दमक/कोरोनाको संक्रमण दर दैनिक रुपमा घट्न थालेपछि अस्पतालहरुमा बिरामीको चाप पनि घट्न थालेको छ । उपचाररत बिरामीहरु डिस्चार्ज भएको र नयाँ बिरामी आउन छाडेपछि दमकको एड्भान्स अस्पतालको कोभिट युनिटमा अहिले बिरामीको संख्या शून्य छ । कोरोना संक्रमण दर उच्च बन्दै बिरामीले उपचारनै नपाउने अवस्था बनेपछि गत बैशाख २२ गतेदेखि सुरु भएको एड्भान्सको कोभिड युनिट अहिले बन्द गरिएको छ ।
उपचाररत बिरामी डिस्चार्ज भएको र नयाँ आउन छाडेपछि कोभिड युनिट बन्द गर्नु परेको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए । ३ वटा भेन्टिलेटरसहित २३ बेड सहितको कोभिड युनिटलाई बिरामी आउन छाडेपछि हाललाई बन्द गरिएको उनले बताए । शुक्रबारदेखि अस्पतालको इमरजेन्सी बाहेक सम्पूर्ण सेवा बन्द गरिएको उनले प्रष्ट पारे । कोभिड युनिट बन्द गरी पूरै अस्पताललाई निर्मलीकरण गर्नुपर्ने भएकाले इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको सञ्चालक बरालले बताए ।
अहिले अस्पतालको सबै वार्डलाई सेनिटाइज गरी बन्द गरिएको र आइतबारबाट नियमित सेवा सुरु हुने अस्पतालका अध्यक्ष माधव पराजुलीले जानकारी बताए । कोरोनाका बिरामी आउने क्रम रोकिएकोले आज आइतबारदेखि अस्पतालका अन्य नियमित सेवा सुरु हुने उनले बताए । आगामी दिनमा संक्रमण दर बढेर बिरामी आउन थाले पुनः कोभिड युनिट संचालन गरिने भन्दै उनले हाललाई भने बिरामी आउन छाडेकोलेनै सेवा बन्द गर्नु परेको बाध्यता सुनाए ।
कोभिड युनिट सञ्चालन अवधिमा जम्मा १२२ जना बिरामीलाई सेवा दिएको अस्पतालका कोभिड युुनिट ईन्चार्ज डा. अनिल थापाले जानकारी दिए । ४ जना विशेषज्ञ चिकित्सक सहित ३० जना कर्मचारीहरु परिचालित भएर बिरामीको सेवा दिएको भन्दै डा. थापाले बिरामीको सेवा गर्ने क्रममा डाक्टर र कर्मचारी सहित ६ जना संक्रमित बन्न पुगेको पनि जानकारी गराए ।