===  अवसरवादले राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई कमजोर बनाउँदै बैदेशिक थिचोमिचोलाई प्रश्रय दिइरहन्छ । नेपाली जनताले खोज्न चाहेको लोकतान्त्रिक राजनीतिक संरचनाको मुख्य वस्तु आत्मनिर्भर अर्थतन्त्रको लागि कामकाजी स्थिर सरकार नै थियो । तर दुर्भाग्य हो वा नियती नेपालमा स्थिर सरकार नहुने सम्भावना अब झन् बढिरहेको छ ।   =====
नरपति पाण्डे

   स्थिर सरकार कहिले पाउँछ मुलुकले ? लोकतन्त्रको नाममा सत्ता स्वार्थले अभिप्रेरित नयाँ पुराना राजनीतिक दलको चेत नखुल्ने पक्कापक्की हुँदै आएको छ । नेपाली राजनीतिमा विकसित हुँदै आएको अवसरवाद अहिले टड्कारो रुपमा छताछुल्ल हुन पुगेको छ । लेनिनको मान्यतालाई मान्ने हो भने उग्रवामपन्थी अतिवादको बिसौनी दक्षिण मोहडे राजनीति हुन्छ । यो मान्यता बोल्सेभिक क्रान्तिको विजयउन्मुख समयको सत्यता हो । गतिविधिको सूक्ष्म हेराइ र व्यवहारको सच्चाइले सिद्धान्तको दोहोलो र जनतालाई सास्ती दिने क्रम घटेको छैन । तिनले पक्षपोषण गर्छु भनेको वर्ग उनैद्वारा उपेक्षित, दमित र पीडित हुन पुगेको छ । बन्दले तर्साएर सानासाना स्कुले नानीहरुको मनोविज्ञान भ्रष्ट बनाइरहेछ । कामचोरहरुलाई मलजल गरिरहेछ । अनि सिद्धान्तले अङ्गीकार गर्नुपर्ने राजनीतिक अर्थशास्त्र तिनीहरुकै सत्ता अवसरले भग्नावशेष हुन पुगेको छ । समाजवादी अर्थशास्त्रको गफ लगाउने तर मान्छेमान्छे बीचको असमानता मेटाउन, श्रमिक वर्गको हितको पक्षपोषण गर्न, हेपिएका मानिसहरुलाई न्याय दिँदै समानतामुलक समाज निर्माण गर्ने आधारहरु तयार गर्न प्रयास गर्दागर्दै “मैले सत्ता नपाउने भएँ” भन्ने भूतले छुनु अवसरवाद मात्र नभएर विसर्जनवाद समेत हो ।
अवसरवादले राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई कमजोर बनाउँदै बैदेशिक थिचोमिचोलाई प्रश्रय दिइरहन्छ । नेपाली जनताले खोज्न चाहेको लोकतान्त्रिक राजनीतिक संरचनाको मुख्य वस्तु आत्मनिर्भर अर्थतन्त्रको लागि कामकाजी स्थिर सरकार नै थियो । तर दुर्भाग्य हो वा नियती नेपालमा स्थिर सरकार नहुने सम्भावना अब झन् बढिरहेको छ । जनताको मनमस्तिष्कबाट टाढिन पुगेका अतिरञ्जित छायाँहरु मिथ्या हुन पुगेका छन् । तिनीहरुलाई जनताको मतबाट जितेर शासन गरौला भन्ने आँट सायद गायब हुन थालेको हुनु पर्दछ वा अर्को वितण्डताको योजन तयारीका लागि वातावरण बनाइरहेछन् ।
गतिशील राजनीति स्थिर सरकारको खोजाइका लागि विभिन्न राजनीतिक आन्दोलनमा विशेष गरेर श्रमजीवी जनताको प्रमुख सहभागिता रहन गएको थियो । अतिवादले सिर्जना गरेको पीडाबाट छुटकारा लिन समेत नेपाली जनताले आन्दोलनका भिषण दिनहरुमा आफूलाई समर्पण गरे । आन्दोलनमा घुसपठियाहरुले नेपाली जनताको आशयलाई विकृत पार्न कोशिस गरे । त्यही अवसरमा राष्ट्रियताप्रति भित्र बाहिरबाट खतरनाक चालबाजी हुन गयो र त्यो अहिले ढुकेर दाउ पर्खिरहेछ ।
