पंकज दाहाल
दमक, १४ कार्तिक
झापाको दमकमा सिटी सफारी तथा अटो (टेम्पो) यातायात व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा देखिएको छ भने व्यवस्थित शहरीकरणका लागि सिटी सफारी तथा अटो यातायातलाई थप व्यवस्थापन गर्ने काममा दमक नगरपालिकाले तिव्रता दिएको छ ।
नगरले दूरीका आधारमा यातायात भाडा तोक्ने र ति यातायातका साधनको बढ्दो चापलाई नियन्त्रण गर्न चेकजाँच, स्टिकर वितरण र नविकरणको कार्य यथावत राखिएको नगरपालिकाद्वारा गठित यातायात व्यवस्थापन समितिले जनाएको छ । यसबाट केही वर्षयता बढेको अस्वस्थ प्रतिष्पर्धा, दुर्घटनाको जोखिम हटाउन र न्यूनीकरण गर्न, सडक जाम कम गर्न, भाडा दरमा एकरुपता कायम गर्न र भीडको व्यवस्थापन गर्नमा मद्दत मिल्ने नगरको अपेक्षा छ ।
‘हामीले अहिले झापा जिल्लाभरि नै दूरीका आधारमा भाडा दर तोक्ने तयारी गरिरहेका छौं, त्यसका लागि केही दिनभित्रै जिल्लाभरिका सरोकारवालाहरुको बैठक बस्दैछ । त्यो बैठकले सिटी सफारी तथा अटोहरुको भाडा दर निर्धारण गर्छ, यसका लागि आवश्यक गृहकार्य भइरहेको छ ।’, दमक नगरपालिका यातायात व्यवस्थापन समितिका अध्यक्ष तथा दमक-२ का वडाध्यक्ष प्रजापति सापकोटाले भने- ‘ति साधनहरु संचालनको नियमन र व्यवस्थापनका लागि नयाँ नियम पनि बन्दैछ । त्यो पनि चाँडै आउँछ ।’ दमक-७ को वडा कार्यालय पशुहाटमा रहेको सो समितिको कार्यालयमा कार्यरत नगरपालिकाका कर्मचारी भुवन दाहालका अनुसार हालसम्म दमकमा १ हजार २ सय १२ वटा सिटी सफारी र अटो दर्ता भएका छन् । अझै झण्डै साढे ३ सय सिटी सफारी तथा अटोहरु दर्ता हुन बाँकी रहेको अनुमान गरिएको छ । दर्ता भएका सिटी तथा अटोहरुलाई नगरपालिकाले व्यवस्थित शहरीकरणका लागि भन्दै हरियो, पहेँलो र रातो स्टिकर टाँस गर्दै आएको छ ।
हरियो स्टिकर सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएका र पहँेलो स्टिकर लाइसेन्स नभएका तर दमकमा स्थायी बसोबास गरिरहेका सिटी तथा अटो संचालकहरुलाई वितरण गरिन्छ भने दमक बाहिरका सिटी तथा अटो संचालकहरुका लागि रातो रंगको स्टिकर टाँस्ने व्यवस्था गरिएको छ । यसपालीको वडादशैं पछि आइतबार पनि समितिको सो कार्यालयबाट यस प्रकारका स्टिकर टाँस्ने काम धमाधम भइरहेको थियो भने यो कार्य दिनहुँजसो जारी राखिने दाहालले बताए । उनले हालसम्म हरियो स्टिकर ३ सय ३३, पहेँलो ५ सय १० र रातो ४१ वटा वितरण भइसकेको खुलाए । यसरी स्टिकर टाँस भए नभएको र नगरपालिकाको व्यवस्था साथै नियमअनुसार सवारी चलाए नचलाएको भन्ने बारे ट्राफिक प्रहरी, दमक नगर प्रहरी र यातायात व्यवस्था समितिले नियमितजसो स्थलगत चेकजाँच गरिरहेको छ । नेपाली नागरिकता नभएका, ६८ वर्ष उमेर नाघेका, अपाङ्गता भएका र बालबालिकाहरुलाई भने सिटी तथा अटो चलाउनमा नगरपालिकाले बन्देजको सूचना जारी गरेको छ ।
उल्लिखित साधनहरुको नगरमा रेकर्ड राख्ने काम गरेपनि दर्ता भनें केही वर्ष यता दमक नगरपालिकाले गरेको छैन । चालकलाई लाइसेन्स दिने र सवारी दर्ताको काम यातायात व्यवस्था कार्यालय विर्तामोडबाट हुने गरेको छ । वि.सं. २०७२ भन्दा अघि भने यस्ता प्रकारका करिब ८ सय साधनको दर्ता भने दमक नगरपालिकाले नै गरेको थियो । हाल स्टिकर टाँस्ने कार्य गरिरहेको छ । तर यो पेशा व्यवसायमा पछिल्लो समयमा आएर अस्वस्थ प्रतिष्पर्धा बढेको अटो चालकहरुको भनाई छ । यात्रुहरु तान्नलाई १० देखि २० रुपैयाँसम्म भाडा घटेर बोक्ने समेत गरिएको छ । बजारमा ट्राफिक जामको समस्या भएकोमा अहिले आएर नगरपालिकाले गरेको एकतर्फी पार्किङले निकै सहयोग पुगेको चालकहरुको भनाइ छ ।
-‘राम्रोसंग घर व्यवहार चलेको छ’-
दमकमा सिटी सफारी र अटो (टेम्पो) चलाइरहेका केही संचालकहरुले सो यातायात व्यवसायबाट राम्रोसंग आपूmहरुको घर व्यवहार चलेको बताएका छन् । एकाध वर्षमै सवारी साधनमा गरेको लगानी उठेको बताउने उनीहरु दैनिक १ हजार ५ सयदेखि २ हजार सम्म आम्दानी हुने गरेको र खर्च कटाउँदा १ हजार २ सयदेखि १ हजार ५ सयसम्म मुनाफा बस्ने गरेको जानकारी दिन्छन् । दमक-९ चिया इटाभट्टाकी वर्षा माझी र सोही वडाको चिया दोकानकी शर्मिला दास विगत ३ वर्षदेखि सिटी चलाएर नै आफूहरुको सिंगो परिवारको गुजारा चलिरहेको बताउँछन् । शर्मिलाको त उनी मात्र होइन, उनका पति समेत सिटी नै चलाउँछन् भने वर्षाका पति ठूलो गाडीका चालक छन् ।
सिटी सफारी चलाउँदा आफूहरुलाई खासै दुःख नभएको र अब त बानी परिसकेको उनीहरुको भनाई छ । दमक-५ का संजय पटेल पनि कोरोनाको कहर सकिएपछि सिटी सफारी नै चलाएर परिवार पाल्ने मात्र होइन, छोरा छोरीलाई राम्रो शिक्षण संस्थामा पढाइरहेका छन् । उनीहरु तीनै जनाको आम्दानीको श्रोत भनेकै यही पेशा व्यवसाय हो । दमक-१ का अटो संचालक नेत्रबहादुर खड्का पनि विगत साढे ६ वर्षदेखि यही पेशा व्यवसायमा रहेको र आफू सन्तुष्ट रहेको बताउँछन् ।