राजनीति

जनताको निराशा चिर्ने गगनकाे लक्ष्य

दमक, १४ माघ । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने क्रममा महामन्त्री गगनकुमार थापाको अगुवाईमा झापाको मेची पुल नजिकबाट शनिबार ‘संवाद यात्रा’ सुरु गरेको छ ।

केन्द्रीय समितिले माघ १३ देखि २६ सम्म सञ्चालन गर्ने अभियान अन्तर्गत यात्राको शुभारम्भ गर्दै थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीय स्तरका गुनासा सुन्नका लागि पार्टीले ‘संवाद यात्रा’ थालेको बताए । यात्रा शुभारम्भ कार्यक्रममा बोल्दै उनले भने ‘नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरिएको हो । यो यात्रामा पार्टीप्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने काम हुनेछ । यसबाट पार्टी सृदृढिकरणको बाटोमा पुग्छ ।’

उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे । महामन्त्री थापाले आफूहरू भुईँ मान्छेको प्रतिनिधि भएको जिकिर गर्दै पार्टीप्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए । उनले यात्रा आरम्भ गर्नुअघि मेची क्याम्पस परिसरमा रहेको सहिद राम थापाको सालिकमा माल्यार्पण गर्नुका साथै क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्दै प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकन समेत गरेका थिए ।

कार्यक्रममा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताको दुःख बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउनसमेत मद्दत गर्ने बताए । पार्टीलाई बदल्न थापाको भूमिका समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै थपे ‘हाम्रो पुस्ताबाट गगन थापा नै प्रधानमन्त्री हुने हो । प्रधानमन्त्री हुने मान्छे जनताका कुरा सुन्न संवाद यात्रामा निस्कनु भएको छ । यसले नयाँ सन्देश प्रवाह गर्नेछ ।’

कार्यक्रममा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेल, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापालगायत सहभागी थिए ।

महामन्त्री थापाले शनिबार नै झापा चोकमा चिया संवाद, कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन, कृषक समूहसँग संवाद र झापा बजारमा खुला संवाद कार्यक्रम समेत सम्पन्न गरी जनताका सुझाव लिएका छन् । ती ठाउँका स्थानीयले पुरानो पार्टी कांग्रेसले अव मुलुकमा लोकतन्त्रको पूर्ण बहाली गराउँदै भ्रष्टाचारमुक्त देश बनाउन अहम् भूमिका खेल्न सक्रियता अपनाउनु पर्ने सुझाव दिएका थिए । सहभागिले मुलुकमा नीतिगत भ्रष्टाचार मौलाएको भन्दै चिन्ता व्यक्त गरे । हात्तीपीडितहरुले हात्ती पीडितहरुको राहत प्रदान गर्नुपर्ने र हात्ती नियन्त्रणको नयाँ उपाय अपनाउनु पर्ने माग अघि सारेका थिए ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गतेसम्म चल्ने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले बताए ।

Author

You may also like