ठूलो कसरत र सकसलाई पार गर्दै फरक–फरक दर्शन र विचार भएका राजनीतिक दलहरु बीच संविधान घोषणा गरेका थिए । यस्तो अप्ठ्यारो काम सक्नेहरुले राष्ट्रियता, जनजीविका र अखण्डताका लागि एक मत हुन नसक्नु अर्को अचम्म हुन गएको छ । दलहरुको आन्तरिक जीवनमा नै भयङ्कर संकट सिर्जना भएको छ । परिवर्तनका संवाहक राजनीतिक दलहरुको आन्तरिक दलीय जीवन दुःखलाग्दो पाराले गुटैगुटको कुरकुरे रोटी झैं भएको छ । शुरुमा सर्वहारा (?) वर्गको हितका लागि गठन भएको वांमपन्थी राजनीतिक दल भित्र लम्पट सर्वहाराको बिगबिगी बढिरहेको छ । त्यसभित्र त्याग, समर्पण, लगनशीलता र उत्सर्गको भावनाले राष्ट्र र जनताका लागि राजनीतिक गर्ने कार्यकर्ताहरु गुटको बुटले किचिएका छन् भने सत्ता दुरुपयोग गरी आफू र आफ्ना पर्नेहरुलाई राष्ट्रिय सम्पत्तिको लुट गर्ने अवसर राजनीतिक नियुक्ति गर्ने परम्परा बसालेका छन् । हुक्के, चिलिमे र बैठके नियुक्ति गरी अत्याचारीहरुको कर्मले इमान्दारहरु थिचिएका छन् ।
बिगतमा राष्ट्र र जनताप्रति गरेका गरेका गल्ती र कमजोरीहरुको आत्मासमीक्षा र आलोचना गर्दै आउने भविष्यमा गल्ती र कमजोरी हुन नदिन तत्कालिन प्रचण्ड अध्यक्ष रहेको माओवादी र सात राजनीतिक दल (यसमा तत्कालिन सात दल) हरुले बाह्रबुँदे सहमतिमा प्रतिबद्धता जनाएका थिए (हेर्नुहोस् विस्तृत शान्ति सम्झौता पेज३४) । शान्ति प्रक्रियालाई पूर्णता दिन पे्रस स्वतन्त्रता र मानवअधिकारका मुल्य–मान्यताहरु प्रति सम्मान प्रकट गरेका थिए तर दाउपेचको कोपभाजनमा मुलुक पर्दै गयो । एक किसिमको विद्रोह र विध्वंसबाट नेपालाई बर्बाद पार्न नसकिने देखिपछि अर्को खाले क्षेत्रीय वितण्डता मुलुकमा भित्रियो । मुलुक अनिश्चितता र अस्थिरताका चेपमा चेपियो । भइरहेका जनताका जनजीवीकाका माध्यमहरु पनि धरासायी भएका भए ।

विदेशी पराइहरुको डिजाइनमा देश भित्र विध्वंस हुन पुग्यो । दलहरुमा अविश्वासको दूरी बढेर निषेधको चरणमा प्रवेश गरे । जुन नेपालीहरुले आशाा गरेको विपरीतको कर्म थियो । असुरक्षा पनि दलहरु कै बीचको अविश्वासको प्रतिफल हो । बाहिरबाट हुने गरेको हस्तक्षेप पनि तिनैभित्रका मतियारहरुको सुलसुले क्रियाकलापले हुने गर्दथ्यो र अझै त्यो निरन्तर छ । जनताहरुले आशा गरेर पत्याएका राजनीतिक दलहरुको नेतृत्व मण्डली सत्ताको लागि अर्जुनवाण हुने गुटबन्दीको खेलमा अभ्यास्त छन् मानौं यि भालु हुन् र चटके रिमोट बोकेर अन्यत्रै कतै छ । यत्रा–यत्रा ज्यान र टाउको गरेका नेतृत्वहरु माखाको जति चित्त र पित्तझैं गरेर आºनै दलभित्र परस्परको यदुवंशी झगडा गरेर जनतालाई आहत मात्रै थप्दैछन् । कामकुरोलाई पार लगाउन नसम्ने राडीमा बसेर मात्र गफ चुट्ने नेतृत्व मण्डलीको नेतृत्व क्षमता पनि प्रष्ट उजागार भैसकेको छ ।
