देश–समाज समाचार स्थानीय

बाढीले पाकेको धान डुब्दा किसान मार्कामा

:- बिमल लामिछाने -:

दमक । असारमा लागेको थकान मंसिरले भुलाउँछ भनिन्छ । बुढापाकाहरुको आहान नै छ, असारमा गरेको कर्मको फल मंसिरमा मिल्छ । तर यो पटक असारमा पनि किसानका आँखा अकासतिरै परे भने मंसिरमा पनि रसाएका आँखाले अकास नै हेर्यो । असारको दुखाईमा मंसिरले मलम लगाउन सकेन ।
मंसिर धान पाक्ने सिजन हो । किसानले असारभरी बगाएको पसिनाको फल मंसिरको ढिकुटीमा प्रकट हुन्छ । तर यो वर्ष किसानले मंसिरमा पनि असारको पसिनाको मुल्यांकन गर्ने अवसर पाएनन् । असारमा पानी नपरेर खेती गर्न किसानलाई धौ धौ भयो । कतिपय खेत बाँझै रहे । दुःखले रोपेका धानबाली पनि मंसिरमा आएको अधिक पानी र बाढीले क्षेति पुर्यो । मंसिरमा पनि किसानले पुर्पुरोमा नै हात राख्न बाद्य हुनु परेको छ ।
यो वर्ष कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाका कारण कोशी प्रदेशको कृषि बालीमा मात्रै २ अर्ब बढीको क्षति पुगेको छ । कोशी प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार यस क्षेत्रमा १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको छ ।
तथ्यांक अनुसार ५८ हजार २६७ दशमलव २६ मेट्रिक टन धान र तरकारी बाली नष्ट भएको छ । झापा, मोरङ र सुनसरी जिल्लामा सबैभन्दा बढी क्षति भएको छ । झापामा ४ हजार ३ सय ६४ हेक्टरमा लगाएको धान बालीमा क्षति पुगेको छ, जसबाट २१ हजार ८२० मेट्रिक टन धानमा नोक्सान हुँदा अनुमानित ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ नोक्सान भएको छ ।
त्यसैगरी मोरङमा ३ हजार ४२१ हेक्टरमा १६ हजार ४२० दशमलव ८ मेट्रिक टन धानमा क्षति भएको छ, जसको मूल्य ५८ करोड ७८ लाख ६४ हजार रुपैयाँ अनुमान गरिएको छ । सुनसरीमा २ हजार ८५१ हेक्टरमा १२ हजार ६५८ दशमलव ४४ मेट्रिक टन धानमा क्षति पुगेको छ । सुनसरीमै २ सय हेक्टरमा लगाएको तरकारी बालीमा पनि क्षति पुगेको छ ।
पूर्वको पहाडी जिल्लामध्ये उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २ सय हेक्टर, ओखलढुंगामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र संखुवासभामा १२५ हेक्टर क्षेत्रफलमा लगाएको धान बालीमा क्षति पुगेको छ । यति ठूलो मात्रामा धान बाली डुवानमा परेको छ । पाक्न लागेका धानका बाला पानीमा ढुबेको देख्दा मंसिरमा पनि किसानका आँखामा टिलपिल आँशुले भरिएका छन् भने मन विरक्तिएको छ ।
यस्तै तराईका जिल्लामा २० प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५देखि ३० प्रतिशत क्षति भएको तथ्यांक छ । पहाडी जिल्लामा ८ देखि १० प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५ प्रतिशत क्षति पुगेको छ । तराई र पहाडको तुलनामा हिमाली जिल्लामा भने कम क्षति भएको तथ्यांक छ । हिमाली जिल्लामा ५ देखि ६ प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५ प्रतिशत क्षति भएको तथ्यांक छ ।

Author

You may also like