Banner कला साहित्य मनोरञ्जन विविध

नारायणगोपालको अन्तिम स्वरका संगीतकार भूपेन्द्रको सफलता

टीका भण्डारी

‘विरही माया अधुरो रह्यो विर्सनु कसरी’ बोलको नारायण गोपालको अन्तिम स्वर रहेको गीतमा सङ्गीत दिने सङ्गीतकार को हुन् ? अहिलेका पुस्ताले त्यति धैरै याद नगरेको हुनसक्छ । ती उम्दा संगीतकार तथा गायक हुन् भूपेन्द्र रायामाझी ।
उनी पढाईमा त्यति कमजोर थिएनन् । तर पनि टेवल ठोकेर गीत गुन्गुनाउने बानीले कक्षा कोठामा पछाडीको बेञ्चमा बस्न रुचाउँथे । गुरु कक्षाबाट बाहिरिन साथ साथीहरूको फर्माइस शुरु हुन्थ्यो । उनी बेञ्चलाई तबला बनाएर ठोक्न थाल्थे । त्यसबेला चलेका नेपाली र हिन्दी गीतहरू धेरै कण्ठस्थ थिए । साथीहरूको फर्माइस पुरा गर्न उनी हौसिंदै गीत गाउन थाल्थे । आफ्ना पितालाई छोराको टेवल ठोक्ने बानी कसैले सुनाइदिएछन् । छोराले टेवल ठोकेर गीत गाउँदा गाउँदा औंलाहरू सुन्निएको देखे । उनका पिता विराटनगरका चर्चित वकिल थिए । काठमाडौँ आउने क्रममा पिताले एउटा मादल किनेर छोरालाई उपहार दिए । त्यसपछिका दिनमा टेवलको सट्टा मादल ठोक्न थाले । आखिर त्यही मादलका तालहरूबाट शुरु भएको उनको साङ्गीतिक यात्रा विराटनगरको टाइरोज बेण्डमा रुपान्तरण भयो । त्यहाँबाट उठान भएको मेहनत र सङ्घर्षको यात्राले उनलाई रेडियो नेपालको सङ्गीतकार, एरेञ्जर बनायो, चलचित्र क्षेत्रको सङ्गीत निर्देशक बनायो । लाखौँ श्रोता तथा दर्शकको मनमा पुर्यायो ।


वरिष्ठ सङ्गीतकार, सङ्गीत एरेञ्जरको भूपेन्द्र रायमाझीको जन्म २०१६ साल पौष २९ गते मोरङ जिल्लाको विराटनगरमा भएको हो । देवी बहादुर सिंह रायमाझी र सकुन्तला रायमाझीका पाँच सन्तान मध्येका एक हुन् उनि । उनले २०३३ सालमा विराटनगरबाटै एसएलसी उतिणर् गरे। सङ्गीतमा स्नातक सम्मको अध्ययन पनि पुरा गरे। २०३९ सालमा रेडियो नेपालमा रत्न रेकर्डिङ संस्थानले प्रतिभाको डबली नामक कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा भूपेन्द्रले विशेष सङ्गीतकारका रूपमा पुरस्कार प्राप्त गरे। त्यसबेला निणर्ायकका रूपमा रहेका सङ्गीतकार नातिकाजी, शिव शङ्कर, तारा देवी, गोपाल योञ्जनको आँखामा परे उनी, मनमा गढे । उनले रेडियो नेपालमा पहिलो पटक १२ स्ट्रिङ गितार बजाएर ती हस्तीहरूको मन जितेका थिए । उनका सङ्गीत पनि निकै मन पराइए त्यहाँ । साङ्गीतिक क्रियाशीलता बढ्दै जाँदा उनले रेडियो नेपालका रेकर्डिङहरूमा गितार बाहेक मेन्डोलिन, बेञ्जोलिन, सन्तुर, कङ्गो, थुम्बा, किबोर्ड, हार्मोनियम, माउथ अर्गन अनेकन वाद्ययन्त्रहरू समेत बजाए । ५० को दशकमा चलचित्र हुरीमा सङ्गीत दिएपछि चलचित्र चोटमा सङ्गीत निर्देशन गर्ने अवसर पाए । त्यसको साङ्गीतिक सफलताले अन्य झन्डै २ दर्जन चलचित्रमा सङ्गीत गर्ने अवसर जुरायो । चलचित्र चोट, गोपीकृष्ण, महादेवी, दुश्मन, सोल्टिनी, तपस्या, अर्पण, मनकामना, हेलो प्रकृति, स्कुल आदिमा उनका सङ्गीत रहेका छन् । नेपाली सङ्गीतका वाद्य हस्ती सङ्गीतकार शुभ बहादुर सुनामलाई गुरु थापेका उनले रेडियो नेपालमा रेकर्ड भएका सयौँ गीतहरूमा सङ्गीत संयोजन गरेका छन् ।
वि.सं. २०३९ सालमा रेडियो नेपालमा भूपेन्द्रले पहिलो पटक वाद्यवादन गरेको गीत तारा देवीको स्वरमा थियो – ‘आँशु झर्दा पनि रूवाई भन्ने थाहा थिएन’ । उनको सङ्गीतमा २०४२ सालमा रेडियो नेपालमा पहिलो पटक रेकर्ड भएको गीत भने प्रेमध्वज प्रधानको स्वरमा थियो -चोखो प्रेमलाई । ‘विरही माया अधुरो रह्यो बिर्सनु कसरी’ भूपेन्द्रको सङ्गीतमा स्वर सम्राट नारायण गोपालले गाएको चलचित्र चोटको गीत नै नारायण गोपालको अन्तिम गीत बन्न पुग्यो । उनको सङ्गीतमा वलिउडका चर्चित गायन हस्तीहरू उदित नारायण झा, आशा भोस्ले, अनुराधा पोडवाल, कविताकृष्ण मुर्ति, साधना सरगम, कुमार सानु, पुणर्िमा लगायतका कलाकारहरूले गाएका छन् । प्रशासकीय रूपमा भूपेन्द्रले रेडियो नेपालको सङ्गीत महाशाखा प्रमुखका रूपमा डेढ दशक सेवा गरे भने एक कार्यकाल सञ्चालक समिति सदस्य समेत रहे ।
२०४२ सालमा वैवाहिक जीवनमा बाँधिएका भूपेन्द्रका एक छोरा एक छोरी छन् । उनको उम्दा संगीतकारको ऐतिहासिक उचाइले अझ उचाइको उडान भरिरहोस् । उनका संगीत सृजनाले देशको शान उचालिरहोस्, नयाँ पुस्ताको प्रेरणा भरिरहोस् ।
(रेडियो नेपालको निर्देशक समेत भइसकेका भण्डारी प्रसिद्ध संगीतकार हुन् )

You may also like