विशाल दिल, सहन क्षमता र दूरदृष्टि लिएर मुलुक माथि खनिएको संकट पार लगाउने अर्जुनदृष्टिको खा“चो भएको यस बखतमा अपराधहरुको ढाकछोप गर्न र अपराधहरुलाई मिनाहा गर्न अर्जुनदृष्टि, पार्टी थिलथिलो पार्न अर्जुनदृष्टि हजारौं शहीदहरुको स्वाभिमान र बलिदानलाई अवमूल्यन गर्न अर्जुनदृष्टि र सत्ताको चुलीमा कसरी पुग्न सकिन्छ भन्ने ध्याउन्नमा मात्र अर्जुनदृष्टि । एकलब्यको कुरा उठाए । अर्जुनदृष्टिको प्रचार गरे । संविधानसभाको निर्वाचनबाट निर्वाचित भएका सबै दलहरुको सामूहिक प्रवृत्ति यस्तै भएको छ । जनताको जनजीवीकाप्रति संवेदनशील बनेर उभिन नसक्नु क्रान्ति र लोकतन्त्रप्रति ढाेंग मात्र भएको छ । जनताहरुले उपभोग गर्ने बस्तुहरुको बजार भाउ समाल्नै नसक्ने गरी बढेको छ । जनताहरुको क्रयशक्ति बढाउने अवसरहरुको बन्दोबस्ती कहीं कतै छैन । राज्यका शासकीय अ¨हरु अस्तव्यस्त छन् । संस्कारहीन राजनीतिक भागबण्डाको संस्कृतिले मनोमालिन्य बढेको छ । जनताहरुले आफ्नो स्थानीय सरकार गठन गर्न पाएका छैनन् । गुटगत प्रवृत्तिले राजनीतिक पार्टीहरुमा “राजनीतिकअन्तर प्रजनन्”बढिरहेको छ ।
विगतका सामन्तहरु भन्दा अहिलेको प्रगतिशिलताको आवरणमा हुर्किएका नवसामन्तहरु झन जौडे सामन्त भएर उदाउँदै छन् । यहाँ सम्मकि राजनीति नियुक्ति समेत एकाघरपरिवारका सन्तानहरु नियुक्ति गर्न पुगेका छन् । यसको कारण आगामी निर्वाचनका लागि विशाल धनराशी जम्मा गरेर नानाभाँतीका प्रचार गर्दै कमजोर नागरिकहरुलाई पैसाले खरिद गर्ने यिनको दाउ छ । यो सत्तामा झम्टाझम्टी त्यसैका तयारीका लागि भएको प्रष्टै देखिँदै छ । यिनलाई मुलुकमा समृद्धि भाषणमा गर्नु छ । सत्तामा लुछाचुँडी गरिरहनु छ । एउटा दलमा बसेर भ्रष्टाचार, दूराचार, अनैतिकता, हत्या, लुट गरेर त्यहाँ कारवाहीमा पर्नासाथ अर्काे पार्टीमा ठाँटबाँटका साथ प्रवेश हुन्छन् । गुप्ती साँठगाँठ मिलाउँदै सरकार फेरबदल गर्न योजना बनाउँछन् के स्वार्थमा ठेस लाग्न पुग्दछ आफैँद्वारा निर्मित सरकार आफैँ ढलाउँछन् र अर्कोसँग पुनः साँठगाँठ गर्न पुग्छन् । आफू बदमासी गर्छन् दोष अर्कालाई लाउन लाजघिन मान्दैनन् । नागरिकलाई निरीह प्राणी ठान्छन् । यो जस्तो बेसरम राजनीति खेल दुनियाँमा सायदै नहोला ।
अनि पार्टी भित्र साजिस गर्नेहरु मन्त्री तथा ठूला ठूला राजनीतिक नियुक्तिका पदहरुमा बिराजमान हुन्छन् । के यो नयाँ नेपाल निर्माण गर्न सुहाउने राजनीतिक संस्कार होला ? यस्तो राजनीतिक अनुशासनहीनता नै मुलुकको अस्तित्व समाप्त गर्ने लक्षण हो । त्यसैले राजनीतिक दलहरुले एउटा विशिष्ट उपायको खोजी गरेर मुलुकप्रति नेपथ्यबाट नराम्रो कुट खेल खेल्ने कोही पात्र छ भने त्यसलाई परास्त गर्ने योजना बनाएर आ–आºना फरक मान्यता र दृष्टिकोणहरुलाई अलग राखी स्थिर सरकार बनाउने र टिकाउने राजनीति चेत खुल्नु पर्दछ । यस्तो कर्म गर्ने प्रवृत्तिले मात्र एकलब्य र अर्जुनदृष्टि भएको ठहरिने छ । राजनीतिक दलहरु नै निर्णय गर्ने शक्ति भएकोले उनीहरुको सद्बुद्धिका लागि कामना छ ।
nvinnp45@gmail.com   

Author

You may also like