मुख्य राजनीति

चार मन्त्री थपेर सरकार विस्तारको तयारी

विराटनगर , १५ माघ। कोशी प्रदेश सरकारले थप ४ मन्त्री सहित मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेको छ ।

मन्त्री परिषद विस्तारको विषयमा सामान्य छलफल भएको तर मन्त्रीमण्डलमा रहने सदस्य र मितिका बारेमा यकिन भइनसकेको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले जानकारी दिए । स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको उल्लेख छ । जसमा कांग्रेसबाट प्रदिप कुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी रहेको स्रोतले जनाएको छ । यता, माओवादी केन्द्रबाट भने एक जना मात्रै मन्त्री बन्ने परिस्थितिमा उदयपुरका नारायण बुर्जा मगर र दुई मन्त्री बन्दा संखुवासभाका राजेन्द्र कार्की नियुक्त हुने सम्भावना रहेको छ । यता, मुख्यमन्त्री कार्कीले माओवादीबाट तत्कालका लागि एक जना मात्रै मन्त्री थप गर्ने योजनामा छन् । तर, माओवादीले दुई मन्त्री नियुक्त गर्न दबाब दिइरहेको छ । शुक्रबार बैठक बसेको भएपनि त्यसबारे ठोस निर्णय भनें भएन ।

एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राईले सरकार विस्तार छिटो गर्नु भनेर आफुहरु चाँही तयार भएर अनुरोध गरेको भएपनि मुख्यन्त्रीले समय माग गरेको बताए । हाल कांग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भइसकेका छन् । कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

You may also like