दमक/ दमक नगरपालिकाले विषम परिस्थितिका बीच पनि विकास निर्माणका कामलाई निरन्तरता दिएको जनाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने पूर्वाधार योजनाको तयारी तीव्र बनाउँदै नगरप्रमुख रामकुमार थापासहितको टोलीले बुधबार विभिन्न योजनास्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । वडा नं. २ का वडाअध्यक्ष प्रजापति सापकोटा, इन्जिनियर तथा पूर्वाधार विकास शाखा प्रमुख अनन्त प्रसाद सेनेहाङ, प्राविधिकहरुको टोलीद्वारा सो स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।
नगरप्रमुख थापाका अनुसार आगामी वर्ष दमक–२ को सहिद वनबाटिका दक्षिण जोगीचोक हुँदै पूर्व जाने सडक, देवीथान टोलदेखि भाइरल रोडसम्म, हिमावि उत्तर हिमालय टोल पश्चिम क्षेत्र, वडा नं. ३ को पारुहाङ मार्ग तथा बेलडाँगी रोड दक्षिणलगायतका सडक स्तरोन्नति गरिनेछ । आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य चाँडै सुरु गरिने उनले बताए ।
नगरपालिकाले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन नियमित अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । कहाँ कस्तो काम भइरहेको छ र आगामी दिनमा कुन क्षेत्रमा थप योजना आवश्यक छन् भन्ने विषयमा जनप्रतिनिधि र प्राविधिक टोलीले संयुक्त रूपमा स्थलगत अध्ययन भईरहेको नगरप्रमुख थापाले बताए ।
दमक नगरपालिकाका अनुसार चालु आर्थिक वर्षमा नगर तथा वडास्तरका ३१५ वटा भौतिक पूर्वाधार योजना तर्जुमा गरिएकामध्ये हालसम्म १०८ वटा योजना सम्पन्न भएका छन् । सम्झौता भएका योजनामध्ये अधिकांश निर्माणाधीन अवस्थामा रहेका छन् भने संघ र प्रदेश सरकारबाट प्राप्त १४ योजनामध्ये ९ वटा सम्झौता भए पनि हालसम्म एउटा पनि सम्पन्न हुन नसकेको थापाको भनाई छ । नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाईं) ले दक्ष जनशक्तिको अभाव, अनुगमन प्रणालीको कमजोरी तथा संघ र प्रदेशस्तरीय योजनामा समन्वय अभावका कारण कतिपय आयोजना समयमै सम्पन्न गर्न कठिनाइ भएको बताइन् । उनले स्थानीय तहलाई योजनाको मुख्य जिम्मेवारी दिए मात्र निर्माण कार्य समयमै र गुणस्तरीय हुने धारणा राखिन् ।
यसैबीच, दमकको बढ्दो सहरीकरणलाई व्यवस्थित बनाउन एशियाली विकास बैंक (एडीबी) को सहयोगमा पूर्वी सहरी करिडोर परियोजनाअन्तर्गत २६ वटा सडक स्तरोन्नतिको प्रस्ताव अघि बढाइएको छ । ती सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सम्बन्धित निकायमा बुझाइसकिएको नगरपालिकाले जनाएको छ । मापदण्ड पूरा भएपछि एडीबीको ऋण सहयोगमा सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढ्नेछ ।
हाल दमक नगर क्षेत्रमा १०३ किलोमिटरभन्दा बढी सडक कालोपत्रे भइसकेको छ भने ग्राभेल र कच्ची सडकको स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । योजनाबद्ध पूर्वाधार विकासमार्फत दमकलाई व्यवस्थित, आधुनिक र सुविधासम्पन्न नगरका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको नगरप्रमुख थापाले स्पष्ट पारे ।