दमक, १५ माघ । नेपाली कांग्रेस झापाको आइतबार सम्पन्न विस्तारित बैठकले सहिद दिवसको अवसर पारेर माघ १६ गते पार्टीका अग्रज नेता, प्रजातान्त्रिक योद्धा र शहीदहरुको सम्झना र सम्मानमा जिल्लाका १० स्थानमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्व र केन्द्रीय प्रतिनिधि मधु आचार्यको प्रमुख आतिथ्यमा जिल्लाका पदाधिकारी, सदस्य, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ÷नगर सभापतिहरुको सहभागितामा सम्पन्न जिल्ला समितिको विस्तारित बैठकले त्यस्तो निर्णय गरेको हो । कांग्रेसका अग्रज नेता एवं शहीदहरुको प्रतिमामा माल्यार्पण एवं स्मृतिसभा गरी शहीद दिवससँगै समुदायमा कांग्रेस अभियान शुभारम्भ गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव कृष्ण हुमागाईंले जनाए ।
जस अन्तरगत क्षेत्र नं १ मा याम आचार्य स्मृति प्रतिष्ठान बुद्धशान्ति, शहीद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठान बाहुनडाँगी र वी.पी. स्मृति प्रतिष्ठान चन्द्रगढीमा कार्यक्रम हुनेछ । क्षेत्र नम्बर २ अन्तरगत सि.के चिन्तन प्रतिष्ठान, बुटन चौधरी स्मृति प्रतिष्ठान, सहिद राजन गिरी स्मृति प्रतिष्ठान अर्जुनधारामा पनि कार्यक्रम गरिने छ । क्षेत्र नम्बर ३ अन्तरगत राम थापाको शालिकस्थल भद्रपुर र चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठान कचनकबल, ४ मा तुर्सा हेमरम स्मृति प्रतिष्ठान, श्यामसुन्दर यादवको स्मृतिसभा वी.पी. स्मृति भवन गौरादहमा कार्यक्रम गरिने पनि निर्णय भएको छ । ती क्षेत्रमा पार्टीले प्रतिनिधि समेत तोकेको छ ।
पार्टीका अग्रज नेता एवं शहीदहरुको सम्मान र स्मृतिमा हुने कार्यक्रमका बीच जनताका अपेक्षा, सुझाव र गुनासो सुनेर सम्बन्धित तहमा कार्यान्वयनका लागि पहलकदमी गर्ने र पार्टीको नीति निर्माणमा समेट्ने उद्देश्यसहित नेपाली कांग्रेसले यही माघ १३ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको समुदायमा कांग्रेस अभियानको पनि शुभारम्भ गरिने पनि उल्लेख छ । कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम यसअघि आन्तरिक विशेष अभियान सम्पन्न गरेको कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको हो । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य प्रतिनिधिका रुपमा झापा आइसकेका छन् ।
अभियानकै क्रममा यही माघ १८ गते महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, गाउँ÷नगर सभापतिहरुका लागि अभिमुखीकरण कार्यक्रम जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको छ । माघ २४ गते जिल्लाका १३१ वटै वडामा जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा दिनको ११ बजे एकै समयमा समुदायमा कांग्रेस अभियान अन्तरगत जनतासँग संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
अभियानका क्रममा खुल्ला छलफल, समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाह अवलोकन, स्थानीय सरकार–वडा कार्यालयमा भ्रमण र संवाद लगायतका कार्यक्रम तय गरिएको केन्द्रीय प्रतिनिधि मधु आचार्यले जनाए । खुला छलफलमार्फत तीनै तहका सरकारसँग जनताका अपेक्षा, गुनासा सुन्दै सुझाव संकलन गर्ने, समूहगत छलफलमा वडास्थित नागरिक समाज, शिक्षक, प्राध्यापक, आमा समूह, युवा समूह, कृषक समूह, स्वास्थ्य समितिहरु, व्यवसायिक समूहसँग, मजदुरसँग छलफल गरिने बताइएको छ ।