मुख्य स्वास्थ्य

सबैले औषधि नखाँदा उन्मूलन गर्न गाह्रो

दमक, ०६ वैशाख । कोशी प्रदेशको झापा जिल्लाले अझै पनि हात्तीपाइले रोगबाट उन्मुक्ति पाउन सकेको छैन । कोशीमा झापा जिल्लामात्रै हात्तीपाइले रोग उन्मूलन हुन बाँकी रहेको जिल्ला हो । यहाँ आगामी वैशाख १६ देखि ३० गतेसम्म निःशुल्क औषधि खुवाउने अभियान चलाइने भएको छ ।

बुधबार दमक नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको हात्तीपाइले रोगविरुद्धको नगरस्तिरीय गोष्ठीमा बोल्दै स्वास्थकर्मीहरुले सबै नगरबासीले औषधि नखाइदिँदा समस्या कायमै रहेको गुनासो गरे । वार्षिक करोडौँ रुपियाँ खर्च गरेर नेपालमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएकोमा स्वास्थ्यकर्मीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश वाह्राकोटीले झापामा हात्तीपाइले उन्मूलन गर्न पालिका र जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा खटेर सहयोग गर्न आग्रह गरे । उनले गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोगी, मुटुरोगी एवं मिर्गौला, जन्डिस र कलेजोका दीर्घ रोगीहरू, सिकिस्त बिरामीहरू र दुई वर्ष नपुगेका बच्चाहरू बाहेक अरू सबैले यो औषधि सेवन गर्न सक्ने बताए ।

‘हात्तीपाइले रोग उन्मूलन गर्न गाह्रो नै पर्छ, वास्तवमा रोगीहरूको खुट्टा सुन्निएको तस्वीर देखेर मानिसहरू औषधि खानै डराउने गर्छन् । यस्तो हुँदैन भनेर जनचेतना जगाउन आवश्यक छ ।’– दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले भने । कार्यक्रममा दमक नगरभित्र सो औषधि खुवाउन योग्य १६ जना स्वास्थ्यकर्मी छन् । एकलाख ६ हजारबढीलाई औषधि खुवाउन ५२ जना स्वास्थ्यकर्मी आवश्यक पर्ने भएकाले जनशक्तिको पनि अभाव रहेको भट्टराईले बताए । उनका अनुसार १ दशमलव ४४ प्रतिशतमा जिवाणु रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले औषधि सेवन गरेको १० महिनामा जाँच गर्ने गरेको उनले बताए ।

हात्तीपाइले रोग उन्मुलन गर्न सरकारले १३ वर्षअघिदेखि राष्ट्रव्यापी अभियान शुरु गरेपनि झापामा अझै हात्तीपाइलेका विरामी देखिएका छन् । विश्वका ७२ देशमध्ये २८ देशले सेवा समापन गरिसकेका छन् भने अहिलेसम्म यो रोगका कारण ४ करोड मानिस अंगभंग भएको तथ्यांक छ ।

कार्यक्रममा दमक नगरका सामाजिक संघसंस्थाका प्रतिनिधि, स्वास्थ्य विभागका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीले सर्वसाधारणलाई औषधिमाथि विश्वासनीयता हुनेगरी अभियान चलाउन र जनतेतना अभिवृद्धि गर्न सुझाव दिएका थिए ।

वासस्थान वरिपरी सफा राख्नुपर्ने, लामखुट्टेबाट बच्ने उपायहरू अपनाउनु पर्ने र शरीरको कुनै अंग सुन्निन थाले रगत परीक्षण गराइहाल्नु पर्ने उनको सुझाव छ । चिकित्सकहरूका अनुसार पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हुने हात्तीपाइले रोग लागेपछि जीवनभरि निको हुँदैन । यो परजीवी करिब छ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार छ वर्ष नियमित औषधि सेवन गर्नै पर्ने हुन्छ ।

नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २००३ मा उक्त अभियान सुरु गरेको थियो । तर लक्ष्यभित्र रोग उन्मूलन हुन सकेन । सन् २००३ मा १३ प्रतिशत नेपालीमा देखिएको हात्तीपाइले रोगको उन्मूलनकालागि निःशुल्क वितरण गरिएको औषधि खान डराएकालाई अभियानमा खटिएका स्वास्थ्य स्वयम्सेविकाहरूले घरघरमै पुगेर औषधि सेवन गर्न आग्रह गरिरहेको अधिकारीहरुले बताएका छन् ।

Author

You may also like