यी आँखाहरु
रसिला छन
भरिला छन
चिहाउछन
मनन गर्छन
विवेक पुर्याउछन
निर्णय आफै गर्छन
यो संसार आफै हेर्छन
धमिला कहिले भएनन
यी आँखाहरु
दबिन चाहेनन्
हतासिन चाहेनन
फुट्न चाहेनन
जुट्न बरु अबेर भो
परीक्षा कसैले लिन सकेनन
यी आँखाले
के देखेन ?
के भोगेन ?
सबै भोग्यो
देख्यो
आदर्शको पाठ पढायो
ान्छे – मान्छे बिच बिभाजन भएको देख्यो
परिवर्तनको शङखघोष गरिरहयो हिजो
सुन्नेले सुने
देख्नेले देखे
तर
ती आँखाहरुलाई राजनीतिले घेर्यो
जनयुद्धदेखि धनयुद्ध सबै बिचरण गर्यो
कहिले थाकेन
३६ देखि मिसन ८२ सम्म आइपुग्दा
उथलपुथल भए यी आँखाहरु
हेर्नै नसक्ने , देख्नै नसक्ने भए हिजोसम्म
आँखाले आँखानै चिन्ह सकेन
गरेका भुलहरु स्विकारे न
झनै भुल गर्दै गयो
अहिले दोधारमा परेर अलमलमा पर्या छ
अनिर्णयको बन्दी बन्न खोजिरहेछ
खोइ कसरी दोषी चष्माको
आँखा सफा गर्ने हो
हेरौं न यसपाली थाहै नपाइ
छोपिएका अनगिन्ती आँखाहरु
चुपचाप–चुपचाप घण्टी पो
बजाइदिएछन
देशभर बिगुल पो फुकिदिएछन ……..!!!

