम्य शब्दहरूमा भन्ने हो भने जेन–जेड समूहको आधिकारिक मूल सारथि को हो, त्यसको आगामी कार्यभार के थियो र सो पूरा गर्न कुन मार्गचित्र तय भएको थियो त ? इत्यादि प्रश्नहरूले क्रमशः जन–धरातलमा निराशारूपी नकारात्मक मुन्टो उठाउन थालेका छन् र त्यही कमजोरीहरूका खुट्किला टेकेर पुराना राजनीतिक खल्वाटहरूले हाँक लल्कार्न थालेका हुन् । अरू त अरू, आफैले आरोहण गराएको मौजूदा सरकारले कार्यभार नसमालिरहँदा समेत त्यसैलाई पनि ठीक बाटो देखाउने निश्चित दिशा जेन–जेडले अख्तियार गर्न सकिरहेको छैन र आम जनमानसमा अन्यौलको बादल मडारिइरहेको छ । पुराना पार्टीका झोले–चम्चेहरूका चलखेल पुनः झाङ्गिदै गएर बुर्कुसी मार्न समेत उत्साही देखिंदाछन् – अहिले । यो अवस्थाले जेन–जेडका प्रतिको आशा–भरोसा र विश्वास जनमानसको अभ्यन्तरमा भिमलाउनु अस्वाभाविक होइन । जेन–जेडको त्यस्तो दुर्दमनीय ठहर गरिएको जनअपेक्षाकृत कलकलाउँदो साखलाई अहिले विगतका उनै भ्रष्टाचार र कुशासनका सूत्राधार एवम् लुटतन्त्र (’क्लेप्टोक्रेसी’ ?)–का हैकमी साँढेहरूका डुक्राइले छाँयामा पार्दै लगिरहेका दुर्भाग्यपूर्ण दृश्यहरू एकपछि अर्काे लगातार अस्तित्वमा आकृत हुन थालेका छन् ।
नेपालमा तीस वर्षे पञ्चायती एकाधिपत्यको अवसानपछि उदित प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदिले भोग गरेको छत्तीस वर्षहरूमा सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वकाललाई अलग राखेर मीमांसा गर्ने हो भने नेपालमा लोकतन्त्र (’डेमोक्रेसी’)–को दोसल्ला ओडाएर लुटतन्त्र (’क्लेप्टोक्रेसी’) नै चल्दै आएको सत्यलाई कसै गरे छल्न सकिंदैन । अझ ०७२ सालयता त त्यो अझ काँडालु बनेर प्रस्तुत हुँदै आएको जगजाहेरै छैन र ? यो त जीवन भोगाइकै लहरमा आउने विषय नै हो वा थियो  । तर, शासकीय चारित्रिक परिपाटीकै रूपमा लुट र दोेहनवृत्ति निर्बाध बढ्दै र स्थापित हुँदै गएकाले तल्लो सामाजिक परिवेशदेखि माथिल्लो राष्ट्रिय परिवेशसम्मका लागि, करैले पनि, सो सहज साध्य र स्वाभाविक सिद्ध हुँदै आएकाले ’तैं चूप, मैं चूप’–को मनोविज्ञान दह्रिन गएको हो । मनोविज्ञानले भनेकै छ नि – ’पराजितले विजयीलाई करैले पनि श्रेष्ठ ठान्नै पर्दछ !’ सबै वर्ग र कित्तामा यो मनोविज्ञान लागू हुँदै–छिप्पिँदै गएको छ । वस्तुतः अपवाद छोडेर, अहिले कुनै पनि देशमा सन्तुष्टि वहाल नहोला । तर, युग अनुकूल ’राज्य’–को नेतृत्वले आफू र ’आफ्ना’–हरूका लागि मात्र सजिलो र ’फलदायी’ हुने निजी व्यापारिक कम्पनी जस्तो वेलगाम सत्ता सञ्चालनको अभ्यास मात्रमा सीमित भइदिँदा र आम देशवासीको व्यवहारसम्पृक्त विचार, भावना र वस्तुस्थितिको कदर र पर्वाह नगरिदिंदा उत्पन्न हुने गरेका निराशा र आक्रोश गानिने–पिलिने गर्दछ । यस्तै दुर्भाग्यपूर्ण अवस्थाको अविच्छन्न र क्रमिक विकासले हाम्रो नेपालले वर्तमान असीम कण्टकाकीर्ण अवस्थाको सामना गर्नु परिरहेको हो । अतः जनतामा प्रकीर्ण यही मनोभावको पर्दा जेन–जेडले गत भदौ २३÷२४ का जन–विद्रोहद्वारा