ओमप्रकाश गौतम
चाडबाडहरु आउछन् जान्छन् यो नियमित प्रक्रिया हो । हाम्रा पर्वहरुले कसैका लागि खुसी दिएर जान्छन् भने कसैका लागि जीवनभर घाउ बनाएर जान्छन् । यो पटकको बडादशैले नेपालीहरुको मुहारमा खुसी नै छर्यो भन्नु पर्ला । ‘एकछाक मकै, एकछाक भोकै’ भएपनि आ- आफ्नो गक्ष अनुसार सबैले बडादशैं मनाए । देशविदेशबाट आउनेहरुले आफ्ना नातागोता, कुलकुटम्बको हातबाट जमरा र टीकाले आशीर्वाद थापे । बडादशै नि हामीमाझ थाहै नदिइ बितेर गयो । यसरी अब तिहार अर्थात शुभदीपावली पर्व पनि आउँदै छ । तर यो पटक आउँदै गरेको दीपावली पर्वमा धेरै नेपालीहरुको घरघरमा मखमली, सयपत्री फूल फूलेको देखिन्न । सायद चाडबाड अलिपर सरेर होला अगाडि फूलेको देखिन्छ । चाहे जे होस अब आउने दीपावली, छठ, नयाँ सम्बत जस्ता पर्व तपाईं हामी नेपालीहरुले हर्सोल्लासका साथ अब मनाउदैछौं, आ – आफ्नो गक्षअनुसार । तर मनाउन त मनाउने तर कसरी मनाउने ? के गरेर मनाउने ? हुनेखाने नेताहरुले त राम्ररी मनाउलान् तर बनिबुतो गरेर, ज्यालादारी गरेर मनाउनेहरुका लागि भने बितेको बडाडशैं र अब आउने पर्वहरु कालोबजारीको मारमा परेर मनाउने निश्चितप्रायः छ । किनको प्रत्येक खाद्य वस्तुहरुमा बिचौलियाको बिगबिगी छ । यहाँ अनुगमन र नियमन् समेत नाटकीय रुपमा चलेको देखिन्छ , सेटिङ्गमै अनुगमन बढेको छ । यहाँ कमाउ, खाउ मोजमस्ती गर भन्नेमा लागेका छन् धेरैजसो बजारी दलालहरु । उनीहरू खुलेआम मूल्य बढाएर सामान बेचिरहेका छन् । न उनीहरूलाई कार्वाही हुन्छ । कसैले पनि कार्वाही गर्न सकेको देखिन्न । मनमौजी तरिकाले बजार भाउ बढाउँदासम्म सरोकारवाला निकाय मौन छ । तपाईं तरकारी बजार, खाद्यसामाग्री बजार गएर कुनैपनि सामाग्रीहरुको दर बुझ्नुस् सबै ठाउँ बेग्लाबेग्लै मूल्य बताइरहेका हुन्छन् ब्यापारीले । तर तपाईं चु सम्म बोल्न सक्नुहुन्न । बिचौलियाको मनोमानी, व्यापारी / ब्यबसायीको बढी कमाउने दाउ र सरकारी निकायको फितलो नियमनका कारण दशै – तिहार जस्ता चाडपर्वमा बजार सधैं महङ्गिदै गएको छ । यो बडादशैमा सधैंको जस्तो चाडपर्वको बेलाभन्दा पनि दैनिक उपभोग्य वस्तुको बजारभाउ व्यापारीहरुले अचाक्ली बढाएका थिए । घरघरमा प्रयोग हुने चिनी त बजारमा पाइदै नपाएको उपभोक्ताले जनाएका छन । कतै पाइहाले पनि ब्यापारीले हतार हतारमा बढी दाम लिएर बेचेका समाचार बजारमा छ्याप्छ्याप्ती आएको थियो । यतिसम्म हुँदासम्म चाडपर्वमा हुने बजारको अराजकता नियन्त्रणमा सरकारले कहिल्यै गम्भीर पहलकदमी लिन नसक्नु यहाँभन्दा उदेकलाग्दो बिषय के हुन सक्छ र ?
