दमक । सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले हिरासतमा राखी अनुसन्धान गर्न ६ दिनको म्याद दिएको छ ।
लामिछानेलाई कास्की प्रहरीले आइतबार जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो । शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई शनिबार बिहान ३ बजे पोखरा पु¥याइएको थियो भने शनिबार सार्वजनिक बिदा परेकाले आज अदालत लगिएको थियो ।
लामिछानेलाई गोर्खा मिडियाको सञ्चालक र प्रबन्ध निर्देशक रहँदा पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा म्याद थपेर अनुसन्धान गर्ने र पुरक मुद्दा लैजाने गरी प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।
प्रहरीले जिल्ला अदालत कास्कीमा पेश गर्ने क्रममा लामिछानेले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया समेत दिएका थिए । उनले भ्रष्टाचारको जगमा उभिएको वर्तमान सरकारले आफूमाथि झुटा मुद्दा लगाएको बताए । उनले केपी ओली सरकारमा रहेसम्म यस्ता ‘अपराध’ भइरहने आरोप लगाए । उनले भने उनले भने– ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै विश्वास छ, तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुःख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ ।’
देशका लागि सडकमा आउनुपर्ने अवस्था आउन सक्ने भन्दै लामिछानेले भने, ‘केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ । त्यसैले यो अधिनायकवादी सरकारविरुद्ध यही वेलामा देशैभरिबाट जो–जो जहाँ–जहाँ हुनुहुन्छ, मेरो लागि होइन, देशको लागि बाहिर निस्कनुपर्ने बेला आउन सक्ने बताए ।’
पोखरामा आज पनि प्रदर्शन
सहकारीमा संलग्नता नभएको व्यक्तिलाई पक्राउ गरेर झुट्टा मुद्दा लगाएर फसाउन लागिको आशंकामा पोखरामा रास्वपाका नेता कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरुको मानव सागर उर्लिएको थियो । पोखरासहित देशभरका सहरहरुमा लामिछानेको रिहाइको मागसहित आन्दोलनकारीको भिडले सुरक्षाकर्मीलाई समेत निकै हम्मे हम्मे बनाएको थिाये । पोखरामा जनसागर थाम्न नसकेर निषेधाज्ञा र अश्रूग्यास अनि पानीको फोहराको सहारा लिन सुरक्षाकर्मी बाध्य भएका तर तै पनि रविका समर्थहरु नहल्लि निषेधाज्ञाको समेत वास्ता नगरी सरकारी रवैया तोडेरै बसेका थिए । पोखरामा रास्वपाका नेता, कार्यकर्तामाथि पञ्चायती शैली अपनाएको देखिन्थ्यो । सरकार विरोधी विभिन्न प्लेकार्ड बोकेर नाराबाजीसमेत गरिएको थियो । निरंकुश र अहंकारी प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा नाराबाजी लगाउँदै उनीहरुले आआफ्नो स्थानमा कोणसभा समेत गरेका छन् ।
बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएका रविका समर्थक नाराबाजीसहित पृथ्वीचोकतर्फ लागेका हुन्। ¥याली सहिदचोकबाट वाइचोक, रत्नचोक, सिर्जनाचोक, सभागृहचोक हुँदै पृथ्वीचोकमा पुग्नेछ। पृथ्वीचोकमा पुगेर कोणसभा गरेको हुन ।
एक महिला पक्राउ
लामिछानेको समर्थनमा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् । आइतबार प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो । उनले सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।
निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिदचोक आसपास र गैह्रापाटन आसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।
रास्वपाका समर्थक र सहकारी पीडित
लामिछाने पक्राउ परेकै दिनदेखि आन्दोलनरत रास्वपाकर्मीहरुको भिड नियन्त्रण गर्न सरकारले नसकेपछि केही सहकारी पीडितहरुलाई उक्साएर तुल, ब्यानरसहित विभिन्न नाराबाजी समेत गर्न लगाइएको थियो । समर्थक र विरोध दुई पक्षबीच झडप हुने भए पछि जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा जारी गरेको जनाएको छ ।