नाङ्गो रूपमा उघारिदिएको थियो । यसलाई छिमेकी लगायत नेपाललाई चिन्ने विश्व–समाजले पनि यसरी नै बुझेका हुनन् । त्यो केवल दुईदिने विद्रोहले संविधानलाई थपक्कन ’अतिथि’ स्वरूपमा राखेर जनमतको बल प्रदर्शन गरेको मानिंदा को बलियो भन्ने स्पष्ट पहिचान गराएको पाइन्छ  । तर, उसको अस्तित्व पनि गैसस–अगैसस तथा सत्तालोलुप दलका गोठ–गोठमा पालित–पोषित घुसपैठियाहरूले धुलाम्मे बनाउने भगिरथ प्रयास गरिरहेका देखिंदो छ । आफ्ना आँखैमा पसेको कसिङ्गर आफ्नै आँखाले देख्न नसके जस्तै अवस्था जेन–जेडभित्र पनि सिर्जना भएको शंका जनसंख्याको लगभग ९०–९५%–ले गरिरहँदा पनि ऊ ( जेन–जेड) निःशंक झै देखिरहेको छ र उसैले स्थापना गरेको मौजूदा सरकार पनि यसतर्फ सचेत हुन सकिरहेको देखिंदै छैन ।
जेन–जेडले व्यक्तिगत र नीतिगत भ्रष्टाचार, शासकीय स्वेच्छाचारिता निर्देशित सरेआम कुशासनद्वारा पीडित–प्रताडित र अवकुण्ठित अत्यधिक बहुसंख्यक नेपाली भावनाको प्रतिनिधित्व गर्ने वचनबद्धताका साथ विद्रोह नारेको थियो – जो राज्यसत्ता कब्जामा राखेर वा पालो पर्खेर देश र देशवासीका, यस शताब्दी–सौम्य, हक–अधिकार निचोरनाचोर पार्दै शासकीय शक्तिले स्वधन्य बन्दै आएका र बन्न चाहने लोभी–पापीहरूको बहिर्गमनलक्षित थिए। र, यही थियो अधिक अधिकांश पछौटे, निरीह र निर्धा नेपालीका अन्तर्यको आधारभूत पर्खाइ पनि । विद्रोहको प्रारम्भिक दौडानमा के–के भए त्यसको फेहरिस्त अब आवश्यक नहोला, तर त्यतिबेलाका कतिपय घटनाको स्मरण गर्दा अहिले मात्र होइन, भोलिका दिनमा पनि नेपालीले मिठो अनुभूति लेलान् भन्ने स्थिति जीवन्त बनेको बुझिन्छ । अब जेन–जेडले भदौ २३ कै स्थितिमा अभ्यन्तरबाटै एक ढिक्को भएर आफ्नो ’सर्वसम्मत’ नायक (संयोजक) मुकर्रर गर्न सके अहिले क्रमशः बढिरहेको अन्योल हट्ने बाटो लाग्नेछ  । साथै, जेन–जेडलाई ’असफल किनार’–मा फ्याँकेर आफ्नो साविक तानाशाही ढबका ढलीमली पुनः स्थापित गर्न न्वारानदेखिको नानाथरि शक्ति प्रयोगमा लागेका नेता र तिनका झोले आशेपासे पाउभक्तहरूको प्रयत्न, त्यस बिन्दुबाट, धुल्याउन सहज हुनेछ । बहुप्रतिशत नेपालीमा यही आग्रह प्रखर छ । किनभने, अहिले जेन–जेड शिविरमा विस्तीर्ण अल्मलजन्य कमजोरी र त्यसबाट नागरिक अनुभूतिमा उत्पन्न अन्योलको मूल जरो यही देखिंन्छ । यसका अतिरिक्त जेन–जेडको विद्रोहले बनाएको सरकारले पनि सोे भावभूमिबाट विमुख नभई जेन–जेडले आँकेको मार्गचित्रका प्रति पूर्णतः उत्तरदायी चलखेल जन–समाजमाथि, दृश्यमै, प्रक्षेपण गर्दै गए त्यसबाट आश्वस्त हुने जनमनको प्रेरणा उसको सफलताको सहयोगी हुनेछ ।
जन–विद्रोहले तुल्याएको सरकार अघिल्ला नेता–अगुवाहरूले लेखेर आफ्नो संख्या–शक्तिको ’हा–हु’ र ताली पिटाइले स्वीकृत गरेको संविधानकै ताल र भाकामा नाच्ने काम गरिरहे या जन–विद्रोहमा ७६ नेपालीको जीवन–बलिदान स्वतः अपमानित हुँदैन र ?– यो प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । बस्, आजलाई यति नै ।

Author

You may also like