केही बर्ष यताका दशैं आसपासको भाउ तुलना गर्दा मात्रै पनि यसपाली महङ्गी कति बढेको रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ । अन्य उपभोग्य सामग्रीहरुमा रहरको दालको मूल्य ०७७ असोजमा प्रतिकिलो १ सय ६० रहेकोमा ०७८ असोजमा १ सय ७०, ०७९ असोजमा १ सय ८५ रुपैयाँ पुगेको थियो । अहिले एक्कासि हवात्तै बढेर २ सय ३० रुपैयाँ पुग्यो भने अब दाज्नुस् त कतिको फरक किन र कसरी भयो भन्ने कुरा सोझै अनुमान गर्न सकिन्छ । रहर दालको भाउ दुई सातामै किलोको ३०/३५ रुपैयाले बढेको स्पष्ट देखिन्छ । ०७७ असोजमा प्रतिलिटर ९ सय रुपैयाँ रहेको नेपाली घ्यू अहिले बढेर १३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । ०७७ असोजमा प्रतिकिलो ४ सय ५० रुपैयाँ पर्ने जिरा पाउडरलाई अहिले १३ सय रुपैयाँ तिर्नुपरेको छ । चाडबाड नजिकिएका बेला बजार अराजक बन्ने आकलन गरेर सरकारले अनुगमन टोली त खटाएको छ तर त्यसको प्रभाव परेको अनुभूति उपभोक्ताले गर्न सकेकै छैनन । यसले बजार अनुगमन – नियमन प्रणालीमै व्यापक सुधारको खाँचो टड्कारो देख्न सकिन्छ । हुनेखानेले त जेनतेन टार्लान दैनिकी जीवन तर हुँदामात्र खानेहरुको अबको पर्वमा कसरी खाद्य सामग्री आपूर्ति गर्लान गम्भीर कुरा यहाँ छ । आज बजारभाउ अरु बेला सामान्य हुने तर चाडबाडको मुखमा आकासिने अवस्था नै विडम्बनापूणर् छ । अधिक खपत हुने चाडबाडको बेला ब्यबसायीले जतिसक्दो बढी नाफा आर्जन खोज्ने प्रवृत्ति प्रत्येक देखिन्छ । कतिपयले कृत्रिम अभाव नै सृजना गरेर पनि भाउ बढाइरहेका हुन्छन् । यतिसम्म गरेको देखिन्छ कि अन्य कामदार ज्यालादारीमा खोजेर अर्कै गोदाममा रातभर सामान सार्न समेत पछि हटदैनन ठूल्ठूला ब्यापारीहरु । उपभोक्ता मञ्च, उधोग वाणिज्य संघ लगायतका सरोकारवाला निकाय हुँदासम्म यस्ता कालोबजारी गर्ने ब्यापारीहरुलाइ कालो सूचीमा राखेर कानुनी दायरामा ल्याइन्न किन ? किनकि उनीहरू पनि कसैकसैको सेटिङ्गमै चलिरहेका छन् । भनाइ छ नि “ नेपालको कानुन दैवले जानुन “ । यसरी नै बिचौलियाहरुले देश चलाइरहेका छन ।
अर्को गम्भीर कुरा के पनि छ भने ब्यापारीहरुले भीडभाडको मौका पारेर तौल र गुणस्तरमा उपभोक्तालाई ठग्ने प्रबृत्ति दिनप्रतिदिन मौलाउँदो छ । चाडबाडमा अधिक खपत हुने जेमा पनि नभइ नहुने चिनी अहिले पनि बजारमा नपाइनुमा भने बर्तमान सरकार दोषी देख्न सकिन्छ । तर विपक्ष पनि हिजो सरकारमा रहँदासम्म यो समस्या अधिक थियो । यसमा कोहिपनि नपन्छिए हुन्छ । हिजोका दिनदेखि आजका दिनसम्म आइपुग्दासम्म हरेक क्षेत्रमा बिचौलिया र कालोबजारीको बिगबिगी छ । संघ सरकार अन्तरगतका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधि विभाग, कृषि विभाग, जिल्ला प्रशासन कार्यालयले बेला – बेलामा बजार अनुगमन गरिरहेकै छन् । उनीहरूको अनुगमन प्रायः राजधानी केन्द्रित मात्रै देखिन्छ भने कति स्थानमा झारा टारेको देखिन्छ । सबै सेटिङ्गमै पो चलेको हो कि भन्ने प्रतीत हुन्छ हामी उपभोक्ताहरुलाई । यसका लागि पनि जिम्मेवार निकाय बजार अनुगमन – नियमनमा बाह्रैमास सक्रिय रहन जरुरी छ, यसैमा सबैले हातेमालो गरौं । हामीमाझ बडादशै बिदा भएर गयो अब आउने शुभदीपावली, छठ लगायतका पर्वहरुमा कालोबजारी नहोस् । यदि कहिँकतै भएमा त्यसलाई खबरदारी गर्न तपाईं हामी जुटौं । सबैलाई यो कलमीको आउँदै गरेका पर्वहरुको अग्रिम शुभकामना ।