राजनीति सामाजिक सञ्जाल

माओवादीको केन्द्रीय कमिटीमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्णसमानुपातिक

 काठमाडौं / नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान पारित भएको छ।

विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएसँगै विधान पारित भएको हो।

सुझावहरू समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रूप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेपछि महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको छ।

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने भएका छन्।

केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। माओवादीले बहुपदीय संरचना कायम राख्दै १५ प्रतिशत मनोनीत गर्ने प्रावधान प्रस्ताव गरेपछि पदाधिकारी संख्या बढ्ने भएको हो।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ।

 

Author

You may also like