सहकारी ठगी प्रकारणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका नेता–कार्यकर्ताहरुले पनि पोखरामा विरोध प्रदर्शन गरिरहेका बेला एकाएक सहकारी पीडितको नाममा एक खालको भिड उतारलेर लामिछानेका मतियार पोखरा छोड जस्ता नारा लगाउन उनीहरुलाई प्रयोग सरकारले गरेको आशंका रास्वपाका नेताहरुले गरेका छन् । उनीहरुले प्रहरी प्रशासन सहकारी ठगको मतियार बनेको आरोप पनि लगाउन भ्याए । उनीहरुले प्रहरीलाई निषेधित क्षेत्रबाट रास्वपाको भीड हटाउन चेतावनी दिएका थिए ।
विश्लेषक सुरेन्द्र केसीको टिप्पणी
राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सहकारी क्षेत्रको कूल ८७ अर्ब अपचलन प्रकरणमा सबैभन्दा कान्छो राष्ट्रिय स्वतन्त्र पार्टी रहेको टिप्पणी गरेका छन् । रवि लामिछाने नेतृत्वको पार्टीमा संलग्न मानिसहरुले सहकारी १४ अर्ब घोटला गरेको बाँकी कांग्रेस, एमाले र माओवादीको भागमा रहेको बताए ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालद्वारा समसामयिक विषयमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले ९५ प्रतिशत सहकारी ठगीको हिंस्सा कांग्रेस र एमालेको भागमा रहेको बताए ।
‘करिब १४ अर्बको घोटला रवि लामिछाने सम्बद्ध पार्टी देखिन्छ । ८७ अर्बमध्ये बाँकी अरु तीन पार्टीहरुको भागमा पर्छ । ९५ प्रतिशत जति कांग्रेस र एमालेको भागमा पर्छ । माओवादी गरिब पार्टी भएकाले एक जनामात्रै रहेछन् ठग । त्यो भन्दा पनि गरिब भएकाले राप्रपाको पनि एक जना भए । यो रास्वपा भन्ने गरिबमध्येको पहिलो रहेछ, यसले १४ अर्ब घोटला गर्यो,’– उनले भने ।
गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, संसद्को सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाले नेता ऋषिकेश पोखरेललगायतका व्यक्तिहरु सहकारी ठगीमा संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । अभियन्ता युवराज सफलले आइतबार गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगीमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
गृहमन्त्रीको भनाई
गृहमन्त्री रमेश लेखकले अपराध गरेको छ भने कानुनअनुसार अनुसन्धान हुने बताएका छन् । अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न उनले सचेत गरेका छन् । ‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ। अर्को कुरा अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्ने, त्यसपछि झगडा गर्न आउने काम पनि गर्नु हुन्न,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने, ‘अपराध गरेको छ भने देशको कानूनले, पद्धतिले, प्रक्रियाले त्यसको अनुसन्धान हुन्छ ।’ गल्ती गरेर प्रहरीसँग जाइलाग्न नहुने पनि उनले बताए । ‘गल्ती गर्ने अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने अथवा मैले भनेको कुरा ठिक हो भन्ने ढगले जानु हुन्न,’ गृहमन्त्री लेखकले भने।
प्रतिपक्षको भूमिका
लामिछानेलाई पक्राउ गरेपछि अहिले पक्ष/विपक्षमा चर्को बहस भइरहेको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको एक अर्ब ५० करोड ९० लाखभन्दा बढी रकम हिनामिना भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । मुख्य आरोपित सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु(जीबी) राईसँग मिलेर संगठित रूपमा गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप लामिछानेमाथि लगाइएको छ ।
सहकारी ठगी र संगठित अपराध गरेको विषयमा उनीसहितका आरोपितविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो । सोही मुद्दाका अर्का आरोपित तथा पूर्वडीआइजी छविलाल जोशी अनुसन्धानका क्रममा अहिले प्रहरी हिरासतमा छन् । सहकारी ठगीका मुख्य आरोपी राई भने अझै फरार छन् ।