माथिका कविताका भावहरु दोषी आँखाको निर्णय हुन । जसलाई यही सजिव मान्छेहरूले बुझ्न सकेनन, नियाल्न सकेनन । नजिकबाट हेर्न सकेनन । राजनीतिक लेप लगाए । आफू अन्धभक्त भए, फर्केर गाउँ हेरेनन, मजदुरका समस्या बुझेनन । सत्ता र शक्तिको दुरुपयोग गरे । आज त्यही आँखाहरु सबै परिवर्तन भएका छन तर दृष्टिदोष कहिलेपनि हटन सकेन । आज यही बिषयवस्तु अन्तर्गत सही र सत्य – तथ्य यथार्थ विष्लेषण “ आँखाले कसरी सही निर्णय गर्यो ? “ भन्ने बिषयलाइ यहाँ लेखमा तपाई पाठक वर्गहरुलाइ प्रेषित गर्दैछु । प्रसङ्ग बदलौ , गत फागुन २१ गतेको प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक निर्वाचनको परिणाम र यो परिणामले ल्याएको तिलस्मीमय परिवर्तनको बारेमा । जनताका आँखाहरु हिजोका दिनसम्म खुसी र बेखुसीसङ्गै बितेर गए । आशाका त्यान्द्राहरु तिनै आँखाहरुमै केन्द्रीत थिए । जब राजनीतिमा सुधारवाद होइन , अवसरवादको झुण्ड झाङगिदै गयो तब राजनीतिले सही दिशा मोड्न सकेन । भित्रभित्रै वितृष्णा मौलाउदै गयो । जनतामा निरासा र बिद्रोह जन्मियो । कहिले एउटाले बहुमतको सरकार बनाउने त कहिले आलोपालोमा सरकार चलाउने सकुनी खेल शुरु भयो । राजनीति यस्तो चक्रब्युहमा फस्यो कि जीवनभरि नेपाली जनताको लागि अभिसाप बन्न पुग्यो । जनता अल्मलिए, कहाँ जाउ, कसो गरौं भनि दोधारमा परे । हुन पनि हो हिजो ४८ देखि आज ८२ सम्म आइपुग्दा झुप्राका मजदुरहरुमा आशा देखाइयो निरासाहरु जन्मिदै गए । निरासा टाल्ने काम कसैले गर्नै सकेनन । हिजो कतिलाई जग्गाको धनी पूर्जा बाढ्ने, छाना, नाना र दानाको ब्यबस्थापन गरिदिने वाचाहरु सबै तिनै बुढाखाडा नेताहरूले भुले । माग सम्बोधन गर्न सकेनन, मखमली सत्तामा बस्ने चम्चेहरु बालुवाटार वरिपरि आसेपासेहरु सेटिङ्ग मिलाउन उद्दत भए । हिजो फर्केर गाउँका समस्यातिर लम्कन सकेन । उनीहरूको हिजोका दिनको ऐश आराम लुटखसौट हेरौ त आकाश पातालको फरक हामी पाउछौ । हिजो सत्तामा बस्दा तिनै नेता र तिनका धुपौरेलाई भेटन राजधानीसम्म जादा भेटै नदिएकाहरु यो पटक चुनावमा आउँदा उनीहरूको मुहारमा कान्ति छाएको देखिएन । जताततै जतासुकै आक्रोशका स्वरहरु सुनिए ।
अनलाइन खबर, युट्युब, टिकटक अनि अनलाईन भिडियोमा सर्वसाधारण देखि अनेक बुद्धिजीवीहरुले ठूला दल र तिनका नेता अनि चुनाव चिन्हमा अब दिने मताधिकारको अन्तरवार्ता कहिँ पनि सकारात्मक बोलेको देखिएन । योसम्म जान्दा ठूला नेताहरू आत्माआलोचना सम्म माग्न गएनन झुप्राका भोटर्सहरुसङ्ग । यहाँ ठूला दलहरुलाइ भित्री जनमत नदिने कारणहरु धेरै छन, एउटा दलीय सिण्डिकेट, नजर अन्दाज नबुझी यति हजार, उति हजार अन्तर, कान काट्छु, ….खान्छु, झुण्डिन तयार छु । फलानो यो हो, उ हो, आयातित हो केही गर्दैन भनेर सामाजिक संजालमा हुइम फिजाएर पटकपटक होहल्ला गर्नु पनि हो । एउटा प्याच्च – प्याच्च बोलिरहने अर्को जनताको दैनिकी जीवन सोधिरहने, अर्को नेताहरूको चरित्र हत्या नगर्ने यहाँ शालिनता र भद्रपनाले एकलौटी जनमत तेब्बर बढी ल्याउन सफल भएको देखियो । अर्को कुरा जीवन भर किसानको ढोका नहेर्ने, आफ्ना आसेपासेलाई भरणपोषण गर्ने, सिधासादा कार्यकर्ता मौन रहेर बसेका छन भने यथार्थ नबुझी केन्द्रसम्म खबर गरेर कार्वाही गर्न निवेदन गर्ने, अनि एउटा कच्चा ब्यक्ति जो जनतामा घुलमिल छैन उसैलाई मात्र पटकपटक पार्टीको जिम्मेवार पद दिलाइदिनुले एउटा निरीह कार्यकर्ताको मनोबल गिरेको देखिन्छ ।
जो मनि, मसल र राजनीति पसल खोलेर हाहुमा राजनीति गर्न आयातित पार्टीबाट आएकोलाई पदीय भागबन्डामा ठूलै पद दिएर हिजो सेल्टर बसेका कार्यकर्तालाई पाखा लगाइएको छ नि त्यो नै निरासा अनि बिद्रोहको मत हो , यो पटक । यहाँ प्रलोभनका नाममा रकम र मदिरा खाएर पनि जनमत ठूला दलहरुलाई दिएको देखिएन । हाम्रै झापा क्षेत्र नम्बर –०५ मै गाउँपालिका र नगरपालिकामा प्रत्यक्ष र समानुपातिकमा दिएको मतको तथ्यांक हेर्नुहोस आकाश पातालको फरक देखिन्छ रास्वपाको । अरु सबैभन्दा ठूला दलहरुले पाउने मत खोइ कता गयो ? स्पष्टै छ त, थाहा पाउनु भो ? यो मत निरासाको हो, जुन मत रास्वपाका उम्मेद्बारलाई दिएका छन् । यो मानेमा के पनि भन्न सकिन्छ भने हिजोका आँखाहरु चलायमान थिए तर ती आँखाहरुमा क्रमश ः ध्रुवीकरण बढदै – बढदै गयो । रुपान्तरित हुन पुगे, परिमार्जित भए, आफैले आफैलाइ तौल गरे अनि मत परिवर्तनको पक्षधरहरुलाइ देशभर गोप्य मतदान गरेर निर्वाचित गराए । पुराना राजनीतिक शक्तिला पिल्लरहरु पराजय भोग्न पुगे । वास्तवमा यही रहेछ लोकतान्त्रिक गणतन्त्रको उपादेयता । लोकतन्त्र जिन्दावाद ।

Author

You may also like