रास्वपासहित उनका समर्थक, शुभचिन्तकहरूले राजनीति प्रतिशोधका आधारमा सरकारले लामिछानेलाई पक्राउ गरेको आरोप लगाएका छन् । देशका विभिन्न सहरमा रास्वपाका नेता तथा कार्यकर्ताले अहिले सरकारविरूद्ध प्रदर्शन गरिरहेको छ । यता कांग्रेस–एमालेसहित सत्तापक्षले सरकारको कदमको बचाउ गरिरहेका छन् । विगतमा पनि बहालवाला सभामुखसहित पूर्वउपप्रधानमन्त्री, गृहमन्त्री, दलका प्रभावशाली नेताहरू पक्राउ परेकाले न्यायिक प्रक्रियालाई सघाउन उनीहरूले आग्रह गरेका छन् ।
तर प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत विपक्षी दलहरूले अहिलेसम्म संस्थागत धारणा सार्वजनिक गरिसकेका छैनन् । तथापि लामिछाने पक्राउको विषयमा विपक्षी दलले दुईथरी मत व्यक्त गरेका छन् ।
पहिलो मत कानुनी प्रक्रियाबाट अगाडि बढ्ने कुरामा रास्वपाले समेत अवरोध नगर्ने भनिसकेको अवस्थामा कानुनी प्रक्रियालाई अवरोध गर्न नहुने पक्षमा विपक्षी दलहरू सचेत देखिएका छन् । दोस्रोमा ओली सरकारको नियत राजनीतिक आग्रह र पूर्वाग्रहबाट प्रेरित रहेको उनीहरूले आरोप लगाएका छन् ।
राजनीतिक रूपमा लामिछानेको पक्राउविरूद्ध ऐक्यबद्धता जनाउने वा नजनाउने विषयमा ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् ।
शुक्रबार लामिछाने पक्राउअघि संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकमा पक्राउको विषयलाई लिएर छलफल भएको थियो ।
यस विषयमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा गम्भीरतापूर्वक उठाएका थिए । उनले उठाएको विषयमा प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक गम्भीर नदेखिएको बैठकमा प्रचण्डले ब्रिफिङ गरेका थिए । आफू पक्राउ पर्नेमा लामिछानेले पहिले नै छनक पाइसकेका थिए । उनलाई जसरी पनि पक्रिने पक्षमा ओली र गृहमन्त्री रहेको विषयमा प्रचण्डले नै बिहानको बैठकमा ब्रिफिङ गरेपछि रास्वपाले केन्द्रीय कार्यालय बनस्थलीमा आकस्मिक बैठक बोलाएको थियो ।
बैठकले सरकारको प्रतिशोधको राजनीतिविरूद्ध शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन आग्रह गरेको थियो ।
बेलुका लामिछाने पक्राउलाई लिएर नेता तथा कार्यकर्ताले सरकारविरूद्ध नाराबाजी गरे पनि उनलाई प्रहरीले नियन्त्रणमा लिँदा अवरोध भने गरेनन् । आन्दोलन व्यवस्थापन, न्यायिक प्रक्रियामा सघाउनका लागि रास्वपाका केन्द्रीय नेताहरू अहिले पोखरा पुगेका छन् । काठमाडौँ उपत्यका लगायत देशभर रास्वपाका नेता तथा कार्यकर्ताहरू आन्दोलनमा होमिएका छन् ।
‘ओली सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा हाम्रा सभापतिलाई पक्राउ गरेको छ । सत्ताको भ्रष्टीकरणविरूद्ध देशभर शान्तिपूर्ण विरोध गर्छौं । भ्रष्टाचारविरूद्ध हाम्रो यो अभियान थप सशक्त भएर अगाडि बढ्छ तर अदालतको न्यायिक प्रक्रियामा पार्टीको कुनै अवरोध हुने छैन’, उनले भने ।
रविको पक्राउ सम्बन्धमा विपक्षी दलहरूबाट अहिलेसम्म ऐक्यबद्धता नआएको उनले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले लामिछाने पक्राउको विषयमा राजनीतिक रूपमा ओलीले पूर्वाग्रही भएर लामिछानेलाई पक्राउ गराएको उनको बुझाइ छ ।
खनालले ठुल्ठुला भ्रष्टाचारको फाइललाई लुकाउन सरकारले अन्य विषयलाई उछालेको आरोप लगाए । ‘ओली सरकार बाहिरबाट हेर्दा शक्तिशाली देखिए पनि भित्री रूपमा निकै खोक्रो भइसकेको छ । कुनै भिजन र दम छैन । स–साना कुराबाट त्रसित देखिएको छ । देशमा ठुल्ठुला भ्रष्टाचार काण्डका शृङ्खला छ, जसबारे विभिन्न सरकारको पालामा फाइल खोल्छौँ भनेका थिए । वास्तवमा त्यस्तो शृङ्खला छँदैछ ती फाइल अहिले सामसुम भएको छ । रवि लामिछानेको कुरा बढी मात्रामा उछालिएको छ’, खनालले भने । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले सहकारी बचत अपचलनमा रवि दोषी हो वा होइन भन्ने कुरा न्यायिक निरूपणको विषय भएको बताए । उनले भने–रविलाई ओलीले नै काखी च्याप्दै आएको र पछिल्लो समय स्वार्थ नमिलेपछि पूर्वाग्रह राखेर पक्राउ गरिएको हुन सक्ने पोखरेलको आशंका छ ।